पर्वत। पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर विगत साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३/७४ मा रु पाँच करोड लागतमा निर्माण सुरु भएको कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो ।

बेसिजनमा सुन्तला र आलुलगायत फलफूल र तरकारी बजारमा पठाउने गरी रु पाँच करोडलागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । दुई तलाको कोल्डस्टोर निर्माण योजना तिनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।

स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्डस्टोर एक तला बनेपछि अलपत्र बनेको छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता भएर एक तल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचनासमेत जीर्ण बनेको छ ।

स्थानीयवासी प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको सातआना १ दाम जग्गा रु १३ लाख ५० हजारमा खरिद गर्ने गरी तमसुक लेखिएको थियो । २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गङ्गा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ ।

हमाल दम्पती दिन गन्दै बसिरहनुभएको भए पनि त्यस्ता जेठ १५ अहिलेसम्म चारवटा गइसकेका छन् । न जग्गा पास भएको छ न रकम नै पाएका छन । गङ्गा तिमिल्सिना निर्माण समिति अध्यक्ष हुन् ।

स्थानीय सरोकारवालाले भने इस्टिमेटअनुसारको बजेट नआएका कारण भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताउछन् । निर्माण समिति अध्यक्ष तिमिल्सिनाका अनुसार सुरुको वर्ष रु. ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर, रु. २४ लाखभन्दा आएन । “क्रमिक रूपमा बजेट आउछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम सुरु गरिहाल्यौं”, उनले भने, “इस्टिमेटअनुसार बजेट नआएपछि कामअघि बढ्न नसकेको हो ।”

पैसा छिट्टै आउँछ भनेकाले कागज गरेर जग्गा लिने सम्झौता भए पनि रकम निकासा नआएपछि समस्या भएको उनको भनाइ छ । दुईतले कोल्डस्टोर निर्माणकार्य एक वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक तलाको ढलान गरेर अलपत्र छोडिएको छ ।

बनेको संरचना पनि अहिले खण्डहर बनेको छ । समयमै निर्माण सम्पन्न भएको भए अहिलेसम्म प्रयोगमा आइसक्थ्यो । “हामीले कौडीका भाउमा सुन्तला बेच्नुपरेको छ”, स्थानीय दाताराम चापागाईंले भने, “कोल्डस्टोर भइदिएको भए अहिले टिपेका सुन्तला फागुन–चैतमा डेढसय रुपैयाँ किलोमा बिक्री हुने थिए ।”

देउपुर पर्वतकै सुन्तला पकेट क्षेत्र हो । अहिले ४०–५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके पाँच गुणासम्म बढी मूल्य पाइने आशामा किसान रहेका छन् । कोल्डस्टोर निर्माणका लागि स्थानीयवासीले मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्मै गुहारेका छन । तर अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशलाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।

गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले भने कोल्डस्टोर अन्तै बनाउने तयारी भएको बताए । दुई वर्षअघिको गाउँसभाले कोल्डस्टोर निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । तर उक्त स्थानमा जग्गा अपुग भएकोले अन्यत्र खोज्ने भनिए पनि काम हुनसकेको छैन ।

गाउँपालिका प्रवक्ता बिमल लामिछाने उक्त जग्गामा बनेको भवनलाई निरन्तरता दिने वा अन्यत्र सुविधा सम्पन्न कोल्डस्टोर बनाउने भन्ने विषयमा सामान्य छलफल भए पनि निचोडमा पुग्नेगरी काम नभएको बताए । “यो विषय बेलाबेला उठ्दै सेलाउँदै गरेको छ”, उनले भने,“त्यसैलाई निरन्तरता दिँदा जग्गा कमी हुने, जग्गाधनीलाई पैसा दिनुपर्नेलगायत कुरा छन् । अन्यत्रै सार्वजनिक जग्गा खोजेर बनाउने छलफल चलेको छ । निर्णयमा पुगिएको छैन ।”

पर्वत जिल्लाका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत पोखराका कोल्डस्टोरमा भण्डारण गर्न प्रति क्विन्टल दुई हजारसम्म भाडा तिर्दै आएका छन् । कोल्डस्टोर निर्माणका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानको माग रहेको छ । रासस