
स्याङ्जा। स्याङ्जाका कलाकार कृषि कलामा रमाएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका ९ पकवादी गेझाका कुशुम भण्डारी कृषि कलामा रमाएका हुन् । गाउँको पाखोबारीमा केराखेति गरेर प्रति रोपनी एक लाखसम्म कमाई पनि हुने र घरपरिवार अनि गाउँका साथीहरुसँगै रमाउन सकिने भएपछि कुशुम कृषिमा लागेका हुन् । उनले २०७५ सालदेखि कलाकार कृषि तथा पशुपंछी फर्म सञ्चालन गर्दै आएका हुन् भने कुशुमको केरा बगान साँच्चै आकर्षक र लोभलाग्दो भएको छ । एक रोपनीमा सय बोटका दरले तीन रोपनीमा तीनसय केराका बिरुवा लगाएका कुशुमले वार्षिक तीललाखसम्म आम्दानी भएको बताए । अब अरु दुईरोपनीमा लगाउने तयारी छ र दुइ सय बिरुवा थपेर पाँचसय पु¥याउने उनको लक्ष्य छ । अहिले भएको उत्पादन र आम्दानीलाई हेर्दा केराखेति गरेर राम्रोसँग जीविकोपार्जन गर्न सकिन्छ भन्ने कुशुमको विश्वास छ । यसका साथै कुशुमले १ सय ५० बोट कागती पनि लगाएका छन् ।
सात वर्ष काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा काम गरेका कुशुमले अहिले आएर कृषिलाई मुख्य पेशा बनाएर लागेका हुन् । कुशुमले शब्द संकलन गरेको लोकदोहोरीगीत “कपाल कोर्ने काईंयो” केहि समय अगाडि निकै चर्चा कमाएको गीत हो ।
“संसारमा ६४ कला हुन्छ र हामी पनि त्यहि कलाभित्र छौं । यसमध्ये सबैभन्दा ठूलो कृषिकला हो ।” संगीतका गुरुको यो भनाईलाई मनन गर्दा कृषिविनाको कला पूर्ण हुादोरहेनछ कि भन्ने महसुस गरेर पनि कृषिमा लागेको कुशुमले बताए । उनी भन्छन्—गाउँमा गर्ने कृषि नै हो, किनभने यहाँ कुनै उद्योग धन्दा छैन, रोजगारीको मुख्य आधार कृषि हो र कृषिको विकल्प अरु छैन भन्ने लाग्यो र व्यवसाय गर्न थालेको हो । कुशुमले सुरु गरेपछि गाउँका अरु युवाहरुलाई पनि उत्साही बनाएको छ ।
फलस्वरुप कुशुम सहित गाउँका साथीहरु विष्णु भण्डारी, तारा भण्डारी र प्रेम भण्डारीको संयुक्त लगानीमा सामुहिक गाईपालन गर्ने योजनामा छन् । सामुहिक गाईपालनका लागि झण्डै ३० लाख लगानी गरी गोठ लगायतका पूर्वाधार तयार गरिसकेका छन् । समूहले मुरली एग्रो फर्मका नाममा अहिले २५ देखि ३० वटासम्म गाई पाल्ने र अरु विस्तार गर्दैजाने सोंच रहेको कुशुमले बताए ।