सामान्यतयाः Hot Bed भनेको, हिमाली तथा पहाडी क्षेत्रमा चिसो मौसममा पनि बलियो र स्वस्थ वेर्ना उत्पादन गर्ने विधि हो । तरकारीको बीउ उम्रनका लागि उचित तापक्रमको आवश्यकता पर्दछ तर यस मौसममा धेरै चिसो हुने भएकोले बीउ नउम्रने र तुसारोले वेर्नालाई हानी पु¥याउने हुनाले यस समस्याबाट बच्नको लागि पनि हटबेडको प्रयोग गर्न सकिन्छ । हटबेड बनाएर नर्सरीको तापक्रम वृद्धि गरि तरकारीको वेर्ना सिजन भन्दा अलि अगाडिनै उत्पादन गर्न सकेमा किसानले बढीभन्दा बढी फाइदा लिन सकिन्छ । नर्सरी सञ्चालन किसान र व्यवसायिक तरकारी खेतीइ गरिरहनुभएको किसानको लागि हटबेडवारे बुझ्न र यसको प्रयोग गर्ने धेरै नै आवश्यक छ । यस विधिको प्रयोगले चिसो मौसममा पहाडी तथा हिमाली क्षेत्रमा लहरेबाली जस्तैः काँक्रा, लौका, तितेकरेला, फर्सी, चिचिण्डा, घिरौला आदि र सिमि, बन्दा, खुर्सानी, भण्टा जस्ता तरकारीहरुको वेर्ना उत्पादन गर्न सकिन्छ । हडबेडको प्रयोगले बेमौसमी खालका तरकारीको वेर्ना उत्पादन गर्ने, वेर्नालाई ठण्डी र तुसारोवाट जोगाउन र चिसो मौसममा पनि छिटोनै स्वस्थ वेर्ना उत्पादन गर्न सकिन्छ ।

पोलि ब्याग वा प्लास्टिक ट्रेमा नर्सरी व्यवस्थापन :-
लहरेबालीका वेर्ना उत्पादन गर्नको लागि सामान्यतया ६ ईन्च लम्बाई, ४ ईन्च चौडाई भएको कालो प्लाष्टिकको थैलाको प्रयोग गर्नुपर्दछ । थैलाको साइडमा कम्तिमा ४ वटा प्वाल पारेर माटो भर्नुपर्दछ । प्लास्टिकको थैली नपाइने ठाउमा साल वा भोर्ला जस्ता ठुला तर चाडै नकुहिने पातबाट थैला बनाएर पनि वेर्ना उत्पादन गर्न सकिन्छ । प्लास्टिकको थैलिमा माटो भर्नको लागि उपलब्ध भए आधा–आधा भाग चालेको जंगलको माटो र पाकेको मल मिसाएर माटो तयार गर्ने । तयार भएको माटोको मिश्रणलाई २ ग्राम वेभिष्टिन प्रति लिटर पानीमा मिसाएर भिजाउने र ढुसिवाट जोगाउन ४८ देखि ७२ घण्टा सम्म सेतो प्लास्टिकले छोपेर राख्ने । चिम्टाइलो माटो छ भने २ भाग मलिलो माटो, २ भाग पाकेको माटो र १ भाग बालुवा मिसाउने । प्लास्टिक थैलिमा माटो भर्दा बिस्तारै ढक्ढक्याउदै भर्ने र टम्मै नभरेर करिब २–३ से.मि.तलसम्म मात्र भर्ने । प्रत्येक थैलिमा २ दाना बीउ १ अंगुलको फरकमा १ अंगुल गहिरो गरि रोप्ने ।

Hot Bed बनाउने तरिका:-
१. सर्वप्रथम, ठाउँको छनोट गर्दा बिहानदेखि बेलुकासम्म घाम लाग्ने, न्यानो ठाउँ, सिंचाईको व्यवस्था भएको सुरक्षित ठाँउ र सजिलै हेरचाह गर्न सकिने स्थान छनोट गर्नुपर्दछ ।
२. त्यसप्रश्चातः करिब १ मि. चौडाई, ५० से.मि. गहिराई र आवश्यकता अनुसारको लम्बाई भएको खाडल खन्ने ।
३. खाडलको पिँधमा करिब १० से.मि. जति पराल, खर, सुकेका घाँसपात आदि राखिदिने ।
४. त्यस तहको करिब १० से.मि. माथी सम्म काँचो गाई वस्तुको गोबरमल, घोडाको गोबर आदि राखिदिने ।
५. हामीले फेरि त्यस तहको माथी १० से.मि. सम्म पराल, खर, सुकेका घाँसपात आदि राखिदिने ।
६. अब करिब १०–१५ से.मि. जति माथी सम्म मलिलो माटो, गाईवस्तुको मलखाद नजिकको माटोले खाडललाई पुरिदिने ।
७. हडबेड बनाउदा प्रयोग गरिएको काँचो गोबरमलवाट प्रशस्त तापक्रम वृद्धि भई बीउ उम्रन र वेर्ना हुर्किन सजिलो हुन्छ ।
८. बनाइएको Hot Bed माथी प्लास्टिकको ट्रे, पोलि ब्याग राखिदिने र उक्त ब्याडलाई २ वा २.५ मिटर लामो बासँको भाटाले चौडाई तिरबाट अर्ध चन्द्रकारमा गाड्ने र माथीबाट सेतो प्लास्टिकले छोपिदिने र गुमोजको निर्माण गरिदिने ।

नर्सरिमा वेर्ना व्यवस्थापन :-
१. Hot Bed बनाई पोलि ब्यागमा बीउ राखेको करिब २५–३० दिनमा (तरकारी अनुसार दिन फेरबदल हुन सक्ने) वेर्ना उत्पादन हुन्छ ।
२. वेर्ना उम्रिसकेपछि दिनको बिहानी पखमा घाम लागिसकेपछि प्लास्टिकको आधा भाग हटाइदिने र साझ पुनः प्लास्टिकले ब्याड छोपी दिनुपर्दछ ।
३. समय समयमा वेर्नालाई पानी दिने, अनावश्यकमा उम्रिएका झारपातलाई हटाईदिने र वेर्ना चारपाते भएपछि आवश्यक देखियो भने एक प्रतिशत युरियाको झोलले सिंचाई गरी दिने जसले गर्दा विरुवा चाडै हुर्किन्छ ।