परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कृषि तथा वनजन्य उद्योेगतर्फ आकर्षण बढ्दै गएको छ ।

विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले बताएको छ ।

पछिल्लो पटक दर्ता भएका उद्योगहरु अधिकांश कृषि तथा वनजन्यसम्बन्धी नै छन् । कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालू आव २०७७र/७८ को पहिलो त्रैमासिक अवधिमा दर्ता भएका साना उद्योगमा सबैभन्दा धेरै कृषिसम्बन्धी २६३ ओटा उद्योग थपिएका छन् ।

कोरोना भाइरसको जोखिमका कारण भएको बन्दाबन्दी समयमा पनि साउनदेखि असोजसम्म दर्ता भएका कुल ३८३ ओटा उद्योगमध्ये सबैभन्दा धेरै कृषि तथा वनजन्यसम्बन्धी नयाँ उद्योग थपिएका हुन् । नयाँ उद्योगमा मात्रै १ हजार १६५ जनाले रोजगार पाएको उनले जानकारी दिए ।

तीन महीनाको अवधिमा १९९ जना पुरुष र ७४ जना महिला उद्यमीले कृषि तथा वनजन्य उद्योग दर्ता गरी सञ्चालन गरेका छन् । विदेशबाट फर्किएका युवाहरुले स्वदेशमै स्वरोजगार हुने उद्देश्यले कृषि क्षेत्रलाई व्यावसायिक रुपमा अघि बढाइरहेका छन् भने बैंक ऋणमा सहुलियत, महिला उद्यमी कोष, उद्योग व्यवसाय दर्तामा ५० प्रतिशत छूटलगायत सुविधाका कारण महिला उद्यमीको सङ्ख्या पनि बढ्दो छ ।

गत आव २०७६/७७ मा समेत जिल्लामा सबैभन्दा धेरै कृषि तथा वनजन्य क्षेत्रका उद्योग दर्ता भएका थिए । कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष ४०८ ओटा कृषि तथा वनजन्य उद्योग थपिएका थिए । ती उद्योगमा ४१९ जा नउद्यमी आवद्ध छन् भने ९३६जना पुरुष र ६९७ जना महिला गरी १ हजार ६३३ जनाले रोजगारी पाएका छन् । लुम्बिनी प्रदेश सरकारले औद्योगिक क्षेत्रमा लगानी प्रोत्साहन गर्न चालू आवमा दर्ता हुने लघु, घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गरेको छ ।

प्रशस्त खेतीयोग्य जमिन, पशुपालन, दुग्ध, तरकारी र फलफूल उत्पादनका लागि उर्वरभूमि मानिने नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० जिल्ला कृषिमा उल्लेख्य सम्भावना भएको जिल्ला हो । कृषिमा यहाँको अथाह सम्भावनाकै कारण तरकारी, फलफूल, माछापालन तथा पशुपक्षीपालन व्यावसायिक रुपमा फस्टाएको कार्यालयले बताएको छ ।

यहाँ उत्पादन हुने दुग्धजन्य र मासुजन्य उत्पादनले जिल्लाको माग पूर्ति गरी अन्यत्र जिल्लामा पनि खपत हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा वनमा आधारित उद्योग पनि सञ्चालनमा छन् । चिसापानी सामुदायिक वन उपभोक्ता समूहले जडीबुटी उद्योग सञ्चालन गरी सुगन्धित तेल तथा विशासय सामुदायिक वन उपभोक्ता समूहले बेलको जुस उत्पादन गर्दै आएको छ । रासस