विराटनगर। प्रदेश नं १ मा यस वर्ष धाने उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय, विराटनगरका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कुल १२ लाख ६१ हजार ६६५ र आर्थिक वर्ष २०७६/७७ मा ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान फलेको प्रदेश १ मा यस वर्ष सबैभन्दा बढी १३ लाख ११ हजार २४५ मेट्रिकटन धान उत्पादन भएको छ ।

प्रदेशमा कुल धान लगाउने क्षेत्रफल ३ लाख ४० हजार ८२९ हेक्टर हो हो । यस वर्ष अनुकूल मौसम, सिँचाइको राम्रो प्रबन्धले विगत केही वर्षको तुलनामा यस वर्ष किसानले ३ लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान लगाएका थिए ।

निर्देशनालयका अनुसार यस वर्ष ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो । धानको उत्पादनले किसान उत्साहित भएको, तर उचित मूल्य निर्धारण नभएकाले निराशा पनि देखिएको निर्देशनालयका प्रवक्ता सरसस्वती श्रेष्ठको भनाइ छ ।

प्रदेशमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको निर्देशनालयले बताएको छ । चौध जिल्ला रहेको यस प्रदेशमा उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु गरी २४ हजार ११३ हेक्टर जग्गामा २३ हजार ६७७ हेक्टर जग्गामा रोपाइँ भएर ६० हजार ७१४ मेट्रिकटन धान उत्पादन भएको छ । मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जग्गामा ८८ हजार ७९० हेक्टर जग्गामा रोपाइँ भई कुल २ लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

साथै तराईका झापा, सुनसरी, मोरङ गरी २ लाख २५ हजार ८०० हेक्टर जग्गामा २ लाख २० हजार ४५१ हेक्टर जग्गामा धान रोपाइँ भई कुल ९ लाख ९५ हजार ३७७ मेट्रिकटन धान उत्पादन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् ।

सुनसरी मोरङ सिँचाइ योजनाले सुनसरी र मोरङको ४० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याएको छ । जब कि सुनसरी र मोरङमा क्रमशः ५५ हजार र मोरङमा ५३ हजार ९०० हेक्टर जग्गा खेतीयोग्य छ । सिँचाइको प्रबन्धको हिसाब हेर्ने हो भने यी दुवै जिल्लाको १ लाख ८ हजार ९०० हेक्टर जग्गामध्ये ४० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा हुनु र बाँकी जग्गा वर्षा एवं कुलो पैनीमा मात्र निर्भर रहने कारणले कृषि क्षेत्रको विकास हुन नसक्ने सुनसरी औराबनीका कृषक रामप्रसाद यादवले बताए ।

सबै खेतीयोग्य जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन सिँचाइको विस्तार गर्नुको विकल्प नरहेको उनले धारणा राखे । झापाको आठ हजार हेक्टर जग्गामा कन्काइ सिँचाइ योजना र बाहुनडाँगी क्षेत्रमा एक हजार ७०० हेक्टर जग्गामा सिँचाइ पुर्‍याउन बनाइएको सिद्धी सिँचाइले झापाको ८७ हजार ५०० हेक्टर जग्गालाई समेट्न सक्दैन । यसका लागि सरकारले झापाकै सबै खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्‍याउन विलम्ब गर्न नहुने झापा भद्रपुर निवासी प्राध्यापक चिन्तामणि दाहालले बताए । रासस