
ललितपुर। नेपाल सयपत्री फूलमा आत्मनिर्भर बन्दै गरेको सरोकारवालाले दाबी गरेका छन् । तिहारमा खपत हुने सयपत्री फूलको माग नेपाली उत्पादनले धान्न सक्ने भन्दै आयातलाई निरुत्साहित गर्नुपर्ने व्यवसायीको भनाइ छ ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले कृषक, व्यवसायी, सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट सयपत्री फूलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको दाबी गरे ।
सरकारले जारी गरेको पुष्प प्रवद्र्धन नीति, पुष्प महोत्सवमा सहयोग, सयपत्री फूल खेती प्रवर्द्धनजस्ता कार्यक्रमका कारण आत्मनिर्भरमा सहयोग पुगेको बताउँदै उनले पूर्ण आत्मनिर्भरताका लागि साना किसानमार्फत देशैभरि सयपत्री फूलको खेती विस्तारमा जोड दिनुपर्ने बताए ।
फूलको अध्ययन अनुसन्धानका लागि भने व्यवसायीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)सँग सहकार्य गर्नुपर्ने उनको सुझाव थियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले केन्द्रले नेपाली किसानलाई प्रोत्साहन गर्न आयातलाई रोक्ने प्रयास गरिरहेको दाबी गरे ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिहरूको पालना गर्दै अवैधानिक रूपमा भित्रिएको फूललाई रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भित्र्याउन खोज्नेलाई कारबाही गरिएको हुमागाईंले बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा भारतबाट झिलिमिली पार्ने कृत्रिम फूल आउने गर्दा नेपाली किसानको फूललाई विस्थापित गर्ने विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत परिषद्का उपाध्यक्ष लोकनाथ गैरेले फूलमा आत्मनिर्भर अवस्थामा रहेकाले आयातित फूललाई निरुत्साहित गर्नुपर्ने बताए ।
निरन्तरको प्रयासपछि फूल आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क अतिरिक्त शुल्क गरी १० प्रतिशत राजस्व लिने व्यवस्था गरेको उनले बताए ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजू श्रेष्ठले विगतमा भारतबाट पनि सयपत्री फूल आयात हुने गरेकामा यस वर्षको तिहारमा स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग हुने बताए ।
यस वर्षको तिहारमा सयपत्री १२ लाख र मखमली तीन लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने भन्दै स्वदेशी उत्पादनले नै धान्ने उनले बताए । हाल देशका ३२ जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको उनले बताए ।