ललितपुर। नेपालमा कृषि कर्जा सम्मेलन २०२२ को आयोजना हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा यही चैत्र ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा कृषि कर्जा सम्मेलन आयोजना हुने भएको हो ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले एशियामा नै पहिलो पटक नेपालमा कृषकहरुलाई कृषि कर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउनुका साथै कृषि सम्बन्धी ज्ञान प्रदान गर्ने गरी कृषिसंवाद प्रदर्शनी चलाउन लागेको जानकारी दिएको छ ।

कृषक र लगानीकर्ता बैंकहरुलाई एकै थलोमा भेला गराइ कृषि कर्जा सम्बन्धमा कृषकहरूमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने र कृषि कर्जाको क्षेत्रमा देखिएका समस्याहरु निराकरणका लागि पहल गर्ने अभिप्रायका साथ एशियामा नै पहिलो पटक नेपालमा कृषि कर्जा मेला आयोजना गर्न लागिएको हो । मेलामा कृषिमा वित्तीय पहुँचको राष्ट्रिय संवादका साथै देशभरिबाट कृषि उद्यमीहरुको सहभागितामा कार्यशाला समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

विगत एक दशकदेखि कृषि र कृषि उद्यमीलाई सबलीकरण गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रमा काम गर्दै आएको आर एण्ड डी इनोभेटिभ सलुसनको आयोजनामा हुन गइरहेको यस मेलाको मुख्य प्रायोजक नबिल बैंक र कृषि बिकास बैंक रहेका छन् । नेपाल बैंकर्स संघको सहकार्यमा हुने यस कार्यक्रममा बीमा पार्टनरको रुपमा शिखर इन्स्योरेन्स रहेको छ भने फोन पे डिजिटल पेमेण्ट पार्टनरको रुपमा रहेको छ । प्रायः सम्पूर्ण वाणिज्य बैंकहरू, बिकास बैंकहरु तथा बीमा कम्पनीहरुले यस मेलामा भाग लिने आयोजकले जनाएको छ ।

मेला १ लाख भन्दा बढिले अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।