हामी सबैले सानैबाट सुन्दै आएको कुरा- “नेपाल जैविक विविधताले भरिपूर्ण देश हो।” यस सुन्दर भुमिमा हजारौं किसिमका जिवजन्तु तथा वनस्पतिहरु पाइन्छ।वनस्पतीकै कुरा गर्दा आज हामी टिमुर बारे जानकारी लिनेछौं। हुन त टिमुर बारे धेर-थोर ज्ञान सबैमा हुन्छ। हामिले दैनिक रुपमा यसको उपभोग गरिरहेकै हुन्छौं। हाम्रो भान्साघरमा धेरैजसो यसको प्रयोग मसलाको रुपमा र चटनी बनाउन हुन्छ जुन सर्वप्रीय छ।
परिचय :
महाभारत पर्वत शृङ्खलाको १२०० देखि १५०० मिटरसम्मको उचाइमा पाइने यस टिमुरलाइ अङ्ग्रेजी भाषामा सिच्यान पेप्पर (Sichyan pepper) भनिन्छ। त्यसैगरी तामाङ भाषामा ञप्रुमोु भनिन्छ भने नेवारी भाषामा यो “टेबु” नामले प्रख्यात छ।रुटेसी (Rutaceae) वनस्पती परिवार भएको यसको बैज्ञानिक नाम भने जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC) हो। टिमुरको बोट करिब २ मिटर देखि ६ मिटर सम्मको उचाइमा हुन सक्छ।यसको बोट भरिनै केही चेप्टो परेका तिखा-तिखा काला काँडाहरु हुन्छन,जसलाइ गाउँघरमा बल्छिको रुपमा समेत प्रयोग गरिन्छ।टिमुरको डाँठको दुबैतिर स-साना २ देखि ६ जोडिसम्म तीखो टुप्पो भएका पातहरु पलाएका हुन्छन।यी पातहरु माड्दा एक किसिमको मीठो सुगन्ध आउँछ।टिमुर फल सानो रातो ४-५ मिलिमिटर डायमिटरका हुन्छन। फलको स्वाद तितो पिरो हुनुका साथै जिब्रो पर्पराउने हुन्छ।फलहरु वास्नादार हुन्छन।काचोमा हरियो हुने यी फलहरु पाकेपछि रातो रङ्गमा परिणत हुन्छन।फल भित्र एउटै मात्र गोलो कालो टल्किने बीउ हुन्छ।अन्य बोटबिरुवामा जस्तै टिमुरमा पनि भाले पोथी फुल फरक-फरक बुरुवामा हुन्छ।फुल हरिया र केही पँहेला साना आकारका हुन्छन।
आवश्यक माटो र हावापानी :
टिमुर खुल्ला डाँडा,पाखापखेरोमा पाइने वनस्पति हो।यसको लागि सुर्यको किरण उचित मात्रामा हुनुपर्छ।साथै हिउँदमा ठण्डा र गर्मीमा न्यानो हुने हावापानी भएको क्षेत्रमा यसको राम्रो विकास हुन्छ।माटो चयन गर्दा भिर पाखाको बलौटे एव: पत्थरिलो माटो चयन गर्नुपर्छ।माटोको PH लेभल ६.५-७.० सम्म हुनु पर्दछ।
टिमुर कहाँ पाइन्छ ?
टिमुर कश्मिरदेखि नेपाल,भुटान,पुर्वी चीन,ताइवान,फिलिपिन्ससम्म फैलिएको छ।नेपालमा रुकुम,रोल्पा,प्युठान,सल्यान,आछाम र जाजरकोट टिमुरका लागि प्रसिद्ध मानिन्छन।विशेष गरेर यो कटुस गुराँस,चुत्रो,सल्लो,बाँझ आदि प्रजातीका वनस्पतीसँग मिसिएको पाइन्छ।
टिमुर खेती कसरी गर्ने त ?
टिमुरको बिरुवा फागुन चैत तिर खनजोत गरि नर्सरी ब्याडमा बीउ उमारेर प्राप्त गर्न सकिन्छ।१ हेक्टरमा ५०० ग्रामको दरले बीउ रोप्नु पर्छ।१० सेन्टिमिटरको फरकमा लाइन मिलाएर बीउ रोप्नु पर्दछ।बिउलाइ ब्याडमा रोपे पछि धुलो माटोले हलुकासँग छोप्नु पर्छ।त्यसपछि परालले पातलो गरि ढाक्नु पर्छ। ब्याडमा बीउ उम्रिन थाले पछि पराललाई हटाउने र अर्को ६० सेन्टिमिटर जति अग्लो छाप्रोको छहारी दिनु पर्छ।प्लास्टिकको थैलामा पनि यसको बिरुवा उमार्न सकिन्छ।सामान्यतया बिरुवा एक वर्षको (लगभग १५ सेन्टिमिटर ) जति भएपछी रोप्न योग्य हुन्छ।
बिरुवा निकाल्ने अर्को बिधि भनेको कटिङ (cutting) प्रक्रिया हो।कटिङबाट निकालिएको बिरुवाले छिटो फल दिने भएकाले यो ज्यादा लोकप्रिय छ।
बिरुवा रोप्ने उत्तम समय भनेको असार महिना हो।मनसुन आउनु अगाडि र जाडो समयमा पनि बिरुवा रोप्दा राम्रै हुन्छ।बिरुवा लगाउनु भन्दा ३-४ महिना अगाडि नै ४-४ मिटरको फरकमा ३५/३५ सेन्टिमिटरको खाडल खनेको हुनुपर्छ।अनि वेर्नाको प्लास्टिकको थैलो हटाइ बिरुवा रोप्न मिल्छ। जाडो मौसममा वृक्षारोपण गर्दा माघ,फागुन महिना उचित मानिन्छ। अझ एकझरि पानी परे पछि तयारी अवस्थाको खाडलमा बिरुवा रोप्नु एकदमै उपर्युक्त हुन्छ।बिरुवा लगाएको केही समयसम्म सिचाइको व्यवस्था मिलाउनु पर्छ।बिरुवा रोपेको लगभग ३ बर्षबाट फल लाग्न थाल्छ।यसबिचमा हामिले वर्षको ३-४पटको दरले गाइबस्तुको मल बिरुवाको वरिपरि लगाएर गोडमेल गर्नुपर्छ।
महत्व र उपयोगिता :
टिमुर एकदमै ज्यादा आर्थिक,संस्कृतिक,औषधिय,आयुर्वेदिक तथा औद्योगिक महत्व बोकेको वनस्पती हो। विशेष गरि पहाडी क्षेत्रमा बढि पाइने टिमुरको परापुर्वकालदेखि नै अनेकौँ तरिकाले प्रयोग भइरहेको छ।
– गाउँघरमा जंगली जुका फाल्न,पेटको दुखाइ,दाँतको दुखाइ,हाडजोर्निको दुखाइ कम गर्न,घाउचोट-खटिरा लाग्दा,लेक लाग्दा यसको प्रयोग गरिन्छ। टिमुरको फलको बोक्राबाट स्टिम डिस्टिलेसन (Steam distillation) को माध्यमद्वारा एक प्रकारको सुगन्धित तेल तयार गरिन्छ।हातखुट्टा मर्किदा,हाडजोर्नी दुख्दा,ढाड दुख्दा,टाउको दुख्दा,पिनास हुँदा यस तेलको प्रयोग गरेमा राहत मिल्छ।
-भोक नलाग्ने अथवा अपची समस्या भएकाहरुलाइ पनि टिमुरको सेवनबाट फाइदा हुन्छ।
-फोसफोरस (Phosphorous) को मात्रा अत्यधिक हुने भएकाले टिमुरको सेवन बाट हड्डीहरु मजबुत बन्छन।
-प्राय जसो जाडो मौसममा खानामा यसको नियमित सेवन गर्दा शरीरमा न्यानोपनको आभास हुन्छ।
-टिमुरको सेवनबाट आँखामा हुने धेरै समस्याबाट छुट्कारा पाउन सकिन्छ। शरीरमा रक्तचाप,धड्कन आदिलाइ सन्तुलनमा राख्न पनि यसको प्रयोग हुन्छ। औषधिय रुपले एकदमै ज्यादा महत्व बोकेको टिमुर एलोपेथी र आयुर्वेदिक दबाइहरुमा एक अभिन्न तत्वको रुपमा प्रयोग हुन्छ।
-टिमुरको पात,बोक्रा,जरा आदि सबै भाग केही न केही तरिकाले प्रयोग गर्न मिल्छ।धेरैजसो यी भागहरुबाट दन्तमन्जन र साबुनहरु बनाइन्छ।
सम्भावना र वर्तमान अवस्था :
यति धेरै महत्व बोकेको यस वनस्पतिको हामिले सहि तरिकाले खेती र बजारिकरण गर्न सक्ने हो भने हामीले यसबाट मनग्गे आर्थिक लाभ उठाउन सक्छौँ।टिमुर बिशेष गरि पहाडी क्षेत्रको भिर पाखामा सजिलै खेती गर्न सकिन्छ।जहाँ अन्य अन्न बाली लगाउँदा बाँदर,दुम्सी,चराचुरुङ्गीहरुले नष्ट गर्ला भन्ने डर हुन्छ भने टिमुरको खेतीमा त्यस्तो डर हुन्न। साथै एउटै बोटले कयौँ बर्षसम्म फुल दिइराख्ने,धेरै हेरबिचार गरिरहनु नपर्ने,अमलिन बालुवे माटो र बाँझो जमिनको पनि सदुपयोग हुने भएकाले अहिले आएर धेरैको आकर्षण यसप्रती बढ्दै गरेको देख्न सकिन्छ। यो सकरात्मक लक्ष्यण हो। वर्तमान अवस्थामा राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारमा यसको अत्याधिक माग भएको तर सप्लाइ भने एकदमै कम भइहेकोले टिमुर ब्यवसायले ठूलो सम्भावना बोकेको छ।अहिले हाल नेपाली बजारमा टिमुर प्रती किलो ९०० देखि १२०० सम्ममा बिक्री भइरहेको छ भने अन्तरास्ट्रिय बजारमा यसको मूल्य १४००ं छ। एक हेक्टर जमिनमा हामिले १००० बोटहरु लगाउन सकिन्छ र हरेक बोटबाट औसतमा २ देखि ४ किलो फल प्राप्त गर्न सकिन्छ।यो तथ्यांकलाई मिलाएर हेर्ने हो भने हामीले एक हेक्टर जमिनबाट लगभग २०००-४००० के.जि. टिमुर उत्पादन गर्न सकिन्छ।यहीँबाट प्रस्ट हुन्छ कि हामिले यसको व्यवसायबाट कुन हदसम्म आफ्नो आर्थिक विकास गर्न सक्छौँ।
टिमुर व्यवसायको भविस्य यसकारण एकदमै उज्ज्वल छ।यसलाई अन्तरास्ट्रिय माग अनुसारको सप्लाइ गर्न सक्ने हो भने हामिले यथेष्ट विदेशी डलर नेपालमा भित्राउन सक्छौँ।यसमा विशेष गरि हामी युवावर्गको ध्यान जान जरुरी छ। यसो भएमा हामी धेरैले थोरै पैसाको लोभमा खाडिमा गएर खिइनु पर्दैन। आफ्नै देशमा स्वरोजगार भइ देश विकासमा योगदान पुर्याउन सकिन्छ।सरकारले पनि यस व्यवसायको प्रवर्द्धन र विकासमा किसानहरुसँग हातेमालो गरेर अगाडी बढ्नुपर्छ।किसानलाई सहज हुने खालका नियम नीति ल्याउनुपर्छ।बेलाबेलामा टिमुरका बिरुवाहरु,प्लास्टिक लगायत खेती गर्दा आवस्यक वस्तुहरुको किसानहरु माझ निशुल्क वितरण गर्ने,समय-समयमा आर्थिक अनुदानहरु दिएर किसानहरुको मनोबल र उत्साह बढाउने काम सरकारबाट हुनुपर्छ।कृषिविज्ञ र किसान बिचको दुरि हटाउनु पर्छ।