कञ्चनपुर। वन क्षेत्रले घेरिएको शुक्लाफाँटा नगरपालिका–८ स्थित ‘बेलडाँडी’ तरकारी खेती हुने गाउँमा परिचित छ ।

गाउँका अधिकांश व्यक्ति बाह्रै महिना तरकारी खेती गर्छन् । तरकारी खेती गर्नेमा जनजाति समुदायका व्यक्तिको बाहुल्यता छ । जसमा महिला अग्रस्थानमा छन् ।

बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म यहाका बासिन्दा तरकारी बारी स्याहार्न, तरकारी टिप्न र बजारमा लगेर बेच्नछन् । खेत र बारीमा लटरम्म गोलभेँडा, काउली, ब्रोकाउली, बन्दागोभी, आलु, प्याज, लहसुन, खुर्सानीलयात तरकारी फलेका छन् ।

गाउँका बासिन्दाले तरकारी खेतीबाट कमाएको पैसाले परिवारको खर्च धान्ने गर्छन् । तरकारी खेती नहुँदा विगतमा यहाँका युवा रोजगारीका लागि भारतसँगै बाह्य मुलुकमा जाने गरेका थिए ।

तरकारी खेती गर्ने तौरतरिका सिकेपछि यहाँका बासिन्दाले तरकारी खेतीलाई व्यावसायिक बनाएपछि बाह्य क्षेत्रमा रोजगारीका लागि जाने युवा गाउँमै तरकारी खेतीमा परिवारसँगै संलग्न हुन थालेका छन् ।

परम्परागतरूपमा तरकारी खेती गर्दा परिवारका लागिसमेत खान पुग्दैनथ्यो । हाल खेतबारीमा उत्पादन गरेको तरकारी खेतीबाट घरका लागि मात्रै हैन स्थानीय बजारमा बेचेर स्थानीय बासिन्दाले मनग्य आम्दानी लिन थालेका छन् ।

दैनिक गाउँबाट १६ क्विन्टल तरकारी बजारमा बिक्री हुने गरेको छ ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत मनकामना आलु तरकारी ब्लक समिति गठन भएपछि यस गाउँका बासिन्दाले आधुनिक र व्यावसयिकरूपमा तरकारी खेती गर्न थालेका छन् ।

सबैको घरघरमा तरकारी खेतीका लागि प्लाष्टिकका टनेल बनाइएका छन् । खेत जोत्नका लागि गोरुको ठाउँमा पावर टिलरको व्यवस्था गरिएको छ । सिँचाइका लागि घरघरमा विद्युतीय मोटर र पम्पसेट जडान गरिएका छन् ।

कृषि औजार उपकरणको प्रयोग गरी व्यावसायिक तरकारी खेती हुँदै आएको छ । परियोजनाअन्तर्गत दुई वर्षदेखि निरन्तररूपमा कृषि औजार र उपकरणका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरमार्फत अनुदान रकम उपलब्ध गराइँदै आएको राधान चौधरीले बताए।

बेलडाँडी गाउँका तरकारी खेतीमा संलग्नहरूको वार्षिक आम्दानी रु. पाँच लाखदेखि रु. १५ लाखभन्दा बढी हुने गरेको उनको भनाइ छ ।

यहाँका युवा विगतमा परिवारको खर्च चलाउनकै लागि वैदेशिक रोजगारी र मजदूरीका लागि भारतमा जाँदै आएका थिए । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि युवा यसमै रमाउन थालेका छन् ।

‘तरकारी खेती हुन थालेपछि वैदेशिक रोजगारीमा जान हुरुक्क हुने युवासमेत गाउँमै तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाटै सोचेजस्तो आम्दानी हुन थालेपछि विदेशिने सोच बनाएकाहरू रोकिएका छन्”, मीना चौधरीले भनिन् , ‘विगतमा हूल नै बाँधेर भारततर्फ जानेको लर्को नै लाग्ने गरेको थियो । त्यो तरकारी खेतीले रोकेको छ ।’

सिँचाइका लागि पम्पसेट विद्युतीय मोटर नभएकाहरूले कुलोको पानी सिँचाइ गर्न पालो मिलाउने गरिएको छ । सिँचाइको कुलोबाट पानी लगाउन विलम्ब भए धेरैले घरमै जडान गरेको विद्युतीय मोटरबाट पानी तानेर सिँचाइ गर्ने गरेका छन् ।

तरकारी खेतीमा संलग्न किसानको एउटै दुःखेसो छ । त्यो भनेको तरकारी उत्पादन भएपछि बेच्ने झन्झट । केही तरकारी गाउँमै हुने विवाह, भोज भतेरमा खपत हुने गरेको छ ।

बाँकी रहेको तरकारी बेच्नका लागि टाढाको धनगढी, अत्तरिया र महेन्द्रनगरसम्म पु¥याएर व्यापारीले तय गरेको दर रेटमै बेच्नुपर्ने हुन्छ ।

विचौलियाहरूले तरकारी बजारमै सस्तोमा तरकारीको बोली लगाई खरीद गर्ने भएकाले कुनै बेला लागतसमेत नउठ्ने भएकाले बेचेर फर्कनुपर्ने अवस्था रहेको किसानको गुनासो छ ।

यहाँका किसानले गाउँमै तरकारी सङ्कलन केन्द्रको व्यवस्था गरी बिक्री वितरणको व्यवस्था गरी दिन माग गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यस वर्ष रु. १० र त्यसमा किसानले रु १० लाख थपेर तरकारी खेतीका लागि मल्चिङ, हजारी, ग्रिननेट, सिलपोलिङ र थोपा सिँचाइको व्यवस्था गरेका छन् ।

किसानलाई बाह्रै महिना तरकारी खेती गर्न सहजताका लागि ३५ वटा पोलिहाउससमेत निर्माण गरिएको छ । १६ जनालाई ग्रिन नेट र २० जनालाई मल्चिङ प्रविधिको खेतीमा आबद्ध गराइएको छ ।

गत वर्ष परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको अनुदान रकम रु. २३ लाख ७३ हजार ८५१ र स्थानीय किसानको श्रमदान रु. २५ लाख ९० हजार ७३० गरी रु.५० लाख ८९ हजार ५२१ मनकामना आलु तरकारी ब्लक समितिलाई उपलब्ध गराइएको थियो ।

जसबाट किसानले बोरिङ, प्लाष्टिक टनेल, क्रेट, स्प्रे ट्याङ्की, सिलपोलिन, बीउबिजन, पावर टिलरलगायत खरीद गरेका थिए । ब्लकमा आबद्ध ५० जना किसान आबद्ध छन् ।

तरकारी खेतीको उत्पादन बढाउनका लागि र रोग किराको प्रकोप हुन नदिनका लागि किसानले तालीमसमेत लिएका छन् । पाँच कट्ठादेखि एक बिघा जग्गा मारी ब्लकमा आबद्ध किसानले ५० बिघा जग्गामा तरकारी खेती गरेका छन् । रासस