यति वेला गाऊँ घरमा कामको चटारो छ । गाउँमा गोरेटाहरु खचाखच अनि साँघुरा भएका छन् । बाटोमा परालको भारी बोक्ने र धानको थैलो बोक्नेको ताँती लागेको छ । केटा केटीहरु रमाइरहेका छन् । खुसी देखिन्छन् किनकी स्कुल जानुपरेको छैन ।
गाउँका पाखाहरुमा कोदोको बालाले किसानको बाटो कुरिरहेको छ । फाटमा असोजे मास उखेलीएको छ भने कात्तिके मासको कोषाले किसानसंग आँखा जुदाइरहेको छ र भनि रहेको छ चाँडो तिम्रो हत्केलाका स्पर्श पाउँ । यता बेसीमा धानको बाला लह लह झुलिरहेको छ । कतै धानको पाँजा फिजाइएका छन् त कतै कुहिनयो अनि दाँइको मेसोमेलो चलिरहेको छ । दमेराहरु खलोको धानको अड्कल बाजी गरिरहेका छन् । घरधनी ती माईली आमालाई विहानको खाजा खाना र पराल बोक्ने खेतला खोज्ने अनि भरेका लागि २–४ बोतल घरपालुवा अनि शिकार बनाउनका लागि जुटिरहेकी छिन् । वर्ष भरि खान पुग्ने अन्न भित्राउन पाउँदा ढङ्ग छिन् ।

यता यो कोरोनाको कहरमा ने.क.पा.को अध्यक्षद्धय विच टकराप केन्द्रिय कमिटी बैठक मङिसरका स¥यो, सिटौला पक्षले रामचन्द्रलाई असमर्थन ग¥यो, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार यति सङक्रमण र यतिको मृत्यु भयो, यस्तै यस्तै खबर आइरहेका छन् । के यही हो प्रमुख समाचार अनि अखबार, की कसो हो सिंह दरबार ? उत्पादन र आम्दानीमा वृद्धि हुने गरी लक्षित कार्यक्रम तर्जुमा गरी स्थानीय तहसम्म पुग्नुपर्छ कि पर्दैन ?

पत्रकार, लेखक, बुद्धिजिवी INGO, NGO का अफिसहरु, कार्यालयका हाकिमहरु, प्राध्यापक अनि राजनीतिकर्मी सबै सबै बौद्धिक वर्गको बसाई सहरमा हुन्छ । सम्पूर्ण बौद्धिक वर्गमा कम्तिमा पनि गाउँ गाउँका अवस्था अनि कृषक किसानको मर्मसंग जोडिएर हेर्नुहोस भन्ने मेरो अनुरोध छ । यसरी लेखियोस्, बोलियोस् अनि गरियोस् कि जसले उत्पादन र आम्दानीमा जोडिनु पर्छ भन्ने कुरा युवा युवाको मथिङ्गलमा हुटहुटी चलाओस्, भोक जागोस्, काम गर्दै गरेकाहरु प्रति आत्मसन्तुष्टी मिलोस् ।

झन्डै १८% कृषि भुमिमा ६६% कृषि भएको छ र देशमा करिब दुई तिहाई जनसङ्ख्या रोजगारी तथा जीविकाको लागि कृषि क्षेत्रमा निर्भर रहेको भन्ने तथ्याङ्क भेटिएता पनि कुल ग्राहस्र्थ उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइ मात्र छ । एउटा किसान कृषि गर्छ र पनि आफ्नो गुजारा मात्र चलेको हुन्छ । निर्वाहमुखी भनौँ भने पनि परिवारको निर्वाह चल्दैन । कहिले सडकमा दुध पोख्नु त कहिल गोलभेंडा । ब्रोइलर कुखुराको किसानले व्यहोर्नु परेको घाटा नोक्सानी त्यसको मर्म एउटा कुखुरा पालकलाई मात्र थाहा हुन्छ । अहिले गाउँघरका सयपत्री समेत त्यसै सुकेर जाने अवस्था छ, गाउँका किसानको आलुले भाउ पाउदैन । यी यावद कृषि तथा पशुपालन उत्पादनमा वास्तविक किसान मारमा परेको र विचौलीया मोटाउने काम मात्र भएको छ । के तीनै तहको सरकारबाट यो विचौलीयाको अन्त्य हुने गरी कार्ययोजना अगाडि बढाउनु असम्भव छ ?

जब ठूल्ठुला हलहरुमा पाटीका कार्यक्रम हुन्छन् अनि भनिन्छ प्रतिदिन १५०० नेपाली वैदेशिक रोजगारका निम्ति जहाज चढ्छन् । यो क्रम रोक्नुपर्छ र स्वदेशमै उत्पादनमा जोडिनुपर्छ र देशलाई आत्मनिर्भर बनाउनुपर्छ लगायतका कुरा आउँछ । एउटा साना व्यवसायिक कृषि तथा पशुपालन गरेको किसान आत्मनिर्भर हुन नसकेको खण्डमा कसरी देश आत्मनिर्भर हुन्छ । नेपाल कृषि प्रधान देश हो भन्दै गर्दा गैर किसानले ओगटेको ठूलो जमिनको हिस्सा बाझैँ पल्टेर घडेरी बनेर बस्दा हामी कसरी आत्मनिर्भर हुन सक्छौँ । वास्तविक किसान जो हातमा ठेला उठाएर, औँलामा काडा विझाएर, नङमा माटो गाडेर, धाजा परेका पैताला लिएर, शिरदेवी पाउसम्म पसिनामा डुबेर काम गर्छ र उत्पादन गर्छ, तीनीहरुलाइै अझै कृषियोग्य जमिनको खाँचो छ । त्यसकारण वास्तविक किसानको हातमा जमिन नहुने र गैर किसानको हातमा असिमित घडेरी एवं खाली तारवार गरिने अवस्थाले कृषि क्षेत्रकै समुचित विकासको बाधक बनेको प्रष्ट छ ।

भलै कृषि सामग्रीको कमि, यातायातको असुविधा, सिँचाई सुविधाको कमि, परम्परागत खेती प्रणाली, आवश्यक तालिमको अभावका बावजुद पनि पछिल्लो अवस्थामा विदेशिएका युवाहरु ज्ञान, सिप, पूँजी, नयाँ जोस, जागँर, उत्साहकासाथ उन्नत प्रविधि सहित भविष्य खोज्दै छन् । उनीहरु कृषि क्षेत्रमा आकर्षित हुँदै जानु, कृषि र उत्पादन क्षेत्र कै अवसरहरु हुन् । स्वदेशमै रहेर विभिन्न विषयमा आफ्नो अध्ययन पुरा गरी कृषि पेशालाई अंगाल्नु एक सकारात्मक पक्ष हो ।

गाउँ गाउँका भिर पाखा अनि बाझों जमिनमा उचित खेती गरे विज्ञ केन्द्रले अनुदान दिनु खुसीको कुरा हो । कृषि तथा पशुपालनमा सरकारले दिने धेर थोर अनुदानले कहिँ कतै कृषकलाई प्राथमिक उपचारको रुपमा काम गरिरहको छ । अनुदानमा पनि राजनीतिक कार्यकर्ता, कर्मचारीको आसेपासे भनसुन चल्दो रहेछ भन्ने वास्तविक किसानलाई थाहा हुन्छ । जुन वास्तविक किसान मरिमेटी उत्पादन प्रति समर्पित छ, उसलाई थप न्यास्रो बनाउछ । अर्को कुरा अनुदान भनेको कृषकले दिर्घकालिन समस्याको अल्पकालिन समाधान हो । यदि किसानको हितमा सरकार छ भने अनुदान होइन उत्पादनको बजार व्यवस्थापन हुनुपर्दछ । सहुलियत कर्जा कृषि पेशालाई यहाँ भन्दा ठूलो अर्को सम्मान हुन सक्दैन ।

राजनीतिक, आर्थिक, धार्मिक, शैक्षिक क्रान्ति निरन्तर छन् । अब कृषि क्रान्तिको शुरुवात गर्नुपर्दछ । धेरै क्रान्तिको धेरै ठूलो क्रान्तिको जिम्मा युवा पुस्तामा छ । सायद नेपालको क्रान्तिको इतिहासमा यति महत्वपूर्ण गुण कहिल्यै पनि आएको थिएन, जुन अहिलेको युवा माझ आएको छ । उत्पादन र आम्दानीमा जागौं, लागौं अबको क्रान्ति कृषि क्रान्ति !!!

(लेखक विद्यार्थी नेता एवं विश्वलक्ष्मी एग्रो फर्मका सञ्चालक हुन् ।)