बैतडी। जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् ।

बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी टोली जाने तयारीमा रहेको जानकारी दिए ।

पुर्चौंडी–६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयले त्यही मुहानको पानी प्रयोग गर्दै आएका थिए । गाउँमा आउने खानेपानीको मुहानमा मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीयवासी सीता साउँदले बताइन् । उनले भनिन्, पानीको मुहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको छ । त्यो ठाउँमा दुर्गन्धसमेत फैलिएको छ ।

नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजीकै रहेको पानीको मुहानमा गाई मृतावस्थामा भेटिएकाले सडकबाटै फालिएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् । गाई फालेर मारेको हुन सक्ने अनुमान गरेका छौँ, स्थानीयवासी प्रेम साउँदले भने, पानीको मूहानमा गाई मरेको भेटिएपछि गाउँ र विद्यालयमा खानेपानीको समस्या भएको छ ।

मुडेलीस्थित पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकालाई खानेपानीको समस्या भएको छ । मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले लगेको बुझिएको छ । पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई रु दुई हजार ५०० का दरले ती व्यक्तिको जिम्मा लगाएको र उनीहरुले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको उपप्रमुख सरस्वती कोलीले जानकारी दिए । उनले भने, बाटामा कतै नछाड्ने शर्तमा उनीहरुले गाई लगेका हुन् ।

पानीको मुहानमा मृतावस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यसतर्फ जाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालयका पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । गाईको हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, प्रहरी टोली जाँदैछ, अनुसन्धान गर्छौं, हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुन्छ ।रासस