बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा सुन्तलाखेती विस्तार गरिएको छ । सुन्तलाका लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तलाखेती समूह’ गठन गरी व्यावसायिक रूपमा सुन्तलासँगै आलुखेती पनि विस्तार गरिएको हो।

उक्त समूहमा आबद्ध १६ किसानले खेतबारीमा ५० देखि २०० सुन्तलाका बोट रोपेका छन् । नेपाल रेडक्रस सोसाइटीले तालीम रखेतीका लागि आवश्यक पर्ने सामग्री खरीदका लागि सहयोग गरेपछि स्थानीय युवा काजु फगामीको अध्यक्षतामा समूह गठन गरिएको बताइएको छ ।

समूहलाई गाउँपालिकाले ५० प्रतिशत किसानको साझेदारी रहने गरी ५ लाख रुपैयाँ बराबरको कृषि उपकरण उपलब्ध गराएको छ । गाउँपालिकाका अनुसार किसानलाई हाते ट्र्याक्टर, सिँचाइ पाइप, सिँढी, आरी, सिकेचर लगायत उपकरण सहयोग गरिएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा सामूहिक सुन्तलाखेती विस्तारका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमा ३ लाख रुपैयाँ समूहले थप गरेको अध्यक्ष फगामीले बताए । सो करमबाट तालीमसँगै सुन्तलाखेतीका लागि आवश्यक पर्ने, आरी, सिँढी, स्प्रे मेशिन, ठूलो सिकेचर, सिँचाइ पाइप, ड्रमलगायतका सामग्री खरीद गरिएको अध्यक्ष फगामीको भनाइ थियो ।

समूहले कृषि ज्ञान केन्द्रसँग किसानको १० प्रतिशत साझेदारी रहनेगरी २ लाख २२ हजार रुपैयाँमा सुन्तलाखेतीका लागि सिँचाइ ट्र्यांकी र इन्टेक निर्माण तथा पाइप खरीद गरेको छ ।

बाँदुकका स्थानीयले खायन आलुको व्यावसायिक खेती शुरू गरेका छन् । स्थानीय कृषक चुकबहादुर शेरपुजाको अध्यक्षतामा ‘बाँदुक खायन आलु समूह’ पनि गठन गरिएको छ । उक्त समूहले गाउँपालिकाको ६ लाख रुपैयाँ र आफ्नो ६ लाख रुपैयाँ साझेदारीमा २०० रोपनी जग्गामा सामूहिक खायन आलुको खेती थालेको हो ।

समूहमा आबद्ध भएका १७ किसानले आफ्नो जग्गासहित अन्य जग्गा भाडामा लिएर १५ हजार किलोग्राम आलुको बीउ रोपेको समूहका सदस्य लक्ष्मण पुर्जाले बताए । रासस