
१. परिचयः
कुरिलो कलिलो टुसा (Spear) को लागि खेती गरिने एक बहुवर्षी तरकारी बाली हो।यसको खेति न्यानो र समशितोष्ण हावापानीमा राम्रो हुन्छ र नेपालमा समुद्री सतह देखि २२०० मी. सम्मको उचाईमा कुरिलो पाइन्छ।यसलाई मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन तथा कृषकले आफ्ना पाखा बारीहरुमा व्याबसायिक रुपमा खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने राम्रो सम्भाबना देखिनछ। कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भएता पनि हाल शहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाइ पकाउने चलन बढ्दै आएको छ। नेपालमा कुरिलो खेती व्यावसायिक रूपमा केही समय अघिदेखी शुरु भएको र हालेको दिनहरुमा फस्टाउँदे गएको देखिन्छ। विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै आएको छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मोरङ, सुनसरी, चितवन आदि जिल्लाहरूमा व्यावसायिक रूपमा ताजा कुरिलो उत्पादन हुने गरेको छ।
२. कुरिलोको महत्वः
२.१ आर्थिक महत्वः
कुरिलो एक पटक लगाईसकेपछि लगभग १५-२० बर्षसम्म राम्रो उत्पादन दिने भएकाले यसबाट कम लगानीमा राम्रो आयआर्जन गर्न सकिन्छ।साथै यसलाई निजी तथा सामुदायिक बन, खरबारी अथवा पाखो बारीमा पनि लगाउन सकिने तथा कम जनशक्ति र थोरै लगानीबाट बढी आम्दानी लिन सकिन्छ।
२.२ पौष्टिक महत्वः
कुरिलो पौष्टिक दृष्टिकोणले एकदमै महत्वपुर्ण तरकारी हो।यो चिल्लोपदार्थ बिहीन, कोलेस्ट्रोल र सोडियम तत्वरहित, शक्तिदायक, भिटामिन ए तथा सी प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थ हो।
यसले क्यान्सर, कलेजो तथा रगत सम्बन्धि रोगको औषधिको रुपमा समेत काम गर्ने गर्दछ। फोलिक एसिड प्रचुर मात्रामा पाइने भएकाले यसले कलेजोको रक्षा गर्छ।यसको सेवन सुत्केरी महिला तथा अशक्त व्यक्तिका लागि पनि राम्रो हुन्छ । त्यस्तै, मष्तिष्क रोग, यौनशक्तिमा ह्रासलगायतका समस्याको निरोधका लागि पनि यसको प्रयोग हुने गरेको छ ।
२.३ कुरिलोको उपयोगिताः
यसलाई सुप, तरकारी तथा बफाएर सलादको रूपमा सेवन गर्न सकिन्छ। यसबाहेक यसलाई घाम नपर्ने खुल्ला ठाउँमा सुकाएर अथवा डिब्बा बन्द (Canning) गरेर राख्नाले पछि पनि उपयोग गर्न सकिन्छ। त्यस्तै हरियो वा बफाइएको (Steamed) कुरिलो सलादका रूपमा उपयोग गर्न सकिन्छ।
३. वानस्पतिक विवरणः
कुरिलोको वानस्पतिक नाम Asparagus officinalis हो। यो Liliaceae परिवारमा पर्दछ। कुरिलो १५० भन्दा बढी प्रजातिका (species) रहेका छन। साधारणतया उपयोगको आधारमा कुरिलोलाई ३ किसिममा विभाजन गर्न सकिन्छ
- टुसा तरकारी खाने कुरिलो
- जरा आयर्वेदिक औषधिमा प्रयोग हुने करिलो र
- मसिना पात भएका आलंकारिक बिरुवाका रूपमा रोपिने कुरिलो।
कुरिलोको भाले र पोथी फूल छुट्टाछुट्टै बोटमा हुने भएकाले यिनिहरुको परागसेचनका लागि दुबै बिरुवा नजिकै पर्ने गरि लगाउनु पर्छ्। पोथी बोट कम आयु भएका र कम उत्पादनशील हुन्छन। भाले बोटबाट पातला तर धेरै टुसा पलाउँछन्।
४. कुरिलोको वृद्धि र विकासः
4.1 क्राउन (Crown) को विकासः
कुरिलोको जमिनमुनिको भागमा नरम चिल्लो जरा (Fleshy roots) र रेसादार जराहरू (Fibrous roots) हुन्छन। जमिनमुनीका जराहरूमा एक प्रकारका डाँठको विकास भएर क्राउन तयार हुन्छ। क्राउन कुरिलोको बहुबर्षिय अङ्ग हो। रेसादार जराहरूले माटोबाट लवण र पानी सोस्दछन् भने चिल्ला नरम जराहरूले खाद्यपदार्थ सञ्चित गर्दछन्। यसरी सन्चित खाद्यपदार्थले गर्दा यिनिहरु बहुबर्षे अङ्ग बन्न जान्छन।
4.2 टुसा विकास (Spear Development):
कुरिलोको टुसा खानयोग्य भाग हो।यो गानोबाट बिकास भएर जामिन देखि बाहिर निक्लने भाग हो।यसमा आँखा (Node) र अन्तर आँखा (Internode) हुने गर्दछन्।तल्लो आँखाबाट पलाउने पातले माथिल्लो आँखामा पातलो कत्ला भई छोप्ने भएकाले यो टुप्पो जस्तो देखिन्छ। कसिलो, मोटो तथा कम रेसादार टुसा बजारको लागि राम्रो मानिन्छ।
4.3 बोटको विकास (Fern development):
यदि टुसा नटिप्ने हो भने यिनिहरु ४-५ फिट अग्लो हुन्छन र धेरै हांगाहरु पलाउने गर्दछन। यी पहिलेका हाँगाहरूमा पनि अन्तर आँख्लामा वृद्धि भई दोस्रो चरणका secondary हाँगाहरू विकसित हुन्छन्। स-साना पङ्खाजस्ता पातहरू फैलिएर झ्याम्म भएको संरचनालाई फर्न भनिन्छ। फूल साना घन्टी आकारका सेता रंगका हुन्छन्। पोथि फूलहरु भाले फूलहरु भन्दा ठुला हुन्छन्। फल तथा बीउ पोथी बोटमा मात्र लाग्छन् र फल पाकेपछि राता हुन्छन्।
५. हावपानीः
कुरिलो न्यानो र समशीतोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ। कुरिलोखेतीका लागि माटोको तापक्रम १० डिग्री सेल्सियसभन्दा कम हुनु राम्रो मानिन्छ । यसको खेती १५- १८ डि.से. औसत तापक्रम भएको क्षेत्रमा राम्रो हुने गर्दछ। सामन्यतया १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा यसको टुसा राम्रोसँग पलाउँछ। बिरुवाको वृद्धि विकासका लागि ३-५ महिनासम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ। कुरिलोको क्राउन (Crown) लाई जाडो तथा चिसोबाट असर नपर्ने भएतापनि जाडो महिनापछि पनि तुसारो अथवा जाडो रहिरहने ठाउँ भने यसको खेतिको लागि छनोट गर्नु हुँदैन। यसैले धेरै तुसारो पर्ने क्षेत्रमा यसको खेती राम्रो हुँदैन । यसका लागि हिउँदमा चिसो तथा बसन्तमा न्यानो हावापानी उपयुक्त हुन्छ।
६. माटोः
कुरिलो एउटा बहुवर्षे बाली भएको र यसको जरा धेरै गहिराइसम्म जाने भएकाले प्राङ्गारिक पदार्थयुक्त, गहिरो, खुकुलो, पानी निकासको राम्रो व्यवस्था भएको बलौटे दोमट माटो उपयुक्त हुन्छ । खुकुलो माटोमा यसको जारा ८ फीट गहिराइसम्म पुग्न सक्छ। माटोको पीएच ६ देखि ७ सम्म राम्रो हुन्छ। दिनभर प्रकाश पर्ने तर बहुवर्षिय झारको प्रकोप कम हुने ठाउँलाई छनोट गर्नुपर्दछ।
७. खेती प्रविधिः
७.१ जमिनको तयारीः
राम्रोसँग मल हालेर कम्तीमा तीन/चार पटक खनजोत गरिएको जमिनमा कुरिलो लगाउन उपयुक्त हुन्छ। सामान्यतया कुरिलोको बेर्ना तयार गरेर बिरुवा लगाइन्छ तर ड्याङमा नै सिधै बीउ रोपेर पनि कुरिलोको खेती गर्न सकिन्छ ।
७.२ कुरिलो रोप्ने तरिकाः
कुरिलो तीन प्रकारले लगाई खेती गर्न सकिन्छ
- क्राउन (Crown) रोपेर
- बेर्ना सारेर
- सीधै बीउ छरेर
७.२.१ क्राउन (जरा) रोप्नेः
यस तरिकामा प्रसारण (Propagation) का लागि पुरानो कुरिलोको बोटबाट क्राउन निकाली सार्न सकिन्छ अथवा बीउबाट नर्सरीमा उमारिएको एक वर्षे क्राउन पनि सार्न सकिन्छ। यसका लागि क्राउन राम्रो, स्वस्थ तथा राम्रो वृद्धि भएको हुनुपर्छ। हरेक क्राउन करिब १०० देखि १२० ग्रामको भएको खण्डमा राम्रो हुन्छ। बीउबाट क्राउन तयार गरी क्राउन १५-२० से.मी. गहिरइमा रोपिन्छ। ५ से.मि. जति मुना, टुसा सतह माथि हुने गरी क्राउन रोप्नुपर्दछ र टुसा बढ्दै गएपछि माटोले बिस्तारै छोप्दै जानुपर्दछ।
७.२.२ बेर्ना सार्नेः
माघ-फागुन महिनामा नर्सरी ब्याडमा वा प्लास्टिक व्यागमा कुरिलो को बेर्ना हुर्काएर करिब २ महिना पछि मुख्य जग्गामा लगि सार्न सकिन्छ। वैशाख-जेठ बेर्ना रोप्नको लागि राम्रो मानिन्छ तर असोजसम्म पनि रोप्न सकिन्छ। तुसारो नपर्ने ठाउँ र तराईमा माघको अन्त्यमा बीउ नर्सरी व्याडमा रोप्न सकिन्छ।
७.२.३ सीधै बीउ र्छर्नेः
मुख्य जग्गाको तयारी गरिसकेपछि कुरिलोको बीउ सोझै छरेर यसको खेती गर्न सकिन्छ। बिउ उम्रन लामो समय (१ महिना) लाग्ने भएकाले यसरी खेती गर्दा झारको प्रकोपले बिउ उम्रन अवरोध पुर्याउन सक्ने भएकाले बिशेष ध्यान दिन जरुरी हुन्छ।
कुरिलो खेती प्रविधिको संक्षिप्त तालिका
८. जातहरूः
नेपालमा खेती गरिने जातहरुमा जर्सि किंग, जर्सि सुप्रिम, जर्सि जेम, जर्सि नाइट, कोनोभर्स कोलोसाल, जायन्ट म्यामोथ, मेरी वासिङ्टन, लोरेल्ला, क्यलिफोर्निया ६६, क्यलिफोर्निया ७११, क्यलिफोर्निया ५००, भाईकिड, आदि रहेका छन्।
९. हेरचाह (Management) तथा ब्यबस्थापन:
- बहुबर्षिय बाली भएकाले पटक पटक गोडमेल गरी झारपात नियन्त्रण गर्नुपर्दछ। फागुन चैतमा (Feb-March) टुसा पलाउनु भन्दा पहिले बोटलाई हारको दुवैतिरबाट कुलेसो बन्ने गरी माटो झिकेर पुर्नुपर्छ। मल्च राखेर समेत झारपातको नियन्त्रण गर्न सकिन्छ।
- कात्तिक-मंसिर (Nov-December) मा पातहरू पहेंलिएपछि सतहदेखि ५ से. मी. माथिबाट काटिदिनु पर्दछ।
- प्रत्येक हिउँदको अन्तिममा वा फागुनतिर राम्ररी तयार भएको कम्पोस्ट मल, कखुराको मल वा कुखुराको मल वा गोठेमल करिब २-३ के.जी. प्रतिबोट हाल्नुपर्दछ।
- बाली लिईसकेपछि बिरुवाले सुख्खापन महसुस गर्ने भएकोले सिंचाइ दिनुपर्दछ। खास गरी फागुन, चैत, वैशाख देखि बर्षा नभएसम्म सिंचाइ गर्नु जरुरी पर्दछ।
१०. अन्तरबालीः
कुरिलो लगाएको २ बर्ष पछिबाट मात्र उत्पादन सुरु हुने हुंदा उक्त ठांउमा अन्तरबालीको रूपमा छोटो समयमा हुने साथै अग्लो नहुने तरकारी बालीहरू लगाउन सकिन्छ। अन्तरबालीमा मेथी, चम्सुर आदि अन्य तरकारीहरू पनि लगाउन सकिन्छ।
११. बाली लिने अवस्थाः
साधारणतया कुरिलोको उत्पादन लगाएको २-३ वर्षदेखि शुरु हुन थाल्दछ। कुरिलो एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट १० देखि २० वर्षम्म राम्रो उत्पादन लिन सकिन्छ।
बेर्ना सार्नासाथ टुसाहरू पलाउँछन्। शुरुमा नटिपिकिन छाडेका ठुसाहरुबाट राम्रो झाङ फैलिने तथा बोट लाई स्वस्थ रहन मद्दत पुर्याउने हुनाले शुरुमा पलाएका केही टुसाहरू टिप्नु हुँदैन। यसका साथसाथै शुरुका टुसालाई हुर्कन दिएमा खाद्य पदार्थमा बृद्धि आई क्राउनमा सञ्चित भएर अर्को बर्षदेखि बढी टुसा आउने हुन्छ। त्यसैले बेर्ना सारेको दोस्रो वर्षदेखि मात्र वास्तविक रूपमा टुसाहरू टिप्न शुरु गर्नुपर्छ।टुसा १५-२० से.मि. लामा भएपछि धारिलो चक्कुले करिब ४-५ सेमी माटो भित्रैबाट काटेर निकाल्नुपर्छ।
१२ उत्पादनः
सामान्यतया कुरिलोको उत्पादन चैतको शुरुबाट असोजसम्म लिन सकिन्छ। कुरिलोको सरदर उत्पादन २००-५०० के.जी. प्रति रोपनी हुने गर्दछ। सामान्यतया भौगोलिक अवस्थाअनुसार पहाडी भागमा ४ देकि ६ महिना र तर्रामा ६ देखी ७ महिना उत्पादन लिन सकिन्छ।
१३. रोग तथा कीराः
कुरिलो बालीमा लाग्ने मुख्य रोग सिन्दुरे र ओइलाउने हो।
१३.१ रोग
13.1.1 कुरिलोको सिन्दुरे ढुसी (Puccnia asparagi):
बिरुवाहरूका डांठ र हांगाहरुमा साना राता, पहेंला वा सुन्तला रंगका थोप्लाहरु देखिन्छन र पछि गएर काला हुन्छन्।
नियन्त्रणः
- रोगि भागहरु काटेर तुरुन्तै जलाईदिने।
- टुसा टिप्दा जमिन मूनिको भागसमेत काट्ने।
- मल बनाउँदा तीतेपाती, अँसुरो, निम-बकाइनो आदिको प्रयोग गर्न सके यो रोगको प्रकोप कम गर्न सकिन्छ।
- गाईको गहुँत र पानी १ : १० को अनुपातमा मिसाएर छर्ने।
- बाली लिइसकेपछि मेन्कोजेव वा टेवुकुनाजोल नामक ढुसीनाशक बिषादी २ देखि ३ ग्राम प्रति लिटर पानीका दरले छर्ने।
13.1.2 कुरिलो ओइलाउनेः
यो ढुसीजन्य रोग (Fusarium) लागेको ठाउँमा कुरिलो खेती गर्नु हुँदैन। यो रोग लागेका बिरुवा पहेंला तथा रंग उडेको जस्तो (खैरो) देखिन्छन।
नियन्त्रण:
- स्वस्थ्य नर्सरीको विरुवाको प्रयोग
- पानीको राम्रो निकास
- टुसा नपलाउंदै मेटिराम (Metiram 70 WP) भन्ने विषादी 2 ग्राम प्रति लिटर पानीका दरले मिसाएर छर्नु पर्दछ।
13.2 किरा
कुरिलोमा लाही, कुरिलोको खपटे तथा झुसिलकिरा लगाएतका काहरुले आक्रमण गर्दछन्।
व्यवस्थापन
- सन्तुलीत मलखाद, गोडमेल र सिंचाइको उपयुक्त व्यवस्थापन गरि बिरुवा स्वस्थ राख्ने ।
जग्गाको सरसफाइमा ध्यान दिने ।
- जाडोमा सुकेका बोटहरू हटाउने
- निमजन्य बिषादी Azadirachtin 1500 PPM ५ मि.ली. प्रति लिटर पानीका दरले मिसाएर छर्ने ।