
तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्।
कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा वडा नं १०, ११ र १२ मा किसानलाई सूचीकरण गरिनेछ।
आगामी आवमा नगरपालिकाका अन्य वडामा यो कार्यक्रम विस्तार गरिने उनले बताए।
सूचीकरण कार्यक्रमअन्तर्गत वास्तविक किसानको सूचीकरण गरी अनुदानलगायतका सुविधा वास्तविक किसानलाई प्रदान गर्ने उद्देश्य राखिएको छ।
कृषि पेशालाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै युवाहरूलाई आधुनिक तथा व्यावसायिक कृषिमा जोडिने विकले बताए। नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन यो कार्यक्रमले भूमिका खेल्ने विकले विश्वास व्यक्त गरे।रासस