
ललितपुर। पश्चिमी वायुको प्रभावका कारण भोलिबाट थप चिसो बढ्ने भएको छ ।
पश्चिमी क्षेत्रबाट भित्रिएको पश्चिमी बायुका कारण भोलिबाट थप चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा बादल लागेको छ ।
उक्त बादल भोलिबाट गण्डकी र बाग्मती प्रदेशमा प्रवेश गर्ने महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
उनका अनुसार भोलि (मंगलबार) काठमाडौं उपत्यकासहितका गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा बादल लाग्ने छ भने पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने सम्भावना छ । मनाङ, मुस्ताङ, हुम्ला, जुम्लालगायतका स्थानमा हिमपातको सम्भावना रहेको उनले बताए ।
पश्चिमी वायुको प्रभाव बिहीबारसम्म कायम रहने उनले बताए । बुधबार काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कमजोर रहेको वरिष्ठ मौसमविद् सापकोटाले जानकारी दिए ।
हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ ।