रामेछाप। रामेछापमा बाख्रा जोन कार्यक्रमका किसनालाई बोयर जातका बाख्राका बोका–पाठी वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा ती बोका–पाठी वितरण गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले ५० प्रतिशत अनुदानमा बोयर जातका बोका–पाठी किसानलाई वितरण गरेको हो । कार्यालयले गत वर्षबाट सुरु गरेको बाख्रा जोन कार्यक्रम मार्फत बाख्रा पालनको लागि आवश्यक प्राविधिक ज्ञान र ५० प्रतिशत अनुदानमा बोका–पाठी वितरण गर्न सुरु गरेको थियो ।

सो कार्यक्रम अन्तर्गत कार्यालयले मंगलबार किसानलाई १५ वटा बोका र ११ वटा पाठी वितरण गरेको छ । कार्यालय प्रमुख होमनाथ लम्सालले यो वर्ष सहभागि सहकारी, कृषि समूह र कृषि फार्मका लागि १ सय वटा बोका–पाठी वितरण गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सोही कार्यक्रम अन्तरगत १५ वटा बोका र ११ पाठी वितरण गरिएको उहाँले बताउनुभयो । लम्सालका अनुसार बाँकी बोका–पाठी यही महिना भित्र वितरण गरिसकिने छ ।

बाख्रा जोन कार्यक्रम मन्थली नगरपालिकाको वडा नं १, २, ३, ७, ८, ९, १०, ११, १२ र १३ मा सञ्चालनमा छ । त्यस्तै खाँडादेवी गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा पनि कार्यक्रम सञ्चालनमा छ । सुनापति गाउँपालिकाको वडा नं ३, ४ र ५ मा समेत कार्यक्रम सञ्चालनमा छ ।