
चितवन। बुधबारदेखि चितवनमा हुने ‘पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ को तयारी पुरा भएको छ। प्रदर्शनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सङ्घको संयुक्त आयोजनामा गर्न लागिएको हो । एक्स्पो सेन्टर भरतपुरमा हुन लागेको सलोम एग्रीकल्चर पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पुरा भएको आयोजकले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण,तथा औद्योगिकारणमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए ।
चार दिनसम्म संचालन हुने उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धि आधुनिक यन्त्र, उपकरण तथा प्रवाधिका सामाग्री, बीउ विजन, आधुनिक सिँचाई लगायतको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीको सहभागिता रहनेछ। उक्त प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनकर्ता रहने आयोजकले जनाएको छ भने ५२ वटा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु, २० भन्दा बढी मुलुकमा उत्पादित २ हजार भन्दा बढी उपकरणहरु रहनेछन।
प्रदर्शनीमा ‘मेड इन नेपाल प्याभिलियन’ र कृषि कर्जा मेला विशेष आकर्षणको रुपमा रहने संघले जनाएको छ ।
प्रदर्शनीमा ७० जिल्लाका करिब १ लाख भन्दा बढीले अवलोकन र २० करोडभन्दा माथि कारोबार हुने अनुमान गरिएको छ। उक्त प्रदर्शनी निशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।