सर्लाही। लालबन्दीस्थित उष्ण प्रदेशीय वागवानी केन्द्रले यस वर्ष ५२ लाख रुपैयाँभन्दा बढीको आँप बिक्री गरेको छ।

केन्द्रले पटकपटक ठेक्का आह्वान गर्दा पनि ठेक्का नलागेपछि कर्मचारी नै खटाएर आँप बिक्री गरेको हो। आँप बेचेर असार मसान्तसम्म ५२ लाख रुपैयाँ बढी आय भएको केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार केन्द्रले आँप बिक्रीबाट अघिल्लो वर्षको तुलनामा यो वर्ष पाँच गुणा बढी आम्दानी गरेको छ। गत वर्ष ठेक्कामार्फत आँप बिक्रीबाट १० लाख ३५ हजार रुपैयाँ आम्दानी भएको थियो।

यो वर्ष पनि आँप खरिदका लागि एक ठेकेदारले ३७ लाख ७२ हजार रुपैयाँमा टेण्डर हालेका थिए। तर‚ पछि ठेकेदार सम्झौता गर्न नआएपछि कृषि विभागसँग स्वीकृति लिएर केन्द्रले मुलगेटमै आँप जम्मा पारेर कर्मचारी खटाएर बिक्री गरेको हो।

विगतका वर्षहरुमा केन्द्रको आँप र लिची एउटै व्यक्तिले सिन्डिकेट लादेर सस्तो मूल्यमा खरिद गर्दै आइरहेको भए पनि यस वर्ष आफूहरुले सिन्डिकेट प्रथाको अन्त्य गरेको केन्द्रका प्रमुख अधिकारीले दावी गरे। केन्द्रले यो वर्ष सरकारलाई बुझाएको राजस्व पनि वृद्धि भएको छ। यस वर्ष एक करोड एक लाख २० हजार रुपैयाँ राजस्व जम्मा गरिएको केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए। गत वर्ष ६५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।