नेपाल एक कृषिप्रधान मुलुक हो जहाँ लगभग ६७% जनसंख्या कृषि खेतिपातिमा आधारित छन्। नेपालमा कृषिमा आधुनिक तथा व्यवसायिक तवरले विकास हुदा झन्डै दुई तिहाई जनसंख्याको जिवनस्तर राम्रो हुन सक्छ। बिगतका केहि वर्ष यता कृषिमा आत्मनिर्भर जनसंख्या घटेको , खेतीयोग्य जमिनको प्लटिङ्गमा रुपान्तरण बढेको, बाझो जग्गाहरु बढेको तथा युवाहरु विदेश , सरकारी जागिर, व्यवसाय, मजदुरी जस्ता पेशा तिर बढी आकर्षित भएको देख्न सकिन्छ। जसको कारण कृषि बालीमा २०७५|२०७६ मंसिर सम्मको तथ्यांक अनुसार मात्र ३ अर्बको निर्यात हुदा साढे २७ अर्बको आयात गर्नुपर्ने अवस्था देखिन्छ। बिगत ६ वर्ष यता भुकम्प , नाकाबन्दी र कोरोना जस्ता बिपदहरु ले पर निर्भरतालाई न्युनिकरण गर्दै आत्म निर्भर तर्फ बढ्नुपर्ने पाठ सिकाएको छ। बिदेश बाट पठाएको रेमिटेन्सले मात्र देशको अर्थतन्त्र धान्न सक्दैन र स्वदेशको माटोलाई माया गरेर सुन फलाउन सकेमात्र अर्थतन्त्र बलियो बन्नेछ। कृषिलाई आधुनिकरण ,व्यवसायिकरण तर्फ बढाउन स्थानिय र राष्ट्रिय तहले कृषिमा लगानी बढाउनु पर्ने हुन्छ र त्यसका लागि आवश्यक नीति सङ्गै दक्ष जनशक्ति हुनै पर्छ। सेवा र सुविधाका लागि युवाहरु ग्रामीण क्षेत्र बाट शहर तर्फ जाने क्रम रोक्न गाउँमा शिक्षा , स्वास्थ्य र उनिहरुलाई लाभदायक कृषी नीति विकास गर्न आवश्यक छ।

जनसंख्या दिनानु दिन बढ्दो क्रममा छ तर खेतीयोग्य जमिन भने स्थिर रहन्छ , झन घटिरहेको अवस्था छ। यसरी हेर्दा कृषिमा उत्पादकत्व बढाउनु पर्ने देखिन्छ । कृषिमा उत्पादन बढाउन , मनग्य आम्दानी लिन अत्यन्त आवश्यक एउटा तत्व गुणस्तरीय बीउ पनि हो। जग बलियो बनाउन सके घर पनि बलियो भए जस्तै गुणस्तरीय ,स्वस्थ तथा उत्पादनशील बीउ रोप्दा गुणस्तरीय र स्वस्थ बालिनालीको उच्च उत्पादन लिन सकिन्छ। नेपालको लागि चाहिने बीउ नेपालमै उत्पादन हुन नसक्दा वर्षेनी ठूलो मात्रामा बीउ नेपाल भित्रिने र नेपालको अर्थ बाहिरिने गरेको छ। गत वर्ष मात्रै दुई हजार सात सय असी मेटृक टन धानको बीउ नेपाल आयात गरिएको थियो जुन रकमान्तर गर्दा ९० करोड १९ लाख ७२ हजार ७ सय १८ हुन्छ । त्यसै गरि गत आर्थिक वर्षमा १३ सय ८५ मेट्रिक टन मकैको बीउ नेपाल भित्रीएको थियो भने आर्थिक वर्ष २०७२-७३ मा नौ सय मेटृक टन मकै को बीउ नेपाल भितृएको थियो। यसरी हेर्दा नेपालमा बीउमा पर निर्भरता अझ बढ्दो क्रममा रहेको देखिन्छ। स्वदेश को उत्पादन र बाहिर बाट बीउ आयात गर्दा पनि किसानहरुले बीउ पाउन सकेका छैनन , पाए पनि प्रयाप्त मात्रामा पाएका छैनन र बीउ रोप्ने समयमा पाएका छैनन।

किसानहरु परम्परागत जातका बालीहरु बाट कम उत्पादन हुने र रोगप्रतिरोधक क्षमता कम हुने कारण चाहेजती फाइदा लिन सकिरहेका छैनन। कृषिमा उत्पादन वृद्धि गर्न उन्नत जातका बाली , विकासे वालिहरु लगाउनु आवश्यक छ तर किसानहरु उन्नत जातका बीउहरुको पहुँच बाट टाढा छन। कति किसानहरु नया तथा उत्पादन क्षमता धेरै हुने उन्नत जातका बीउहरु बारे अनभिज्ञ रहेको पाइन्छ र रैथाने बीउ हरुमै सिमित रहेका हुन्छन। सरकार द्वारा प्रदान गरिने अनुदान खेतबारिमा पसिना बगाउने वास्तविक किसानले पाउदैनन तर पावरको आडमा नामका मात्र किसानहरुले पाउने गरेको देखिन्छ।

किसानहरुको मेहनत र पसिनाले उब्जिएको कृषि उपजको नाफा किसानलाई नभै बिचौलिया हरुलाइ हुने खालको कमजोर कृषि नीति हुनु पनि प्रमुख समस्या रहेको छ। खाद्य बाली तथा बीउबिजन उत्पादक किसान हरु न्युन बजार मूल्य तथा कमजोर बजारिकरण जस्ता समस्याको चपेटामा पर्ने गरेका छन। कतिपय रैथाने जातका बाली हरु अनुकुल वातावरणमा निकै राम्रो उत्पादन दिने र रोगप्रतिरोधि हुने गर्छन। तर रैथाने जातका बीउहरु बिस्तारै लोप हुँदै गैरहेको देखिन्छ र ती जातका बीउ हरु समेत विदेश बाट मगाउनु पर्ने अवस्था छ। नेपालको रैथाने बाली फापरको बीउ पनि रसियाबाट मगाउनु परेको थियो। विभिन्न बालिनाली र बीउ हरुमा रोगहरु तथा किराहरु लागेर किसानहरु नोक्सानी बेहोरिरहेका हुन्छन।

बीउ क्षेत्रमा रहेका समस्याहरुका समाधानका उपायहरु :
१. सरकार तथा स्थानीय तहले, सिफारिस गरिएका उन्नत जातका बीउहरु सिफारिस क्षेत्रमा समयमै वितरण गर्ने व्यवस्था मिलाउने।
२. खेतियोग्य जमिन बाझो नराखने खालको , किसानको हित र प्रोत्साहन गर्ने खालको कृषि निति निर्माण गर्नु पर्छ ।

३. बीउ उत्पादक कृषकहरु लाई प्रोत्साहन स्वरुप अनुदान, सहज बजारिकरणको व्यवस्था तथा उचित मूल्य निर्धारण र सो को कार्यान्वयन गर्ने।

४. बीउमा आत्मनिर्भर बन्न उन्नत जातका तथा रोगप्रतिरोधात्मक क्षमता भएका जातका बीउ हरु विकास गर्न सरकारी तथा गैरसरकारी निकायहरुले समन्वय गरेर अघि बढ्ने।।
५. हरेक स्थानीय तहमा बीउ बैंकको स्थापना गरेर परम्परागत रैथाने बालीका बीउ हरु संरक्षण गर्ने। यसले गर्दा जैविक विविधताको संरक्षण पनि हुने गर्दछ। ती रैथाने बाली हरुको उत्पादन वृद्धि गर्न आधुनिक प्रविधि ,सीप , बजार तथा अनुसन्धानमा जोड दिनुपर्छ।

६. विभिन्न प्रकारका हानिकारक किरा तथा रोग हरुले क्षति पुर्याउने बाली, खेतबारी तथा रोग किरा ग्रस्त क्षेत्रमा उपचार गरिएका बीउहरु उपलब्ध गराउने अथवा कृषक हरुलाइ प्राविधिक हरुले उपचार विधि सिकाउने। जस्तै:
गहुँ ,जौ बालिमा लाग्ने डढुवा रोग, धर्से रोग, कालो पोके रोगका लागि भाइटाभेक्स-२०० विषादी २ ग्राम प्रती किलो बीउका दरले उपचार गरेर बीउ छर्ने।

अत: नेपालमा बीउ क्षेत्रमा थुप्रै समस्याहरु रहेका छन तर पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन। वर्षेनी बीउको आयातमा करोडौ अर्थ बिदेशीने गरेको छ तर पनि किसानहरुले समयमै भने जती बीउ पाएका छैनन। कृषिमा आत्मनिर्भर हुनसके देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्नेछ र कृषि क्षेत्रमा विकास गर्न बीउको गुणस्तर , उत्पादनशीलता तथा समग्र बीउ क्षेत्रमा विकास गरिनुपर्छ ।