वालिङ। स्याङ्जाको गल्याङ—८ करादीमा खाली रहेको भिरालो खरबारी पशुपंक्षीको फूलबारी बनेको छ । लामो समय वैदेशिक रोजगारीमा विताएका वालिङ ४ च्यारेका राजु सुवेदीले करादीमा खाली रहेको खरबारीलेलाई सजाएर पशुपक्षीको फूलबारी बनाएका हुन् । ०७५ सालदेखि सञ्चालन गर्दै आएका राजुको गह«ौंकालिका कृषि फर्ममा स्थानीय जातका कुखुरा, बाख्रा, बट्टाई, लौकाट, टर्की तथा कालिज रहेका छन् ।

सिद्धार्थ राजमार्गसँगै रहेको यो फर्ममा यी पशुपंक्षीहरु खेलिरहेका दृष्यले धेरैको मनै लोभ्याउँछ । यहाँ रङ्गीविरङ्गी कालिजहरु चरिरहेको देख्न पाइन्छ भने लोकल कुखुराका भालेहरु एकपछि अर्को गर्दै बासिरहेका हुन्छन् । यसैगरी चिरिविरी चिरिविरी गरी बट्टाई कराइरहेका हुन्छन् त सँगै रहेका टर्कीहरु शरीर फुलाएर ढलक ढलक गरी घुमिरहेका हुन्छन् । यतिमात्र कहाँ हो र, स्थानीय खरी बाख्राका पाठापाठीहरु मच्ची मच्ची उफ्रिदै र दौडभाग गर्दै खेलिरहेको देख्दा साच्चिकै रमाइलोको महसुस गराउँछ । हरियाली र भिरालो खरबारीलाई सजाएर बनाईएको कृषि फर्ममा पशुपक्षीहरु आ—आफ्नै धुनमा खेलिरहेका र सडकभन्दा झण्डै तीन चारसय मिटर तलपट्टी आफ्नै लयमा बहेको आँधिखोलाको नागबेली दृष्यले जो कसैलाई पनि मोहित पार्दछ ।

इच्छाशक्ति हुने हो भने यस्ता भिराला पाखाहरुलाई उपयोग गरेर आय आर्जनमा जोड्न सकिन्छ भन्ने राजुको कृषि फर्मले देखाएको छ ।फर्मसँगै रहेको कटेज घरमा त्यहाँ उत्पादित वस्तुहरुबाट तयार पारिएका खाजाको स्वाद समेत लिन पाइनेहुँदा पनि धेरैलाई यो ठाउँले आकर्षित गरेको छ । हामी नेपालीहरु कृषिकर्म गरेरै हुर्केका हौं, कृषि पेशा हाम्रा लागि नयाँ अवस्य होइन । विदेशमा गएर पनि धेरैले कृषि कर्म गरेको देखेका राजुले उत्पादनले नै मानिसलाई आत्मनिर्भर बनाउँछ भन्ने त्यहाँबाट पनि बुझ्ने मौका मिलेको सुनाए । राजु भन्छन्—विदेशमा ठूला ठूला मानिसहरुले कृषिकर्म गरेको देखेपछि त्यसबाट प्रेरित भएर नेपालमै बसेर पनि केहि गर्नसक्छु भन्ने लाग्यो र व्यवसाय गर्न थालेको हो । उहाँ १६ घण्टासम्म काम गरें तर सीमित ज्यालामा त्यो पनि अरुका लागि,गरिन्छ भने नेपालमै गएर गरें भने त आफना लागि गर्छु नि भन्ने लागेर पनि कृषि पेशा प्रति आकर्षित भएको हुँ । गाउँघरमा बसेर आफना लागि श्रम गरिन्छ भने यसमा पनि हामीले गौरव गर्नुपर्ने राजुको धारणा छ । यसरी गर्दा मातृभूमिमा बसेर कृषि तथा आन्तरिक पर्यटनको प्रवद्र्धन समेत गर्न सकिन्छ भन्ने पनि राजुको उद्देश्य र विश्वास छ ।

खाद्यान्नका क्षेत्रमा उत्पादन लिन बढी समय लाग्नसक्छ, छिटो अनि धेरैको माग र आवस्यकता भएको देखेर मासुजन्य उत्पादनका लागि राजुले पशुपालनलाई रोजेका हुन् । हरियो पाखोबारी चरन तथा घाँसका लागि सहज छ । शान्त, मनोरम, दोहोरो बस्ती नभएको खुल्ला ठाउँ, राजमार्गसँग जोडिएकोे हुँदा त्यहाँ आउनेहरुका लागि सजिलो भएकाले पनि यो स्थान रोजेको राजुले बताए । राजु भन्छन्—निर्माणका समयमा भिरालो पाखो भएकाले पहिरोको क्षति बेहोर्नुप¥यो । यस्ता केहि गाह्रो र चुनौतिलाई अवसरकारुपमा लिएर व्यवसाय अगाडि बढाएको छु ।

कुनै पेशागरेर यसबाट भएन भनेर विदेश हानिने क्रम जारी छ, पहिला त हामी युवाहरुले चाहन्छौं मात्र, अलिकति कोशिष गर्दैनौ यसमा स्वयम् हामी आफैं पनि दोषि छौं भने दोश्रो सम्बन्धित निकायहरुबाट पनि ठोसरुपमा त्यस्तो कार्यक्रम ल्याएको देखिदैन ।

स्थानीय स्तरमा व्यवसाय गर्न चाहनेहरु पहिला त आफैं परिपक्व हुनुपर्छ, अरुको देखेरमात्र नहुने धारणा सहित राजु भन्छन्—सानो लगानीबाट सुरु गर्नुस्, अरुको देखेर एकैचोटी ठुलो लगानी गर्नतिर नलाग्नुस, । राज्यले जतिसुकै भनेपनि बजारीकरणको समस्या छ, निकायहरुले नहेरेका यस्ता धेरै छन, अरुले गरिदेला भनेर हुँदैन, यसमा आफैं गर्नुपर्नेहुन्छ, त्यसैलेपनि सानोबाट सुरु गरियोभने व्यवसाय व्यवस्थापनदेखि बजारीकरणको समेत अनुभव हुँदैजाँदा सफल हुन सकिने उनको धारणा छ ।

स्थानीय गल्याङ नगरपालिकाले कृषिलाई प्राथमिकता दिएको भएतापनि राजुको फर्ममा भने नजर नपुगेको उनको गुनासो छ । अनुदान लगायतका कृषक प्रोत्साहनका कार्यक्रमका लागि आफू योग्य नभएको होकि भन्ने पनि लाग्छ तर अन्यत्रको हेर्दा झोला र झण्डा बोक्नेहरुले प्राथमिकता पाएको देखिन्छ । वास्तविक किसानको स्थलगत अवलोकन गरेर त्यस्ता कार्यक्रम लागु गर्नसके कृषि क्षेत्रको विकास हुने राजुको भनाई छ ।