ललितपुर। पश्चिमी वायुको प्रभावसँगै शुक्रबार काठमाडौं उपत्यकासँगैं देशभर चिसो बढेको छ ।
शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम र मध्य क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्यत हिमपात हुने तथा बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबारदेखि सफा :
पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।
उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम शुरु हुनेछ ।
आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, बाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।