
ललितपुर। पाँचौ प्राङ्गारिक कृषि मेला सुरु भएको छ । ललितपुर स्थित पाटन दरबार संग्रहालयमा आजबाट मेला सुरु भएको हो । मेलाको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले गरेका थिए ।
कञ्चनजंघा टि–इस्टेट एण्ड रिर्सच सेन्टर तथा अर्गानिक नेपाल एशोसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनको लागि मेलाको आयोजना गरिएको जानकारी दिए। उनले संसार अहिले अर्गानिकको ट्रेनमा गइराखेको समेत उल्लेख गरे ।
अर्गानिक एशोसिएसनका महासिच तथा मेला संयोजक शान्ता बास्कोटा कोइरालाले पहिला–पहिला नबुझेर मानिसहरु लागेपनि अहिले अर्गानिक कृषितर्फ बुझेर नै लागेको बताइन् । मेलामा ५० भन्दा बढी स्टल रहेका छन् भने १ करोडको कारोबार हुने अपेक्षा राखिएको छ ।
मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गरिक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु फलफुल, बिउ, विजन, मह, तेल, राडी, पाखीलगायतका अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य व्यापारसम्बन्धी प्रोजेक्टहरु राखिएको छ ।
आज नयाँ वर्षको दिनबाट सूरु भएको मेला वैशाख चार गतेसम्म चल्नेछ ।