स्याङ्जा। ठूलो सपना बोकेर विदेश पुगेका स्याङ्जाका युवालाई आफनै माटोले स्वदेश फर्काएको छ । जति मेहनत गरेपनि भविष्यको कुनै ठेगान नभएपछि एक पछि अर्को गर्दै स्वदेश फर्कन थालेका हुन् । फर्किएका ती युवाहरु कृषि व्यवसाय अपनाएर उद्यमी बन्न थालेका छन् । यसैक्रममा वालिङ १० का रुक्मागत ढकाल पनि एक हुन् । रुक्मागतले विदेशबाट फर्के लगत्तै विगत तीन वर्षदेखि बाख्रापालनलाई मुख्य आधार बनाएका छन् । थोरै लगानीबाट सुरु गर्न सकिने र आम्दानी पनि राम्रो हुने भएकाले बाख्रापालनमा लागेको ढकालले बताएका छन् ।

८ वर्ष भारत र ११ वर्ष खाडी मुलुक कतारमा काम गरेर फर्केका रुक्मागतले विदेशमा जतिगरे पनि भविष्य नदेखेपछि बाख्रापालनमा लागेकोे बताए । विदेशमा रहँदा खाली समयमा फेशबुक तथा युट्युवमा कृषि लगायतका उद्यमशिल कार्यक्रमहरु हेरेर प्रभावित भएको बताउने ढकाल आफनै ठाउँमा गएर किन नगर्ने ? भनेर पनि बाख्रापालन व्यवसाय सुरु गरेको उनको भनाई छ ।

ढकालको गह्रौंकालिका व्यवसायिक बाख्रापालन फर्ममा अहिले ३५ माउ सहित सानाठुला गरेर ७० वटा बाख्रा छन् । ढकालले वर्षमा ५० भन्दा बढी पाठा विक्रि गर्दै आएका छन् भने त्यही अनुसार पाठीहरु पनि विक्रिहुँदा ६ देखि सात लाखसम्मको आम्दानी गर्दै आएका छन् । ढकालका अनुसार आजभन्दा दुईवर्ष अगाडि दैनिक ६ क्वीण्टल खसीको मासु खपत हुने वालिङ बजारमा अहिले त्यो भन्दा धेरै माग छ भने यो मागलाई आपूर्ति गर्नसक्ने उत्पादन स्याङ्जा जिल्लामै छैन । अहिले आएर वालिङ बजार कुखुराको मासुमा आत्मनिर्भर हुन सकेको छ, तर खसीको मासुबाट आत्मनिर्भर हुनका लागि आफ्नो जस्ता हजार फर्म सञ्चालन हुनुपर्ने उनको भनाई छ ।

ढकाल भन्छन्—मेहनत गरेर कमाएको बाहिर नजाओस, यहीँ खपत गर्न सकियोस् । हामीले कमाएको पैसा यहीँ लगानी गरी उत्पादन होओस् र यहीँको सामानले हाम्रो बजारलाई पूरा गर्न सकियोस् ।

कुनैपनि काममा हातहाल्नुभन्दा पहिला त्यसको बारेमा जानकारी हुनैपर्छ । शहरमा बसेको मान्छेलाई एकैचोटी बाख्रापाल्न भनेर हुँदैन । बाबु बाजेका पालादेखि बाख्रापाल्दै आएको हुँदा आफुलाई काम गर्न केहि सजिलो भएको ढकालको भनाइ छ । बाख्रालाई सामान्य विमार लाग्यो भने प्राविधिक गुहार्नु भन्दा पनि तालिम लिएर आफैं गर्नसक्ने हुनुपर्छ र मात्र व्यवसायमा सफलता मिल्ने ढकालको विचार छ ।

ढकालले बाख्रासँगै सुन्तला पनि लगाएका छन् । अहिले उनको सयभन्दा बढी बोटले फलदिन थालेका छन् भने अरु सय बिरुवा पनि फलदिने तयारीमा छन् । विदेशमा गर्ने आधा परिश्रम गर्दा यतिहुँदो रहेछ भने उहाँ जति गर्ने हो भने डबल भन्दा पनि धेरै कमाइ गर्न सकिने ढकालले बताए ।

आँफुसँगै समाज र देशलाई नै स्वावलम्वी बनाउने किसान हो तर समाजमा किसानहरुलाई अझैपनि हेयको दृष्टिले हेरिने भएकाले पनि धेरैमा व्यवसायिक उत्साह हुन नसकेको ढकालको बुझाई छ ।

किसानलाई ससर्त नभएर निसर्त अनुदान दिनुपर्ने र त्यसका लागि सरकारबाट निश्पक्ष अनुगमन गर्नसके राम्रो हुने ढकालको धारणा छ ।