
ललितपुर। राष्ट्रिय दुग्ध विकास बोर्डले अनाथलय र वृद्धाआश्रममा दूधजन्य पदार्थ वितरण गरी स्थापना दिवस मनाउने भएको छ । बोर्डको ३१ औं स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कुशुन्ती र धापाखेलमा रहेको नेपाल स्नेही काख अनाथलय एंव वृद्धाआश्रममा दूध तथा दुग्धपदार्थ वितरण गरी स्थापना दिवस मनाउने जानकारी दिइएको हो ।
बोर्डले स्थापना दिवस तीन फरक कार्य गरि मनाउन लागेको हो । पहिलो दिन बोर्डले रक्तदान कार्यक्रम, दोस्रो दिन १६ गते नेपाल स्नेही काख अनाथालय एवं वृद्धाश्रम–कुशुन्ती र धापाखेलमा दूध तथा दुग्धपदार्थ वितरण गर्ने जनाएको छ।
साथै बोर्डले राष्ट्रिय स्तरमा दुग्ध व्यवसाय सम्बन्धी नीति निर्माण र तत्सम्बन्धी विकास योजना तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग पु¥याउने, दुग्ध उद्योगको विकास गर्ने, गराउने लगायतको लक्ष्य राखेको छ ।
त्यसैगरि, दुग्ध विकासका लागि पशु विकास र पशु स्वास्थ्य क्षेत्रमा देखापरेका समस्याहरुको निराकरणका लागि उपायहरु पत्ता लगाउने, देशभित्रका सम्पूर्ण निजी र सरकारी क्षेत्रका दुग्धव्यवसायीहरु वीच सामञ्जस्य स्थापना गर्ने, गराउने, दुग्ध विकास सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने र पशुचरनको प्रवन्ध गर्ने गराउने जस्ता लक्ष्यहरु रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
बोर्डले स्थापनाको दिन अर्थात १७ गते सभागोष्ठी तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।