ललितपुर। सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज (शुक्रबार) उक्त बजारको उद्घाटन गर्नुभएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो । नेपाल सरकार र युएनडिपीको सहकार्यमा बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित गरिएको छ ।

केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताइन् । अहिले उत्पादनको समस्या नरहेको भन्दै मन्त्री अर्यालले उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चूनौतीको रुपमा रहेको बताइन् ।

उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको भन्दै मन्त्री अर्यालले यसलाई अझ बिस्तार गरिने बताइन् । किसानले उत्पादन गरेको सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

किसानहरुले मेहनत गरेर उत्पादन गर्ने तर, त्यसको नाफा बीचमा रहेका बिचौलियाले पाउने कुराको अन्त्य गर्नुपर्ने भन्दै उनले किसानहरुको मर्का सम्बोधन गर्नका निम्ती पनि सहकारी बजार कार्यक्रम उपयुक्त भएको बताइन् । जागिरे मानसिकता छाडेर व्यवसायकि मानसिकताको विकास मुलुकको समृद्धीसँग जोडिएको भन्दै उनले प्राकृतिक स्रोत र मानव स्रोतको समिश्रणबाट नै समृद्धी सम्भव भएको बताइन् ।