धान नेपालको मुख्य खाद्यान्न बाली हो । हाल नेपालको १५,५२,४६९ हेक्टरमा धान खेती गरिन्छ भने ५२,३०,३२७ टन उत्पादन तथा ३.३६ टन÷हेक्टर उत्पादकत्व रहेको छ । धानले नेपालको कुल ग्राहस्थ उत्पादनको लगभग ७% तथा कुल कृषि ग्राहस्थ उत्पादनको २०% हिस्सा ओगट्छ ।
नेपालको मुख्य बालीको रुपमा परिचित भएपनि नेपाल भने धान उत्पादनमा आत्मनिर्भर हुनसकेको छैन । सन् १९६० को दशकमा बार्षिक करिब ४५ मिलियन डलर बराबरको धान भारतमा निर्यात गर्ने नेपाल सन् २०१५ सम्ममा बार्षिक २१० मिलियन डलर (२४.५ अर्व रुपैयाँ) बाट हाल वार्षिक ३०० मिलियन डलर (३४ अर्व रुपैयाँ) बराबरको धान आयात गरेको तथ्याङ्कले देखाउछ (स्रोतः भन्सार विभाग/तथ्याङ्क) । नेपालमा धानको वास्तविक उत्पादन क्षमता र किसानले लिइरहेको उत्पादनको अन्तर करिब ४५ देखि ५५% रहेको पाइन्छ । उत्पादन क्षमता बढी हुदा हुदै पनि उत्पादनमा ह्रास आउनुका जात छनौट, बीउ छनौट प्रक्रिया, बीउ उपचार, मलखाद व्यवस्थापन, सिचाई सुविधा जस्ता विभिन्न तत्व मध्य बीउ उपचार र बेर्ना उत्पादन प्रविधि एउटा प्रमुख कारक तत्व हो ।
बेर्ना उत्पादनमा बीउ छनौट र बीउ उपचारको विषेश भुमिका हुन्छ । गुणस्तरिय बीउको प्रयोगले मात्र उत्पादनमा २० देखि ३०% सम्मले वृद्धि हुने गर्दछ । बीउ छनौट गर्दा हिष्ट पुष्ट देखिने, पोटिलो दाना भएको र कुनै भौतिक क्षेती नभएको बीउ छान्नु पर्छ । यसरी बीउ छान्दा, १ः५ को अनुपातमा नुन पानीको घोल बनाइ त्यसमा बीउलाई भिजाउनु पर्दछ । माथि पानीको सतहमा तैरिएका बीउलाइ फालेर पिँधमा बसेका बीउलाइ प्रयोगमा ल्याउनु पर्दछ अथावा १.५ किलो युरिया लाइ ४० लिटर पानीमा मिसायर पनि बीउ छान्न सकिन्छ । बीउ छनौटमा बीउको भौतिक र जातिय शुद्धता कायम राख्नु आवश्यक हुन्छ । त्यसको लागि बीउ खरिद गर्दा आधिकारीक संस्था जस्तै सहकारी, सरकारी फर्म/केन्द्र, राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड तथा अन्य नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाहबाट मात्र बीउ खरिद गर्नु पर्छ ।
बीउ उपाचार प्रविधि :
धान बालीमा मरुवा र डढुवा जस्ता रोगहरुको प्रकोप व्यापक मात्रामा हुने गर्दछ । उक्त घातक रोगहरुबाट बाली सुरक्षित राख्न बीउ उपचार अति आवश्यक छ । ढुसिजन्य रोगहरुको लागि बीउलाई कार्वेन्डाजिम, थिराम वा क्यापटान जस्ता ढुसिनाशक विषादीहरु प्रयोग गर्न सकिन्छ । त्यसका लागि दिइएका मध्य कुनै एक विषादी २ ग्राम प्रति किलो बीउका दरल उपचार गर्न सकिन्छ । ब्याक्टेरीयल रोगहरुको लागि भने स्ट्रेप्टोसाइकिलीन वा एग्रिमाइसिन–१०० नामक विषादी १ ग्राम प्रति लिटर पानीमा मिसाएर बीउलाई भिजाएर उपचार गर्न सकिन्छ ।
जैविक विधि प्रयोग गरेर पनि बीउ उपचार गर्न सकिन्छ । यो प्रविधि तुलनात्मक रुपमा महंगो पर्न गएपनि प्रभावकारी र वातावरण मैत्री विधि हो । यसका लागि बीउलाई ट्राइकोड्रमा हार्जियनम वा सिउडोमोनास् फ्लुरेसेन्स् नामक शुक्ष्म जीवद्वारा जैविक आवरण गरिन्छ । त्यसको लागि बीउलाइ ८ घण्टा सफा पानीमा भिजाइन्छ र त्यसपछि पानी निथोरेर जैविक घोल बनाइ बीउमा मिलाउनु पर्दछ । यसरी उपचार गरिएको बीउ छर्नुभन्दा १२–१४ घण्टा पहिले बीउलाई चिसो बोराले छोपेर उच्च आद्रता भएको ठाउँमा राख्नुपर्दछ जसले गर्दा जैविक नियन्त्रक घोल चौतर्फि फैलिएर एउटा सतह बनाउछ । यसरी बीउ उपचार गर्दा बीउबाट सर्नसक्ने रोगको रोकथाम हुनुका साथै बीउको अंकुरण क्षमतामा वृद्धि भएर एउटा राम्रो बोटको विकास हुन्छ ।
बेर्ना उत्पादनमा प्रयोग हुने ब्याड र बानाउने तरिका :
धानको बेर्ना उत्पादनको लागि सामान्यतया हिले ब्याड, धुले ब्याड र ड्यापोग गरी तीन वटा प्रविधिको प्रयोग गरिन्छ । नेपालमा भने ड्यापोग प्रविधि प्रचलनमा रहेको पाइदैन ।
हिले र धुले ब्याडः
पानी प्रशस्त भएको ठाउँमा हिले ब्याडको प्रयोग गरीन्छ भने पानीको अभाव हुने ठाउँमा धुले ब्याडको निर्माण गरिन्छ । केहि हदसम्म दुई वटै ब्याडको निर्माण प्रविधि एउटै छ । ब्याड निर्माण गर्दा ब्याडको चौडाई १ मिटर राखेर आवश्यकता अनुसार लम्बाई राख्न सकिन्छ तर १० मिटर उपर्युक्त हुन्छ । यसरी बनाइएको ब्याडमा बेर्नालाई गर्नुपर्ने स्याहार (गोडमेल) गर्न सजिलो हुन्छ ।
ब्याड निर्माण गर्दा जमिन छनौट गरी ६-१० डोको प्रति रोपनी राम्ररी पाकेको गोठेमल प्रयोग गरी २–३ पटक राम्ररी खनजोत गरेर जमिन तयार गरिन्छ । यसरी तयार गरीयको जमिनलाइ धुले ब्याडको लागि सतहबाट १०–१५ से.मी माथि उठाइन्छ भने हिले ब्याडाको लागि पानी जमाउन सजिलो होस भनि १०–१५ से.मी गहिरो बनाइन्छ र ब्याडमा करीब ६ घण्टासम्म पानी जमाइन्छ । १ रोपनी धुले ब्याडमा राखेको बेर्नाले १० रोपनी जग्गामा र १ रोपनी हिले ब्याडमा राखेको बेर्नाले २० रोपनी जग्गामा रोपाईँ गर्न सकिन्छ ।
बेर्नाको लागि बीउको तयारी
हिले ब्याडको लागि छनौट गरीएको बीउलाइ सफा पानीमा एक रात भिजाएर २४ घण्टा चिसो बोरामा राख्न पर्छ । यदि बोराको चिस्यान कम भएमा हल्का पानीले भिजाइ दिनु पर्छ । यसले बीउ टुसाउनमा मदत् गर्छ । बीउ टुसाइसके पछि तुरुन्तै तयार गरिएको ब्याडमा छर्नु पर्छ । बीउ छर्दा ब्याडमा पानीको सतह २.५ से.मी हुनु पर्छ र ३ दिन पछि त्यसलाइ बढाएर ५ से.मी मा कायम राख्नु पर्छ । हिले ब्याडमा थोरै बीउले पनि धेरै जमिलाइ पुग्ने भएता पनि तुलनात्मक रुपमा बेर्ना कमजोर हुने र पानी धेरै चाहिने हुन्छ । यस्तै धुले ब्याडमा बीउ दर धेरे भएपनि बेर्ना बलियो हुने र सामान्य सुख्खा मौसम सहन सक्ने हुन्छ । धुले ्ब्याडमा बेर्ना राख्दा हिले ब्याडको जसरी बीउ तयारी गर्न आवश्यक पर्दैन उपचार गरिएको बीउलाइ सिधै ब्याडमा छरिदिए हुन्छ तर ब्याडमा चिस्यान कायम राख्न बीउ छरेको तीन दिन पछि हल्का सिँचाइ आवश्यक हुन्छ । बीउ उम्रेको एक हप्ता पछि यदि बेर्ना पहेलो भएमा युरीयाको घोल बनाएर छर्किनु पर्छ । २२–२५ दिनमा बेर्ना राप्नको लागि तयार हुन्छ ।
डेपोग प्रविधि सम्बन्धि सामान्य जानकारीः
डेपोग प्रविधिबाट बेर्ना उत्पादन गर्ने प्रचलनको सुरुवात फिलिपिन्सबाट भएको हो । यो माटो विना नै पानीको मात्र प्रयोग गरेर बेर्ना उत्पादन गर्ने र छोटो समयमा नै बेर्ना तयार हुने प्रविधि हो । यसमा काठको बाकस, प्लास्टिक ट्रे अथवा सिमेन्टेड भुँइ वा माटोमा प्लास्टिकको प्रयोग गरेर पानी जम्मा गर्नसक्ने आकारको बनाइन्छ । डेपोग प्रविधिको लागि थोरै ठाउँ भए पुग्छ । करिब ४०–४५ वर्ग मिटरमा राखेको बेर्नाले १ हेक्टर जमिनमा रोपाइ गर्न पुग्छ । १ वर्ग मिटरको लागि १.५–३.० किलो टुसाएको बीउ आवश्यक पर्छ । यो प्रविधि पूर्ण रुपले पानीमा आधारित भएकोले पानीको मात्राको घटबढले पूरै बीउ नै खराब हुने डर हुन्छ त्यसैले प्रत्यक दिन कम्तिमा पनि तीन पटक पर्याप्त मात्रामा सिँचाइ दिन जरुरी हुन्छ । यो नयाँ भएकोले अनुभवी जनशक्तिको आवश्यक पर्छ । डेपोग प्रविधिमा १०–१२ दिनमा बेर्ना रोप्न तयार हुन्छ ।