ताप्लेजुङ। करिब ३० वर्षदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका ताप्लेजुङ फुङलिङ नगरपालिका–१ का तील बहादुर कार्की यो वर्ष पनि औँसा प्रकोपले सुन्तला सखाप भएपछि चिन्तित छन् । दाना लाग्दैदेखि औँसाका कारण सुन्तला झरेर अहिले पाक्ने बेला हुँदासम्ममा १५ प्रतिशत पनि नरहँदा आम्दानीकै बाटो बन्द हुने भन्दै कार्की चिन्तामा परेका हुन् ।

“करिब ३ सयभन्दा बढी बोट सुन्तला लगाएको छु, भदौदेखि दाना झरेर अहिले पाक्ने बेला हुँदा बोटमा १५ प्रतिशत पनि दाना देखिँदैन, आम्दानीको बाटो नै बन्द भयो, नजीकको सरकारले पनि हेरेन”, कार्कीले भने । उनका अनुसार विगत ५/६ वर्षदेखि सुन्तलामा औँसा पर्ने र नपाक्दै पहेँलो भएर झर्ने समस्या छ । रोग नियन्त्रणका लागि कतैबाट सहयोग नभएकाले आफैँले विषादी किनेर लगाउने गरेको तर समाधान हुन नसकेको उनले बताए । “पहिले कृषि कार्यालय हुँदा सामान्यतया सहयोग हुन्थ्यो, अहिले नजीकको सरकार छ भन्छन्, तर अहिलेसम्म नजिकको सरकारबाट हामी किसानलाई कुनै सहयोग छैन, प्राविधिकहरुसँग भेटेर कुरा गर्दा हामी जान भ्याउँदैनौँ भन्छन्”, उनले भने ।

यता फुङलिङ नगरपालिका–२ टार गाउँका भक्तबहादुर तोलाङको पनि समस्या उस्तै छ । केही वर्षयता व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका भक्त बहादुरलाई सुन्तला खेती निल्नु न ओकल्नु भने जस्तै भएको छ । “केही होला कि भनेर बारी मासेर सुन्तला रोपेँ, तर वर्षेनी पहेँलो हुँदै झरेर जान्छ, पोहोर सालभन्दा यो वर्ष धेरै झर्यो, उपाय नहुने भयो”, उनले भने । यसरी सुन्तलामा आएको प्रकोप झन् बढ्दै जाँदा र यसको नियन्त्रणमा हालसम्म कतैबाट सहयोग नहुँदा सुन्तला खेती गर्ने किसान समस्यामा छन् । उनीहरुका अनुसार दाना लाग्दैदेखि पहेँलो हुँदै क्रमशः झर्ने गरेको छ । पाक्ने याम मंसिर, पुससम्ममा झरेको सुन्तलाले भुइँ ढाक्ने गरेको छ भने बोटमा १५/२० प्रतिशत पनि दाना नरहने उनीहरुको भनाइ छ ।

जिल्लाको फुङलिङ नगरपालिकासहित पाथीभरा याङवरक, आठराई त्रिवेणी गाउँपालिकालगायत केही स्थानमा सुन्तला खेती गरिँदै आएको छ । सुन्तलामा मात्रै नभइ जुनार, कागती, ज्यामिरलगायत फलफूलमा यस्तो संक्रमण फैलिएको छ । सुन्तलासँगै लगाइएको अलैँची खेतीबाट समेत किसान सन्तुष्ट छैनन् । अन्य अन्नबाली उत्पादन हुने खेतबारी मासेर सुन्तला र अलैँची खेती गरेका किसान दुवै खेतीबाट निराश छन् । सुन्तलामा रोगकीरोको संक्रमण र अलैँचीले राम्रो मूल्य नपाएपछि निराश बनेका हुन् ।

बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रणबाहिर जान सक्ने खतरा भएकाले झरेका फल व्यवस्थित तरिकाले व्यवस्थापन र नष्ट गर्न आवश्यक रहेको कृषि प्राविधिक बताउँछन् । तर रोग कीरोको नियन्त्रण र रोगकै कारण झरेका सुन्तलाको व्यवस्थापनमा भने प्रत्यक्ष सहयोग कतैबाट नहुने गरेकामा किसानले गुनासो गरेका छन् ।रासस