अदुवा (Zingiber officinalis L.) जिन्ज़ीबरेसि (zingiberaceae) परिवार अन्तर्गत पर्ने मसला बाली हो्र पानीको निकासको राम्रो व्यावस्था भएको कालो, हलुका तथा खुकुलो माटो र चिस्यानयुक्त उष्णरउपोष्ण हावापानी अदुवा खेतिको लागि उपयुक्त मानिन्छ । ४० देखि ५० ग्रामको स्वस्थ र पोटिलो बिउ गानो लाई ३० से.मि. को दुरी कायम गरी फाल्गुन देखि चैत्र महिनामा रोप्न सिफारिस गरिएको छ । नेपालमा विशेषतः सल्याने, इलामे, भोजपुरे, कपुरकोट अदुवा-१,कपुरकोट-२ आदि जातका अदुवा लगाइन्छ ।

अदुवा खेती गर्दा यसको प्रक्रिया बारे पुर्ण जानकारी लिगी आवश्यक सावधानी र सजगता अपनाउने हो भने यसबाट उल्लेखनीय आम्दानी लिन सकिन्छ।अदुवा खेतीमा विशेष ध्यान दिनुपर्र्ने र महत्वपुर्ण मानिएका क्रियाकलापहरु निम्नलिखित छन।

मलखाद व्यवस्थापन :
अदुवालाई चाहिने खाद्यतत्व आपूर्तिको लागि प्रशस्त मात्रामा जैविक तथा रासायनिक मलको आवश्यकता पर्दछ ।

जमिनको अन्तिम तयारीमा राखिने मललाई छर्ने विधिबाट राखिन्छ भने पछि राखिने मललाई गोडमेल पश्चात बोटको चारैतिर माटोमा मिसाएर राखिन्छ । यसो गर्दा रासायनिक मल बिउ गानोको सम्पर्कमा आई गानो कुहिने रोगको प्रकोप बढ्ने हुनाले विशेष ध्यान पुर्याउनु पर्दछ । Mridula and Jayachandran,1998 ले एक अनुसन्धानमा नाइट्रोजन युक्त मलको प्रयोगले अधिकतम वानस्पतिक वृद्धि (maximum vegetative growth ) तथा फोस्फोरसको प्रयोग गर्दा उचाई, पातको संख्या र पातको क्षेत्रफ़ल (leaf area index) बढ्ने कुरा पत्ता लगाएका छन् । त्यस्तै गरी प्रांगारिक मलले चिस्यान बचाइराख्ने,माटोको गुणस्तर कायम राख्ने र खाद्यतत्व आपूर्तिमा सन्तुलन मिलाउने हुनाले कृषि विज्ञहरुले यसको प्रयोगमा जोड दिएका छन् । भर्मिकम्पोस्ट, पिंना जस्ता प्रांगारिक पदार्थ प्रयोग गरेर अदुवाको अर्गानिक खेति गर्न सकिन्छ्र अझ कुखुराको सुलीले अत्यन्तै राम्रो उत्पादन दिने र सुँगुरको मलले अदुवाको भोलाटाइल पदार्थ (volatile component) अर्थात् oleoresin को मात्रामा वृद्धि गर्ने भएकाले यिनीहरुको प्रयोगतर्फ कृषकहरुको ध्यान जानु जरुरी छ ।

छापो व्यवस्थापन :
लामो अवधि सम्म माटोमा चिस्यान बचाई राखनेका साथै चाडै टुसा पलाउन मद्त गर्ने भएकाले अदुवा उत्पादन गर्दा अदुवाको रोपाइँ पछि एक वा दुई दिन भित्रमा ४-५ से.मी.को छापो प्रयोग गर्नु निकै प्रभावकारी मानिन्छ । यस बाहेक छापोको प्रयोगले झारपात रोकाथाम गर्छ, भू-क्ष्य हुनबाट जोगाउछ र प्रांगारिक पदार्थको रुपमा पनी काम गर्न गई माटोको उर्वराशक्ति बढाउछ । सामान्यतया सजिलै उपलब्ध हुने धानको भुस, सुकेको पातकर, असुरो, पाती वा अन्य हरियो स्याउला वा बाबियो खर छापोको रुपमा उपयुक्त मानिन्छ । आखिर छापो नराख्दा के हुन्छ, छापो राख्ने झन्झट किन गर्ने भन्ने जस्ता कृषकहरुको मनमा उब्जिएको प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरुले विभिन्न अध्ययन अनुसन्धान गरे। त्यसै मध्यमा भारतको पश्चिम भागको उच्च पहाडि सतहमा गरिएको एक परिक्षण अनुसार अदुवामा 20t/ha सुख्खा पातकर राख्दा छापो नराख्दाको तुलनामा २००% उत्पादन वृद्दि भएको देखिएको छ। त्यस्तै गरि छापो राख्दा झारपात मा नि निकै फरक देखिएको थियो। अदुवा रोपे लगत्तै छापो राख्ने हो भने बिरुवाको उचाइ र पातको संख्यामा पनि उल्लेखनीय वृद्दि भएको देख्न सकिन्छ। सम्भवत एक हेक्टरमा १० टन छापो उपयुक्त मानिन्छ।छापो हरु अन्तर्गत पनि खर र वनको स्याउलामा चितवनमा गरिएको तुलनात्मक अध्य्यनमा खरको छापो प्रयोग गर्दा माटोमा अम्लियता (soil acidity) तथा माटोमा कार्बन र नाइट्रोजनको मात्रा उच्च रहेको भेटिएको छ।

झार व्यवस्थापन तथा गोडमेल :
अदुवामा साम्न्यतया दुईपटक गोडमेल गर्ने गरिन्छ।पहिलो गोडमेल रोपेको एक महिना पछि र दोस्रो गोडमेल रोपेको द्द महिना पछि गरिन्छ।गोडमेल गर्दा गानोमा असर परेको खण्डमा गानो कुहिने रोग लाग्ने सम्भावना भएकाले विशेष ध्यान पुर्याउनुपर्छ।वर्षाको मात्रा, छापोको मात्रा,माटोको किसीमका कारणले झारपात बढि हुन गएमा आवश्यकता अनुसार गोडमेल गरिरहनुपर्छ।

माटोमा चिस्यान छैन भने रोप्नु अघि सिंचाई गरेर मात्र रोप्ने र मौसम सुख्खा रहिरहेमा अर्को एक महिनामा सिंचाईको व्यवस्था मिलाउनुपर्छ।

ब्रुनी निकाल्ने :
अदुवा रोपेको चार महिना पछि अर्थात अदुवा बाली तयार नहुदै लगाएको बिउ गानो बिरुवा स्थापित भैसकेपछि बिरुवाबाट बिस्तारै अलग गरि माटोबाट बाहिर निकाल्ने गरिन्छ जसलाई ब्रुनी निकाल्ने प्रविधि भनिन्छ।यसो गर्दा बिरुवा र उत्पादन दुवैमा असर नपरने र माउबिउ पनि राम्रो मुल्यमा बिक्री हुने भएकाले ब्रुनी निकाल्ने प्रक्रिया निकै लाभदायक मानिएको छ। माउबिउलाई पछि सम्म जमिनमा छाडि राख्दा खन्ने बेला सम्ममा ५०% माउबिउ नोक्सान हुन सक्दछ। तसर्थ आवश्यक ध्यान पुर्याइ साउनरभदौ महिनामा नै माउबिउ निकाल्दा उल्लेखनीय लाभ लिन सकिन्छ। ब्रुनी निकाल्न पानी नपरेको,सुख्खा माटो भएको समय पारेर निकाल्नु पर्छ।छापो र माटो बिस्तारै हटाइ बिउ गानो र नया गानो छुट्याइ बिउ गानो नया गानोलाइ असर नपरने गरि बिस्तारै भाच्नुप्पर्छ।रोपिएको अदुवाको गानो ३० ग्राम भन्दा सानो भएमा र गानो कुहिने रोग लागिसकेको भएमा ब्रुनी निकाल्नु हुदैंन।त्यस्तै गरि यदि अदुवा बिउ परियोजनका लागि खेती गरिएको छ भने पनि ब्रुनी निकाल्नु हुदैन।ब्रुनी निकाली सकेपछि ट्राईकोडर्माबाट घाउ उपचार गरेमा सम्भावित गानो कुहिने रोगबाट बचाउन सकिन्छ।

अदुवा एक बहुउपयोगी बाली हो।माथि उल्लेखित प्रक्रियाहरुमा उत्पादनको क्रममा विशेष ध्यान पुर्याउने हो भने अदुवाको उत्पादन वृद्दि हुन्छ र यसको मागपनि देश

विदेशमा आपुर्ती गर्न सकिन्छ।यसले अदुवा उत्पादनको क्षेत्रमा पक्कै पनि नया आयाम थप्नेछ।तसर्थ किसानहरुमा अदुवा सम्बन्धि तालिमहरु दिँदा यी प्रक्रियाहरुमा विशेष केन्द्रित हुनुपर्छ।