ललितपुर। किसानले कफी खेतीको पनि बिमा गर्न पाउने भएका छन् । बिमा समितिले कृषि बिमा अन्र्तगत कफी खेती बिमालेख स्वीकृत गरेसँगै कफी खेतीमा हुने विभिन्न क्षतिको जोखिम व्यहोर्ने गरी बिमा गर्न सकिने भएको हो ।

बिमांक रकमको ५ प्रतिशत प्रिमियम बुझाएर किसानले कफी खेतीको बिमा गर्न सक्नेछन् । यस बिमालेखमा कफीको उत्पादनमा थप ५ सय रुपैयाँ थपेर किसानको दुर्घटना बिमा गर्नुपर्ने प्रावधान राखिएको छ ।

बीमालेखमा ८ प्रकारका कफी खेतीमा भैपरी आउने क्षतिहरुको रक्षावरण हुने भएको छ। रोग वा कीराजन्य कारणले हुने क्षति, आगो, हावा, पानी, मौसम, भूमि र चट्याङ्जन्य लगायतको क्षतिलाइ रक्षावरण गर्ने भएको छ । त्यस्तै आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र कफी खेतीको बीमा गर्ने बीमितको पनि रक्षावरण गर्ने समितिले जनाएको छ।

कफी बिमा लेखअन्तर्गत कफीको बोटको संख्या र बोटको मूल्यलाई गुणा गरी बिमांक रकम निर्धाण गर्न सकिन्छ । त्यस्तै चेरीको बिमा गर्दा बोटको संख्या, चेरीको सम्भावित संख्या र चेरीको प्रति मूल्यलाई गुणा गरी बिमांक निकाल्न प्रावधान राखिएको छ । बिमांक रकम राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय र उक्त कार्यालय नभएको अवस्थामा स्थानीय वा प्रदेश सरकारको प्राविधिकबाट प्रमाणित गराई बिमक समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

बिमा गरेको खेतीमा क्षति भएपछि मूल्यांकन प्रतिवेदन पेश गरेको ३५ दिनभित्र बिमा दावी भुक्तानी गर्नुपर्नेछ । बिमांकीय रकम वा क्षतिको रकम जुन कम हुन्छ सो बराबर भुक्तानी दिनुपर्ने बिमालेखमा उल्लेख छ ।

६ सयदेखि २ हजार मिटरसम्मको उचाइमा गरेको र चिया तथा कफी विकास बोर्डले तयार पारेको मापदण्डका आधारमा गरेको खेतीको मात्र बिमा हुने व्यवस्था गरिएको छ । कृषि तथा पशुपालन बिमालाई प्रोत्साहन गर्नका लागि सरकारले प्रिमियम रकममा ८० प्रतिशत अनुदान दिँदै आएको छ ।