
ललितपुर। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य तोकेको छ। किसानले उत्पादन गर्दा लाग्ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ।
गत सोमबार परेको राष्ट्रिय कफी दिवसको अवसरमा बोर्डले नयाँ मूल्य कायम गरेको हो। बोर्डले कृषकबाट उत्पादित ताजा फल (फ्रेस चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को ८० रुपैयाँ तोकेको हो । यस्तै, ‘ए ग्रेड’ पार्चमेन्ट प्रशोधित कफीको प्रतिकिलो मूल्य ४५० रुपैयाँ तोकिएको छ भने ‘बी ग्रेड’ पार्चमेन्ट कफीको प्रतिकिलो मूल्य ३९७ रुपैयाँ कायम भएको छ ।
बोर्डले चिसो प्रशोधन विधिबाट १२ देखि २४ घण्टाभित्र प्रशोधन गर्न नसकिएको ‘बी ग्रेड’ को कफीको मूल्य भने १४८ र ‘बी ग्रेड’ कफीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकेको छ । ‘ए ग्रेड’ चेरीको मूल्य गत वर्षभन्दा प्रतिकिलो ५ रुपैयाँ र प्रशोधित ‘ए ग्रेड’ को कफीको मूल्य भने गत वर्षभन्दा प्रतिकिलो २५ रुपैयाँले बढेको बोर्डले जनाएको छ । कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२.५ प्रतिशत मुनाफा निश्चित गरेर कफीको नयाँ न्यूनतम् मूल्य तोकिएको बोर्डले जनाएको छ ।
बोर्डले तोकेअनुसार प्रांगारिक पद्धतिबाट उत्पादन गरिएको, ठिक्क पाकेको पानीमा राख्दा डुब्ने, केलाएर राखिएको तथा चिसो प्रशोधन विधिअन्तर्गत तयार गरिएको ११ प्रतिशत चिस्यान भएको पार्चमेन्ट कफीलाई ‘ए ग्रेड’ मानिएको छ । यसमा नपरेको, चिसो प्रसोधन विधिबाट १२ देखि २४ घण्टा भित्र प्रशोधन गर्न नसकिएको कफी चेरीलाई घाम वा अन्य माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राइ चेरीबाट तयार गरिने कफीलाई ‘बी ग्रेड’ भनेर बोर्डले तोकेको छ । मुलुकमा समुद्र सतहबाट ८०० मिटरदेखि १६०० मिटरको उचाइमा खेती हुने अरबिका कफी संसारभर पाइने कफीका प्रमुख चार प्रकारमध्ये उच्च गुणस्तरको मानिन्छ ।
बोर्डका अनुसार मुलुकभर ४३ जिल्लामा कफी खेती विस्तार भएको छ । देशभित्र तथा बाहिर गरेर करिब १४ हजार मेट्रिक टन स्वदेशी कफीको माग हुँदै आएको बोर्डले जनाएको छ । गत वर्ष नेपालमा ११ करोड ८८ लाख बराबरको २६६ टन कफी आयात भएको थियो भने नेपालबाट ५ करोड ७७ लाख रुपैयाँ बराबरको ४६.८९ टन कफी विभिन्न मुलुक निर्यात भएको थियो ।