स्याङ्जा। परिश्रमीका लागि ठाउँ विशेषले खासै फरक पार्दैन भन्ने स्याङ्जाको गल्याङ नगरपालिका ७ थुमका किसानहरुले प्रमाणित गरेका छन् । कुन माटोमा के हुन्छ भन्ने जान्नुप¥यो, त्यही अनु्सारको खेति गर्ने हो भने हाम्रा गाउँघरमा मनग्य आमदानी लिन सकिदोरहेछ भन्ने यहाँका किसानको उत्पादनले देखाएको छ । थुमको डाँडालाई अदुवामय बनाउने अगुवा कृषक हुन्—अग्नीप्रसाद न्यौपाने । समुद्री सतहदेखि १४५५ मीटर उचाइमा रहेको थुमको डाँडा अग्नीसँगै अरु किसानहरुमा आएको जागरुकताले अदुवामय भएको हो ।
अग्नीले विगत २०७२ देखि व्यवसायिकरुपमा अदुवाखेति गर्दै आएका हुन् । गतवर्ष पाँच रोपनीमा झण्डै पचास क्वीण्टल उत्पादन भएपछि अग्नीलाई अरु हौसला थपियो र अहिले १० रोपनीमा लगाएका छन् । दश रोपनीमा १२ क्वीण्टल बीउ लगाएका अग्नीले यसवर्ष सय क्वीण्टलसम्म उत्पादन गर्ने लक्ष्य छ ।
रैथानेबाली कोदो र मकैको तुलनामा अदुवाबालीमा कम परिश्रम, उत्पादन लागत पनि थोरै हुन्छ । यसका साथै बाँदर, दुम्सी, खरायो, मृग, मुसा लगायत वन्यजन्तुले पनि नखाने, सजिलो र फाइदाजनक भएकाले अदुवाखेति उपयुक्त लागेको अग्नीको भनाई छ ।
यसका साथै अग्नीले वेमौसमी तरकारी पनि उत्तिकै उत्पादन गर्दछन् भने सँगै बाख्रापालनलाई पनि जोडेका छन् । हामी कृषिप्रधान देशका नागरिक हौं, कृषि गर्नुपर्छ, यसैमा सुरक्षित भविष्य छ, त्यसैले अरुलाई पनि कृषिपेशा गर्न उनको सुझाव छ ।
अग्नीले गर्न थालेपछि अरुलाई पनि गरे हुँदो रहेछ भन्ने लाग्यो र अहिले उनको देखेर सात आठ जना त व्यवसायी बनिसकेका छन् भने अरु पनि व्यवसायी बन्ने सोंचमा छन् ।
नगरपालिकाले वडा नम्बर १ बल्पुकमा अदुवा प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरिरहेको हुँदा बिक्रि गर्न कुनै समस्या नहुने भएकाले किसानहरुमा थप उत्साही बनाएको छ । यहाँको बीउ अर्घाखाँची, पर्वत लगायतका जिल्लादेखि ठूलो माग आउने गरेको अग्नीले बताए ।
प्लाष्टिक पोखरीमा आकासेपानी संकलन गरेर सिञ्चाइको व्यवस्थापन गरिएको थुमको डाँडामा अदुवाबालीको साथमा वेमौसमी तरकारी पनि उत्तिकै उत्पादन हुने गरेको छ ।
अग्नीसँगै उनका छिमेकी अमृता न्यौपानेले सात रोपनीमा अदुवा लगाएकी छन् । गतवर्ष एक रोपनीमा लगाएकी अमृताले एक लाखको विक्रि गरेको र अहिले सात रोपनीमा लगाएकी हुन् ।
बाहिरबाट माग धेरै आएको छ तर नगरपालिकाको आग्रहमा उत्पादन भएकोजति बीउका लागि राख्ने अमृताले बताइन् । अरु बढाएर लगाउने सोंचमा रहेकी अमृताले बाँदरको विगविगी बढि भएकाले मकै कोदो खाइदिने र उत्पादनका हिसावले पनि अदुवाबाली धेरै राम्रो भएको बताइन् ।
यसैगरी पहिलो उत्पादन लिने तयारीमा रहेकी टीका न्यौपानेले यो वर्षदेखि झण्डै तीन रोपनीमा लगाएकी छन् । एकल महिला टीकालाई पनि गरे हुँदो रहेछ भन्ने लाग्यो । अरु बालीभन्दा सजिलो र उत्पादन राम्रो हुने रहेछ, त्यसैले अरुले पनि यसैगरी लगाउन उनको आग्रह छ ।