
भजनी। अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए ।
विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुन् । त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा भूमिगत भए । गाउँसंँगै जोडिएको कैलाशखोलाको किनारमा आमाबुवाले सञ्चालन गरेको चिया पसल त्यसबेलाको दैनिक गुजारा गर्ने एक माध्यम भए पनि घरबाट चारजना माओवादीमा गएपछि तत्कालीन नेपाली सेनाले त्यहाँ उनको परिवारलाई रहन खान दिएन । कैयौँपटक ललितको बुवाले सेनाबाट कुटाइ खानुपर्यो भने आमाले तिरस्कार सहनुपर्यो । त्यति मात्र नभई पसल तोडफोडका साथै भएको सामानसमेत सेनाले लिएको ललित बताउँछन् ।
“गर्यौं भने असम्भव केही पनि छैन । म जनयुद्धदेखि अहिलेको व्यवसायसम्म कतै असफल भइनँ”, ललितले भने, “धैर्य र इमानदारी पहिलो कुरा हो, जहाँ धैर्य र इमान्दारी हुन्छ, त्यहाँ सफल भइन्छ ।” उनले विसं २०६९ बाट व्यावसायिक भैँसीपालन शुरु गरे । दुईवटा थारो भैँसीबाट शुरु गरेको उनले एकपछि अर्को क्षेत्रलाई जोड्दै गएको बताए । उनले दुई भैँसी किनेसंँगै तीन महिना जेटिए भेटेरेनरीको तालिम लिए । सस्तोमा किनेका थारो ब्याउने भए । त्यसपछि उनले थारो भैँसी किन्ने र त्यसको आवश्यक उपचार गरी ब्याउने भएपछि महङ्गोमा बेच्ने अभियान नै थाले । त्यसबाट सफलता हासिल गरेका थापाले मासुका लागि पाडा उत्पादन शुरु गरे । उनले सफा मासुका लागि भन्दै १०० भन्दा बढी पाडा सङ्कलन गरी बिक्रीसमेत गरे ।
दुई थारो भैँसीबाट शुरु गरेको व्यवसाय बढाउँदै उनले ४० वटा दुहुनो भैँसीसम्म पुर्याए । थापाले भैँसीको नश्ल सुधारका लागि भन्दै भारतको पलियाबाट उन्नत जातको राँगासमेत भित्र्याए । “म यति गर्दा पनि सन्तुष्ट हुन सकिनँ, एकपछि अर्को क्षेत्रलाई अँगाल्दै गएँ । मेहेनत र धैर्य महत्वपूर्ण हुँदोरहेछ”, थापाले भने, “त्यही मेहेनतले जनयुद्धका कैयौँ लडाइँ हुँदै अहिले व्यावसायिक कृषिमा समेत सफलता प्राप्त गरेको छु ।”
रक्सी होइन, दूध खाऔँ अभियान :
ललित थापाले व्यावसायिक कृषिसँगै आफ्नो राजनीतिक यात्रालाई समेत अगाडि बढाउँदै जाँदा उनले स्थानीय नागरिकहरूसँगको संवादमा जहिले पनि रक्सीको विरोध गरे । कृषि क्षेत्रबाटै समृद्धि देखेका थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समेत जनतामाझ जाँदा रक्सी होइन, दूध खाऔँ भन्ने एजेण्डालाई पनि साथमा लगेको बताउँछन् । व्यावसायिक भैँसीपालनसँगै स्थानीयस्तरमै आत्मनिर्भरका लागि थुप्रै सम्भावना रहेको बताउँदै थापाले त्यसमा सरकारको नारा भने कागजमा मात्र सीमित रहेको बताए ।
सात बिघा जग्गा भाडामा लिएर भैँसीपालनसँगै थापाले केराखेती र घाँसखेतीसमेत गर्दै आएका छन् । उनले एक बिघा क्षेत्रफलमा केराखेती गरेका छन् भने त्यति नै घाँसखेती गरेका छन् । घाँसको बीउ उत्पादन गरी अन्य किसानलाई बजार भाउभन्दा रु १० प्रतिकिलो सस्तोमा बिक्री गर्दै आएको थापा बताउँछन् ।
गड्यौला मल उत्पादन शुरु :
थापाले दुई वर्षदेखि गड्यौला मल उत्पादन शुरु गरेका छन् । उनले काठमाडौंदेखि २० केजी गड्यौला ल्याएर स्थानीयस्तरमै गड्यौला मलको उत्पादन शुरु गरेकाछन् । प्रतिकिलो रु दुई हजार २०० मा गड्यौला खरिद गरी व्यावसायिक मल उत्पादन शुरु गरेका थापाले ३५ केजी गड्यौला उत्पादन गरेर पनि सोही दरमा अन्य किसानलाई बिक्री गरिसकेको छन् ।
“सरकारले मल आयातमा किसानको माग पूरा गर्न सकेको छैन । त्यसमा पनि किसान रासायनिक मलमै आश्रित रहेको देखेर मैले गड्यौला मल उत्पादन शुरु गरेको हुँ”, थापाले भने, “जैविक उत्पादनका लागि गड्यौला मल सबैभन्दा उत्तम छ । अहिले खाने प्रत्येक खानासँग हामीले विष खाइरहेका छौँ । मेरो अर्को अभियान हो, किसानलाई रासायनिक मलमा नभई प्राङ्गारिक अर्थात् गड्यौला मल प्रयोग गराउने ।” उनले यो सिजनमा मात्रै १०० क्विन्टलभन्दा बढी गड्यौला मल बिक्री गरेको बताए । थापाले बजार र किसानको मागलाई अझै पूर्ति गर्न नसकेको बताउँदै व्यावसायिकरूपमा गड्यौला मल उत्पादनको मात्रा बढाउने बताए । थापासँग उनको परिवार र अन्य दुई जनाले रोजगारीसमेत पाएका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको कैलाली जिल्ला उपाध्यक्षसमेत भइसकेका थापा टीकापुर नगरपालिकाको प्रमुखको उम्मेदवारीमा करिब ३५० मतले पराजित भएका थिए । त्यसपश्चात तत्कालीन माओवादी र एमालेको एकतापछि राजनीतिक सङ्गठनमा आबद्ध नभएको बताउँदै थापाले वर्तमान सरकारले जनताको आवश्यकतालाई पूर्ति गर्न नसक्ने भन्दै १० वर्षे जनयुद्धको मूल मर्म अहिले सत्तामा गएकाहरूले बिर्सेको बताए ।
“हामीले जनयुद्ध राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुमात्र थिएन”, थापाले भने, “यी दुई कुरा भए पनि जनयुद्धका घाइते, अपाङ्ग, शहीद, वेपत्ताले देखेको सपना तत्कालीन माओवादीले पूरा गर्न सकेन । त्यसैको परिणाम अझै पनि एक पक्षले अर्को क्रान्तिको सपना देखेको छ । त्यो वास्तविक पनि हो ।” रासस