वाग्मती। वाग्मती प्रदेशको १३ जिल्लामा असार मसान्तसम्ममा ८१ हजार हेक्टर खेती योग्य जमीनमा धान रोपाइँ सकिएको छ ।
वाग्मती प्रदेशमा समयमा नै वर्षा भएको कारणले नदी, खोला, नहर र आकाशे पानीले रोपाइँ समयमा गरिएको बताइएको छ । कतिपय ठाउँमा अझै रोपाइँ जारी छ ।
प्रदेशमा कूल एक लाख ३२ हजार २२८ हेक्टर जमीनमा धान खेती हुनेमध्ये ८१ हजार हेक्टर जमीनमा उक्त खेती भएको हो । प्रदेशमा गतवर्ष असार मसान्तसम्ममा ५२.२ प्रतिशत जमीनमा रोपाइँ गरीएको वाग्मती प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १३ जिल्लामध्ये चितवनमा ६५ प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ । चितवनमा २८ हजार ६०० हेकटर क्षेत्रफलमध्ये १८ हजार ५९० हेक्टरमा रोपाइँ गरिएको बताइएको छ । मन्त्रालयका कृषि अधिकृत दीपेन्द्रमणि लामिछानेका अनुसार मकवानपुरमा सात हजार ७०० हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।
यसैगरी सिन्धुलीमा १५ हजार ३०० हेक्टर क्षेत्रफलमध्ये नौ हजार ९४५ अर्थात ६५ प्रतिशत, धादिङ जिल्लामा १२ हजार हेक्टर क्षेत्रफलमध्ये चार हजार ८०० हेकटर अर्थात् ४० प्रतिशत रोपाइँ सकिएको छ । भक्तपुरमा चार हजार ३०० हेक्टर जमीनमध्ये चार हजार ८५ हेक्टर जमीन अर्थात ९५ प्रतिशतभन्दा वढी रोपाइँ सकिएको छ । काठमाडौंमा सात हजार ८८० हेक्टरमध्ये सात हजार ९२ हेक्टर अर्थात् ९० प्रतिशत जमीनमा रोपाइँ सकिएको छ ।
त्यस्तै काभ्रेप्लान्चोकमा सात हजार १५० हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार ५०० हेक्टरमा धान रोपाइँ भएको छ ।
मन्त्रालयका अनुसार नुवाकोटमा १४ हजार ५०० हेक्टर जमीनमध्ये ३० प्रतिशत अर्थात चार हजार ३०० हेक्टर र रसुवामा एक हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ३५ प्रतिशत अर्थात ३८२ हेक्टर तथा ललितपुरमा चार हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ९० प्रतिशत अर्थात चार हजार १८० हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।
रामेछापमा आठ हजार ८१० हेक्टर क्षेत्रफलमध्ये ५६ प्रतिशत अर्थात चार हजार ९३३ हेक्टर र दोलखामा दुई हजार ९२० हेक्टरमध्ये एक हजार ९८५ हेक्टर अर्थात ६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ पूरा भएको मन्त्रालयले जनाएको छ । धानखेतीतर्फ किसानले जोड दिएपनि समयमा मल र गुणस्तरीय धानको बीउ नपाउनु किसानको समस्या रहेको मकवानपुरगढीका रामप्रसाद भण्डारीको गुनासो रहेको छ ।रासस