
स्याङ्जा। झण्डै तीन दर्जन गीत गाइसकेका दीपक भट्टराई सङ्गीतमा जस्तै कृषिमा पनि उत्तिकै रमाएका छन् । स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ७, मिर्मी फाँटका दीपक “सुरुवात आँफैबाट गरौं, परिवर्तन सम्भव छ” भन्ने नारा सहित कृषि पेशामा लागेका छन् । माईक समातेर गीत गाउँदै हिड्ने मान्छे कृषिमा लागेर के गर्नसक्ला र भन्नेहरुका लागि दीपकले बाख्रा र कुखुरा पालेर गतिलो जवाफ दिएका छन् । दुईवर्ष अघि तरकारीखेतिबाट कृषिमा हात हालेका दीपकले असिना र मौसम प्रतिकुलताका कारण पहिलो पाइलामै घाटा खानुप¥यो । तरकारीबाट उत्पादन लिन नसकेपछि छिमेकीले अब यसले गर्दैन, फेरि माइक समातेर गीतै गाउन जान्छ भन्न थाले । तर कृषिमा अवसर धेरै छ, तरकारीबाट नभए बाख्रा पाल्छु, कुखुरा पाल्छु भन्ने अठोट गरे ।
एघार वर्ष गीतसङ्गीतमा विताएका दीपक अहिले आफ्नै गाउँ मिर्मी फाँटमा कलाकार आधुनिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरेर उदाहरणीय बनेका छन् । उनको फर्ममा चौविसै घण्टा लोकदोहोरीका भाका तथा धुनहरु गुञ्जिरहेका हुन्छन् । दीपकको फर्ममा संगीतको धुनसँगै बाख्रा, लोकल कुखुरा र टर्की खेलिरहेको देख्दा साच्चै रमाइलो र मनै लोभ्याउँछ ।
घरमा भएका दुइवटा माउबाट थालनी गरेर अहिले १५ वटा माउ बाख्रा भैसकेको छ भने पाठा पाठी सहित पचास वटा पुगिसकेका छन् । स्थानीय खरी बाख्रालाई जमुनापारीको बीउ बोका लगाएर विस्तार गर्दै आएँ । अहिले बोर बोका ल्याएको छु, यसका लागि गाउँपालिकाले गरेको सहयोगबाट थप हौसला मिलेको दीपकले सुनाए ।
पैसा कमाउनका लागि विदेश जाने विचार कहिल्यै आएन, जे गर्छु यहिँ गर्छु भनेर पहिला देखि नै लागेको हो । परिश्रम गरे अनुसार बाख्राको वृद्धि विकास पनि राम्रो भएको छ, केहि गर्न सक्छु भन्ने दीपकको आत्मविश्वास छ । अहिलेसम्म आफू एक्लै काम गर्दै आएको छु, भोलिका दिनमा आवस्यक परे सहयोगीको व्यवस्था गरौंला भन्ने छ । क्रमशः बढाउँदै जाने योजना छ, विक्रिका लागि समस्या छैन, उत्पादन हुनुप¥यो खपत भैहाल्छ दीपकले बताए ।
केहि समय अगाडि नपढेका, अरु केहि काम नजान्ने र नगर्नेले गीत गाउने हो भन्ने समाजको बुझाई थियो तर विस्तारै चेतनाको विकास र गीत संगीतको महत्व बढेपछि बल्ल सम्मान गर्न थालियो भने कृषिमा पनि त्यस्तै रहेको दीपकको बुझाई छ । बाउबाजेले पनि यसैगरी गरेका हुन् मैलेपनि त्यसैगरी गरे हुन्छ भन्ने हो भने कहिल्यै प्रगति हुँदैन । उपलव्ध प्रविधिको प्रयोग गरेर काम गर्ने हो भने कृषि पेशामा अब धेरै राम्रो छ ।
अरुले यो भन्ला कि त्यो भन्ला भनेर सोंच्ने, लाज मान्ने, डराउने हो भने कहिल्यै र कुनै काममा पनि सफल हुन सकिदैन । दीपक भन्छन्—अरुको बाख्रा कुखुराको फर्म हेरेर आहा मैले पनि गर्छु भन्ने होइन, उसले कसरी सुरु गरेको हो, कतिबाट र कुन अवस्थाबाट थालेको हो भनेर अध्ययन गरिदैन भने हामीमा मुख्य कमजोरी भनेको यहि हो । एक दुइ वटाबाट सुरु गर्नुस, सफल भइन्छ, एकैचोटी ठूलो लगानी गरेर छिट्टै कमाउन खोज्दा विग्रिन पनि सक्छ ।
आफूले गरेको कामबाट अर्कोले पनि सिकोस भन्ने उद्देश्यले पनि फर्म सञ्चालन गरेको हो । आफूले सुरु गरेपछि विदेश जान पर्दो रहेन छ, कृषि पेशा गरेर यहिँ कमाई गर्न सकिदो रहेछ भन्ने युवाहरुमा पर्न थालेको दीपकले सुनाए । उनि भन्छन्—कोरियामा कृषि पेशा गर्नेलाई उच्च सम्मान गर्छन् भन्ने देखेका र भोगेका युवाहरुले पनि यहाँ आएर अब सुखसँग बस्ने हो केहि गर्ने होइन भनेर बसेको देख्दा अचम्म लाग्छ । पेशा र कामलाई जहिलेसम्म हामीले सम्मान गर्न सक्दैनौ, तबसम्म हामी कहिल्यै सफल हुन सक्दैनौं ।
कृषकलाई दिइने अनुदानका सम्बन्धमा उनि भन्छन्—मैले अनुदान पाउनुपर्छ भन्ने होइन, मैले काम गर्नुपर्छ भनेर लाग्नुपर्छ । काम गरेर देखाउन सक्नुपर्छ, फलानाले राम्रो गरेको रहेछ, यसलाई थप प्रोत्साहनका लागि अनुदान दिनुपर्छ है भनेर पाइयो भने बल्ल आफूलाई पनि काम गरेको मजा आउँने दीपकको बुझाई छ । अनुदानका लागि भनेर काम गर्ने होइन, आफू सन्तुष्ट हुन गर्ने हो । कामको आधारमा र अरु युवाहरुलाई पनि काम गर्नुपर्दोरहेछ भन्ने सन्देश पुग्नेगरी अनुदान दिनुपर्छ । गाउँपालिकाले बीउ तथा बिरुवा उपलव्ध गराएर किसानहरुलाई सजिलो भएको पनि दीपकले बताए । व्यवसायमा एक दुइ वर्ष कमाइ खोज्न हुँदैन,त्यसपछि आम्दानी सुरु हुन्छ । आफूले पनि त्यहि अनुसार गरेको र बाख्रा तथा कुखुराबाट महिनाको एक लाखसम्म कमाई गर्ने उनको लक्ष्य छ भने अब बङ्गुर पनि थप्ने उनको योजना छ । आफूले सुरु गरेपछि छिमेकिहरुमा पनि गरे हुँदो रहेछ है भन्ने परेको छ । अहिले एउटा माउ पाल्नेले दुइ वटा र दुइ वटा पाल्नेले चारवटा पाल्न थालेको दीपकले बताए ।