बायोचार अधिक मात्रामा कार्बन भएको अत्यधिक तापक्रम (४००–८०० डिग्री सेल्सियस) र अक्सिजन रहित अवस्थामा जलेर बनेको एक किसिमको अंगार हो । यसको प्रयोगले माटोको भौतिक, रासायनिक, जैविक तथा पर्यावरणीय सुधार गर्छ ।

उपयोगिता :
बायोचार एक बहुउपयोगी पदार्थ हो । यसलाई धमिलो वा दूषित पानी प्रशोधन गर्न, कृषि भूमि उर्वर बनाउन, गाईवस्तु तथा कुखुरा बस्ने ठाउँ चिस्यानबाट बचाउन, दानाको रूपमा प्रयोग गर्न, नाला वा अन्यत्रको दुर्गन्ध हटाउन, कार्बन स्थिरीकरण गर्न जस्ता धेरै कार्यमा उपयोग गर्न सकिन्छ । माटोमा पीएच धेरै अम्लीय भएमा यसलाई पीएच बढाउन प्रयोग गरिन्छ । बायोचारको पीएच ४ देखि १२ सम्म हुने गरेको पाइन्छ । बायोचार बनाउन प्रयोग हुने कच्चा पदार्थ र बाल्दा वा तयार गर्दा हुने तापक्रमले यसको पीएच निर्धारण हुन्छ । बायोचार मुख्यतः माटोको गुणस्तर सुधार्न तथा कृषि उत्पादन बढाउन प्रयोग गरिन्छ ।

माटोमा बायोचार राख्नुपर्ने आवश्यकता :
बायोचार माटोमा गलेर वा सडेर जाँदैन, एकैपटक वा अलिअलि गरेर मात्रा पुग्नेगरी हालेपछि त्यसले माटोलाई खुकुलो, ओसिलो र क्षारीय बनाइराख्न सघाउँछ । माटोको अम्लीयपन हटाउन यो विशेष बायोचारसँगै यसको कच्चापदार्थमा रहेका पोषक तत्व र सूक्ष्म तत्व पनि माटोमा जान्छ । त्यसैले प्रयोगपछि लगत्तै लगाइने बाली उत्पादनमा पनि यसको राम्रो प्रभाव पर्छ ।

आवश्यक सामग्री :
– गाइभैंसीको सोत्तर,खेतवारीबाट निस्कने जैविक पदार्थ,झारपात,पातपतिंगर लगायतका बस्तु
– खाडल, ड्रम वा चिम्नी
– पानी र गहुँत
– बेल्चा, बाल्टिन, बोरा
– गोबर मल वा कम्पोष्ट मल

विधि :
म यहाँ बायोचार बनाउने परम्परागत बिधीबारे चर्चा गर्न गैरहेको छु।
एउटा खाडलमा वनमारा लगायत मिचाहा वनस्पति जलाउने र जलेर खरानी नहुँदै त्यसलाई माटोले पुरेर निभाउने बिधी, परम्परागत बिधि हो।
यसमा शुरूमा बायोचार बनाउने भट्टी अथवा भाँडोको फेद भागमा दाउरा वा डढ्ने वस्तुलाई होम गर्न समिधा तयार गरेजस्तै हार लगाएर राख्नुपर्छ । माथिल्लो भागमा केही कागज अथवा छिट्टै आगो टिप्ने सामग्री राखेर बाल्नुपर्छ । बायोचार बनाउने सामग्री थोरै थोरै गरेर जलाउनुपर्छ । एक सतह जल्दा जल्दै अर्को पातलो सतहको सामग्री थप्नुपर्छ । खरानी बन्न दिनु हुँदैन, अंगारको रूपमा रहनुपर्छ।

आगो लगाउने प्रक्रिया :
बायोचार बनाउन तयार गरिएको खाडलमा आगो बाल्न खाडलको तल्लो भागमा दाउरा वा अन्य बल्ने सामग्री होम गर्दा समिधा राख्ने तरीकाअनुसार मिलाएर राख्नुपर्दछ । यसरी राख्दा हावा आवतजावत हुनुका साथै धूँवा आउँदैन । बायोचार अक्सिजनरहित वा न्यून अक्सिजन भएको अवस्थामा मात्र बन्ने भएकाले जलाउने प्रक्रियामा धेरै ध्यान दिनुपर्छ । बायोचार बनाउँदा बाहिरी हावालाई भित्र जान नदिन टिनको पाताले बायोचार बनाउने खाडललाई छेक्दा बायोचारको गुणस्तर राम्रो हुन्छ । बायोचारलाई खरानी हुन दिनु हुन्न । जलाउँदा कालो धूँवा पनि आउन दिनु हुँदैन । तयार गरिएको बायोचार बनाउने सामग्रीको माथिबाट केही कागज वा छिटो बल्ने स–साना काठको चोइटा राखेर आगो सल्काउनु पर्छ । आगो सल्किएपछि केही समयसम्म पर्खनुपर्छ, जसले गर्दा आगोको राम्रो बाफ आउन थाल्छ । त्यसपछि भने मुनि राखिएका सामग्रीलाई चलाइदिनुपर्छ । बल्दै गरेको अवस्थामा पुनः अर्को भाग सामग्री थप्नुपर्छ । यस्ता सामग्री थोरै थोरै थप्नुपर्छ । यसरी थप्दै र जलाउँदै गएपछि खाडल भरिन्छ वा बाल्ने सामग्री सकिन्छ ।

त्यसपछि भने पानी वा गहुँतले बल्दै गरेको आगोलाई चारैतिरबाट निभाउनुपर्छ । पानी नभए हावा नपस्नेगरी माटोले २४ घण्टासम्म पुर्न सकिन्छ । यसरी माटोले पुरेर आगो निभाएको बायोचारमा माटो पनि मिसिएको हुन्छ । तर, यसलाई प्रयोग गर्न मिल्छ र उत्तिकै गुणस्तरको बन्छ । सेलाएपछि वा अर्को दिन खाडलबाट बायोचार निकाल्नु पर्दछ । बायोचार खाडलबाट निकालेपछि पिँधेर मलसँग मिसाएर माटोमा प्रयोग गर्नुपर्छ । बायोचार तुरुन्त प्रयोगमा नल्याउने भए यसलाई बोरा वा कुनै भाँडोमा राख्न सकिन्छ ।

बायोचार र मल मिश्रणको तयारी :
तयार भएको बायोचारलाई राम्रोसँग धूलो वा ढुटो पार्नुपर्छ । यसलाई चुटेर वा मेशिनको सहयोगमा धूलो बनाउन सकिन्छ । धूलो भएको बायोचारमा गहुँत वा अन्य मल मिसाउनु पर्दछ । यसरी तयार गर्दा गहुँत बायोचार मिश्रण सोझै खेतबारीमा राख्न सकिन्छ । तर, ७ दिनपछि राख्नु उपयुक्त मानिन्छ ।

प्रयोग गर्ने तरिका :
लाइनमा लगाउने बाली छ भने लेदोलाई लाइनमा राखेर त्यसमा बालीनाली लगाउन सकिन्छ । बीउ छर्ने भएमा सोझै लेदोमा बीउ राख्नु हुँदैन । त्यसैले, हल्का माटोले पुरेर मात्र बीउ छर्नुपर्छ ।फलफूल लगाउने खाडलमा भने गोबर मलसँगै प्रयोग गर्नु राम्रो हुन्छ । बायोचार माटोमा मिसाएर नराखी कुनै पनि बिरुवाको जरानजीक राखेर माटोले पुर्नुपर्छ ।
जलवायु परिवर्तनको असरले कृषि क्षेत्रमा विभिन्न समस्या बढाइरहेको सन्दर्भमा बायोचार कृषि क्षेत्रका लागि एउटा गतिलो अनुकुलन प्रविधि सावित हुन सक्छ।