ललितपुर। अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको आलोचना सहित विरोध गर्दै ¥याली निकालेका छन् ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध ¥यालीसहितको प्रदर्शन गरेका हुन् ।

बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दैै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौंलालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा अवैध ढंगले कर छली गरेर नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्नेहरुमाथि कडा कारवाही गर्न पनि सरकारसँग माग गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । उनले कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रदर्शनका क्रममा भारत लगायत अन्य देशबाट गैरकानुनीरुपमा फुलहरु ल्याउने काम जारी भएको र त्यसको विरोध गर्दा नेपालका किसानहरुलाई तर्साउने, धम्काउने गरिएको आरोप लगाएका छन् ।