3 – G Cutting एउटा नौलो, अन्वेषणात्मक र क्रान्तिकारी प्रविधि हो जसले लहरे बाली लगायत अन्य केही बालीहरुमा समेत दक्ष प्राविधिक प्रशिक्षण, तालिम र काँटछाँट दक्षता एवम् प्रभावकारिताका साथ लागू गर्न सकेमा दोब्बर उत्पादन दिने गर्दछ। पहिलो र दोस्रो पुस्ताका हाँगाहरुलाई काँटछाँट गरी (Apical Dominance) भाले फूल घटाइ तेस्रो पुस्तामा पोथी फूल बढाएर उत्पादन वृर्द्धि गर्ने वैज्ञानिक प्रक्रियालाई 3- G Cutting भनेर परिभाषित गर्न सकिन्छ।
3 -G Cutting लहरे बालीहरु(लौका, पाटे घिरौला, काँक्रो, फर्सि, कुभिण्डो, करेला, चिचिण्डो इत्यादि)मा लोकप्रिय र सफलतापूर्वक अभ्यास गरिने भएता पनि अन्य प्रजातिका बालीहरु(अङ्गुर, खुर्सानी, टमाटर, भान्टा,चिप्ले भिन्डी आदि)मा समेत प्रयोग गरिन्छ। 3- G Cutting को मुख्य सिद्धान्त र भूमिका भनेको पहिलो र दोस्रो पुस्तामा भाले फूलको सङ्ख्या घटाएर पोथी फूलको सङ्ख्या तेस्रो पुस्ताको हाँगामा बढाउने हो। सामान्यतया 3- G Cutting गर्नु भन्दा अघि भाले र पोथी फूलको अनुपात 14:1 हुन्छ तर 3- G Cutting गरिसके पछि भाले र पोथीको अनुपात 1:2 हुन्छ। त्यसैले 3- G Cutting पछि तेस्रो पुस्तामा धेरै सङ्ख्यामा पोथी फूलहरु देखिन्छन्। थोरै सङख्यामा रहेका भाले फूलले धेरै सङ्ख्यामा रहेका पोथी फूललाई परागसेचन गर्न सक्छन् र उत्पादन ज्यामितीय अनुपातमा वृर्द्धि भएको कृषि वैज्ञानिक एवम् विभिन्न मातहत र तहमा रहेका कृषि प्राविधिकहरुले बारम्बार बताउँदै आएका छन्। पहिलो पुस्ताको मुख्य हाँगामा 90% भाले फूल र 10% पोथी फूल हुन्छन्। दोस्रो पुस्ताको हाँगामा भाले र पोथी फूल बराबर(50%)हुन्छन्। तेस्रो पुस्तामा पोथी फूल अत्यधिक मात्रामा र भाले फूल कम मात्रामा पाइन्छन्। लहरे बालीअन्तर्गत पहिलो पुस्ताको हाँगामा 6-8 फिट उचाइ पुगेपछि मात्र टुप्पो Heading back or Pinching (टुप्पो काट्ने) गर्नुपर्दछ र तेस्रो पुस्ताको हाँगा 3-4 फिट उचाइ पुगेपछि टुप्पो काटिन्छ भने अन्य बालीमा जस्तै टमाटर, खुर्सानी इत्यादिमा चाहिँ पहिलो पुस्ताको हाँगामा 6-8 इन्च उचाइ पुगेपछि मात्र टुप्पो काटिन्छ र दोस्रो पुस्तामा 3-4 इन्च उचाइ पुगेपछि टुप्पो फालिन्छ र स्वत: तेस्रो पुस्ताका हाँगाहरुको वृर्द्धि विकास हुन्छ। मुख्य हाँगाको बेसदेखि 4-5 पात निस्केको ठाउँसम्म जन्मेका सबै हाँगालाई हटाउनु पर्दछ। केहि दिनपछि पहिलो र दोस्रो पुस्तामा भाले फूलको विकास हुन्छ तर तेस्रो पुस्ताको हाँगामा पोथी फूलको विकास हुन्छ। 3- G Cutting गर्दाको समयमा प्रकाशको मात्रा, माटोमा उचित पोषण तत्त्व र चिस्यान, मलजल र राम्रो उपचारको व्यवस्था गर्नुपर्दछ। पहिलो पुस्ताबाट दोस्रो पुस्ता र दोस्रो पुस्ताबाट तेस्रो पुस्ताको विकास हुन्छ।प्राकृतिक परागसेचन कम हुने सङ्का लागेमा भाले पराकण ल्याएर पोथी फूलमा राखेर कृत्रिम परागसेचन पनि गर्न सकिन्छ। पोथी फूलमा फूलको फेदतिर सानो फल लागेको हुन्छ तर भाले फूलमा त्यस्तो हुँदैन। 3-G Cutting मा टुप्पो काटेपछि फूल र फल विकास हुन लामो समय लाग्ने, काटेको ठाउँमा रोग र ढुसीको इन्फेक्सन हुने सम्भावना बढि हुने, दक्ष प्राविधिक ज्ञानको आवश्यकता पर्ने, विशेष वृर्द्धि विकासको समयमा झाउलाग्दो हुने जस्ता केहि नकरात्मक पक्षहरु देखिएता पनि यस्का सकारात्मक पक्षहरु धेरै छन् । 3- G Cutting गर्दा पोथी र भाले फूल सन्तुलन कायम गरी उत्पादनमा वृर्द्धि हुने, सानो क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने, फलको ग्रेड र आकारमा गुणस्तरीय विकास हुने एवम् एउटै बोटबाट लामो समयसम्म उत्पादन प्राप्त गर्न सकिने जस्ता कैयौँ फाइदाहरु पाइन्छन्। गर्मी याममा भाले फूल बढी लाग्ने भएकाले यसको सङ्ख्या घटाउन 3- G Cutting बढी उपयोगी हुन्छ।
करेसाबारी, कौसि खेति, व्यावसायिक खेति र अन्य खेतिहरुमा 3 – G Cutting निकै फाइदाजनक र सहयोगी भएकाले आजभोलि 3-G Cutting प्रविधि धेरै फस्टाउँदै गएको पाइन्छ।