वानस्पतिक हिसाबले परिभाषित गर्दा बीउलाई एउटा परिपक्व अण्ड भनिन्छ । बीउ एक आफ्नो जातीय (वंशानुगत) अस्तित्व कायम राख्ने तथा आफ्नो जीवन संरक्षण गर्ने साधन हो । धेरैले बीउलाई विरुवाको सन्तान उत्पतिको साधन हो भन्दै परिभाषित गरेका छन् । बीउ जीवित हो त्यसैले रोप्दा उम्रने हुनु पर्दछ । सबै बीउ अन्न/दाना हुन सक्छ तर सबै अन्न वा दाना बीउ हुन सक्दैन र सबै बीउहरु गुणस्तरीय नहुन पनि सक्छन् ।

उत्पादनको सबैभन्दा आधारभूत तत्व बीउ हो । उत्पादनको चरणमा अन्य सबै कर्महरु राम्रोसँग गरे पनि यदि हामीले बीउ गुणस्तरीय प्रयोग गर्न सकेनौँ भने हाम्रो उत्पादन र उत्पादकत्वमा वृद्धि हुन सक्दैन । त्यसैले बीउ छनोट गर्दै गर्दा त्यसको गुणस्तरीयतामा पनि ध्यान दिन आवश्यक हुन्छ । कुनै पनि जातको बीउ जसमा वंशाणुगत जातीय विशुद्धता,भौतिक शुद्धता, उपयुक्त चिस्यान , रोग खप्न वा सहन सक्ने जस्ता गुणहरु साथै स्वस्थ र राम्रो उम्रन सक्ने क्षमता रहेको हुन्छ , त्यस्तो बीउलाई गुणस्तरीय बीउ भनेर भनिन्छ । कृषक वर्ग जहिले पनि आफ्नो खेतबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न चाहन्छन् । कृषि उत्पादन कार्यमा धेरै संसाधनको प्रयोग भए तापनि यो केवल गुणस्तरीय बीउबिजनको प्रयोगबाट मात्र सम्भव छ । त्यसैकारण, कृषकले जुनसुकै स्रोतबाट बीउ बिजन खरिद वा बालीको बीउ उत्पादन गरे तापनि वा बीउ बिजन व्यावसायीले बिक्री वितरण गर्दा बीउ बिजनले तल उल्लेखित गुणहरु पूरा गरेको हुनु पर्दछ ।

क) जातीय शुद्धता :
बीउ उत्पादनको मुख्य ध्येय भविष्यमा प्रयोग गर्नु नै हो । त्यसैले बीउ बिजन जहिले पनि जातीय रुपमा शुद्ध हुनु पर्दछ । बाली प्रजनकले नयाँ जातको विकास गर्दा विशिष्टतापन, एकरुपतापन, स्थायित्वपन तथा खेती गर्न उपयोगी गुण कायम गर्न सक्नु पर्दछ ।

ख) भौतिक शुद्धता :
बीउबिजन जातीय रुपले शुद्ध हुनुका साथै भौतिक रुपले पनि शुद्ध हुनु पर्दछ । बीउको लटमा अन्य बालीको बीउ, झारपातको बीउ र अन्य निष्क्रिय पदार्थको सम्मिश्रणले बीउको गुणस्तर घटाई दिन्छ । त्यसैकारण गुणस्तरीय बीउमा यस्ता किसिमका अवान्छित तत्वहरु हुनु हुदैन वा भइ हाले पनि बीउको न्यूनतम गुणस्तरभित्र हुनु पर्दछ ।

ग) बीउको जीवितपन र उमारशक्ति :
बीउ बिजन पनि अन्य जीवित वस्तु जस्तै हो । त्यसकारण यसलाई उपयुक्त किसिमले संचय वा परिचालन गर्न नसकेमा छिट्टै ह्रास हुन्छ । बीउ बिजनको जीवितपन पनि बीउ बिजनको गुणस्तरका लागि एक महत्वपूर्ण पक्ष हो । त्यसैले बीउ बिजन जतिसक्दो राम्रो जीवितपन वा उमारशक्ति भएको हुनु पर्दछ , जसले स्वस्थ विरुवा उत्पादनका लागि राम्रो प्रतिफल दिन्छ ।

घ) ओजस :
प्रकृतिमा बीउ उम्रन तथा हुर्कनका लागि सबै ठाउँमा सधैँभरि एकनाशको वातावरण हुँदैन । त्यसैले बीउ बिजन त्यस्तो वातावरणमा उम्रदा वा बेर्ना तयार हुँदा त्यस बीउले देखाउने पूर्ण क्रियाकलाप र अभिनय लाई बीउको ओजस भनिन्छ । जुन बीउ बिजनले खेतबारीमा रोपेपछि राम्रो नतिजा दिन सक्छ त्यस्तो बीउलाई ओजस बढी भएको र राम्रो नतिजा नदेखाउनेलाई कम ओजस भएको बीउ भनिन्छ । कम ओजस भएको बीउले आशातीत उत्पादन र उत्पादकत्व दिन नसक्ने भएकाले हामीले सदैव बीउ छनोट गर्दा ओजस बढी भएको बीउ छान्नु पर्दछ ।

ङ) चिस्यान :
बीउको चिस्यान भन्नाले बीउमा भएको पानीको मात्रालाई बुझ्नु पर्दछ । बीउको गुणस्तर निर्धारण गर्न यसले एकदम महत्वपूर्ण भूमिका रहेको हुन्छ । अर्थाेडक्स बीउ जस्तै खाद्यान्न, तरकारी, तेलहन, दलहन आदिलाई कम चिस्यान भएको अवस्थामा संचय गरिराख्दा यसको गुणस्तर लामौ समयसम्म कायम गर्न सकिन्छ भने रिक्याल्सिटेन्ट बीउ जस्तै कफी, लिची आदिलाई २० प्रतिशतभन्दा बढी चिस्यानमा भण्डार गरी राख्दा यसको गुणस्तर लामो समयसम्म कायम गर्न सकिन्छ ।
अर्थाेडक्स बीउमा चिस्यानको मात्रा बढी भएमा बीउ भण्डारण गर्दा छिटो कुहिने, रोग किरा बढी लाग्ने बीउको आयु घट्दै जाने हुन्छ जसले गर्दा बीउको जीवितपन, उमारशक्ति, ओजसमा असर पर्दछ । त्यसैले बीउमा उचित मात्राभन्दा चिस्यान प्रतिशत बढी हुनु हुदैन ।

च) स्वास्थ्य :
बीउ बिजनको स्वास्थ्य भन्नाले बीउमा रोगको जीवाणु वा किराहरुको उपस्थिति वा अनुपस्थितिलाई जनाउँछ । बीउ बिजन स्वस्थ नभएमा बीउ नउम्रनुका साथै उम्रेको बिरुवाबाट पनि उत्पादन घट्दछ । त्यसैकारण बीउ बिजन जहिले पनि रोग वा किराहरुबाट मुक्त हुनु पर्दछ । यस्तो किसिमको समस्याबाट बच्न बाली चक्र प्रणालीमा हेरफेर, बीउ उपचार गर्नुको साथै रोगी प्लटबाट बीउ उत्पादन प्लटमा निश्चित पृथकता दुरी कायम गरी उत्पादन गर्न पर्दछ ।

छ) तौल :
बीउको तौल पनि बीउको गुणस्तरमा प्रभाव पार्ने एक महत्वपूर्ण तत्व हो । यसले बीउ कतिको भरिलो र पोटिलो छ भन्ने कुराको जानकारी दिन्छ । बीउको तौल खास गरेर १००० दाना बीउको आधारमा निकालिन्छ । बीउ उत्पादन वा बाली उत्पादकका लागि प्रयोग गरिने बीउ जहिले पनि प्रजनकले निर्धारण गरेको तौल अनुसार हुनु पर्दछ ।

ज) आकार तथा प्रकार : 
बीउ बिजन जहिले पनि एकनाशको आकार प्रकारको हुनु पर्दछ जसको कारण एकनाशको बिरुवा उत्पादन गरी राम्रो उत्पादन लिन सकिन्छ ।

उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि गुणस्तरीय बीउको प्रयोग गर्नु बाहेक अन्य विकल्प छैन र गुणस्तरीय बीउ हुनका लागि माथिका सबै गुणहरु हुनु पर्दछ । बीउ छनोट गर्दा ख्याल गरौँ , उत्पादन र उत्पादकत्व बढाऔँ ।