सिस्नु लाई अंग्रेजीमा common nettle / stinging nettle पनि भनिन्छ। Urticaceae परिवारमा पर्ने सिस्नुको वैज्ञानिक नाम Urtica dioica हो । झाडी समूहमा पर्ने सिस्नु बहुवर्षीय फूल फुल्ने बिरुवा हो। सिस्नु अहिले विश्वभरी नै पाइएता पनि युरोप एसिया र अफ्रिकाका केही ठाउँलाई सिस्नुको रैथाने ठाउँले पनि चिनिन्छ । विशेषगरी माथिल्लो तराई करिब ६०० देखि ७०० मिटर देखि तल्लो मध्यपहाड १३०० देखि १४०० सय मिटर सम्मको भूभागमा सिस्नु व्यापक रुपमा पाइन्छ। यो वनस्पतिको जमिन भन्दा माथीको भाग मसिनो तिखा काडाहरुले ढाकेको हुन्छ जसमा formic acid हुनेहुँदा छुँदा पोल्ने वा दुख्ने गर्छ।

यसलाई केही वर्षअघिसम्म गरीबको खाना वा अनिकालको तरकारीको रुपमा मात्र व्याख्या वा प्रयोग गर्ने गरिन्थ्यो तर आजकाल सिस्नुको पौष्टिक महत्वको बारेमा भएका विभिन्न अनुसन्धान पश्चात सिस्नुलाई मानिसहरुले औषधीको रुपमा पनि सेवन गर्न थालिसकेका छन् ।  हुन पनि “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड” भनेझैं सिस्नु मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक छ ।अझ घतलाग्दो  तथ्य  के छ भने अहिले पनि सिस्नुलाई घर भित्र पकाउनु हुँदैन भन्ने जनविश्वास गाउँघरमा रहिआएको छ।  गाउँघरका खोल्सा, ओसिला भित्ता, खोलाका किनार र पहिरो हरुमा मात्र सीमित भएको  सिस्नु आजकाल सहरका ठूला ठूला  रेष्टुरेन्टहरु र तारे होटल हरु को मेनुमा  पनि प्राथमिकताका साथ समावेश भएको छ । कवि लक्ष्मीप्रसाद देवकोटाले उही बेला मुनामदनमा “हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले” भनेर सन्देश दिनुभएको थियो । नेपालमा सिस्नु मात्र हैन कोदो फापर जस्ता अन्य बहुउपयोगी कृषिजन्य उत्पादनहरु अझै ओझेलमा नै छन् जुन विश्व बजारमा ठूलो महत्वका साथ बिक्रीवितरण भइरहेको छ।   नेपालमा खोल्साखोल्सी मा पाइने सिस्नुमा खोज अनुसन्धान गरी व्यापक रुपले सिस्नुको उपयोगिता र  फाइदा बारे जनचेतना जगाउन सके हाम्रो खोल्साखोल्सी बाट पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

सिस्नु का फाइदाहरु

  • नेपालमा त सिस्नुमा धेरै अनुसन्धान भएको छैन तर अन्य मुलुकहरुमा भएको अनुसन्धानले सिस्नु का धेरै फाइदाहरु भएको कुरा पत्ता लगाएको छ जसमध्ये केही फाइदाहरु निम्न अनुसार छन्।
  • सिस्नुको फूल, पात र जराले धेरै पौष्टिक तत्वहरु प्रदान गर्दछ । सिस्नुमा हाम्रो शरीरलाई चाहिने भिटामिन, मिनिरल, एमिनो एसिड हरू प्रसस्त मात्रामा पाइने हुँदा स्वस्थ जीवनशैलीको आयाम थप्न सिस्नुले महत्वपूर्ण भूमिका खेल्छ।
  • सिस्नुले हाम्रो रगतमा भएको चिनिको मात्रा नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
  • उच्च रक्तचाप नियन्त्रण गर्न सिस्नुले सहयोग गर्दछ ।
  • सिस्नुमा प्रसस्त मात्रामा फाइबर, आइरन पाइने भएकोले महिलाहरूको प्रजनन शक्ति मजबुत बनाउन साथै रक्त प्रणालीलाई स्थिर र स्वस्थ बनाउन मद्दत गर्दछ।
  • गाउँघरमा सिस्नुलाई ज्वरो आउँदा पनि ज्वरो घटाउन वा नियन्त्रण गर्न खोलेको रूपमा सेवन गरिन्छ।
  • सिस्नुमा मानव स्वास्थ्यलाई सबल बनाउने थुप्रै उपयोगी पौष्टिक तत्वहरु पाइन्छ जसको सेवनले सन्तुलित विकासमा टेवा पुग्दछ ।
  • सिस्नुलाई व्यावसायिक रुपमा उत्पादन गरि बजारसम्म पुर्याउन सके मनग्य आम्दानी गरी आयआर्जन बढाउन पनि सकिन्छ।

नेपालको सन्दर्भमा केही गाउँपालिका र नगरपालिकाले सिस्नुको प्रवर्द्धन बजारीकरण र व्यवसायिक उत्पादनमा किसानहरुलाई प्रत्यक्ष सहभागी गराई सिस्नुमा सम्भावना खोज्ने कामको थालनी गरेका छन् । यसको उदाहरणको रुपमा काभ्रे जिल्लाको रोशी गाउँपालिका लाई लिन सकिन्छ । काभ्रेको यो गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक निती तथा कार्यक्रममा सिस्नु खेती लाई समावेश गरेको थियो । नेपाल कृषि अनुसन्धान परिषद्ले सिस्नु सम्बन्धी अझै धेरै खोज तथा अनुसन्धानात्मक कार्यक्रमहरुलाई अघि बढाए सिस्नु प्रवर्द्धनमा सहयोग पुग्छ । सिस्नु का फाइदा महत्व र उपयोगिताबारे यस्तै सामान्य जानकारी पाएपछि  तपाई हामीले पनि अब हाम्रा गाउँघरमा खोल्सामा  हेपिएको सिस्नुमा सम्भावना खोज्ने की?