
ललितपुर। जावलाखेलको खेल मैदानमा जारी २३ औं फ्लोरा एक्स्पोमा अवलोकनकर्ताको सँख्या र कारोबारमा वृद्धि हुँदै गएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा विहिवारदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो । आज ११ हजार ८०० जनाले अवलोकन गरेका छन् भने २७ लाख रुपियाँ बराबरको कारोबार भएको एशोसिएशनका महासचिव विश्वमणी पोखरेलले जानकारी दिए।
कोरोनाको महामारीपछि भएको यो पहिलो मेलामा अवलोकनकर्ताको चाप बढ्दै गएको छ । चार दिनसम्म चल्ने मेलामा ४५ हजारले जनाले अवलोकन गर्ने र ७५ लाख रुपियाँको कारोबार हुने लक्ष्य एशोसिएशनले लिएको छ ।
मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए । त्यस्तै इन हाउस ग्रीन प्लान्टको पनि विक्रि राम्रै देखिएको उनले बताए । आइतवारसम्म चल्ने मेलामा आफूहरुले अनुमान गर्ने भन्दा बढी अवलोकनकर्ता आउने र कारोबार पनि सोही मात्रामा हुने बताउँदै उनले भोली शनिवार अलोकनकर्ताको चाप बढ्ने एशोसिएशनले अनुमान गरकेो बताए ।
मेलाको अवलोकन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्मा पनि पुगेका थिए । त्यसका साथै संसद सचिवालयका सचिव, कृषि मन्त्रालयका सहसचिव, कृषि विभागका अधिकारीहरु पनि मेलाको अवलोकन गर्न पुगेको एशोसिएशनले जनाएको छ ।
‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको मेलामा पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपछी बिकास मन्त्रालय र कृषि विभागको पनि सहयोग रहेको छ ।
मेलामा ५१ वटा विभिन्न स्टलहरु रहेका छन् । पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरु रहेका छन् ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको उनले जानकारी गराए ।