ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषकले धान विक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने व्यवस्था गरिएको जनाएको छ ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्था गर्ने निर्देशिकामा कृषकले धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने व्यवस्था गरिए अनुसार नै हुने मन्त्रालयले जनाएको हो ।

सरकारले तोकेको न्यूनतम् समर्थन मूल्य किसानलाई दिने ग्यारेण्टी गर्न, समर्थन मूल्यको परिपाटी व्यवस्थित गर्न र बजारीकरण सुनिश्चित गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ ।

बाली लगाउनुपूर्व नै मूल्य निर्धारण, भण्डारण र बजार मूल्यमा स्थिरता कायम गर्ने निर्देशिकाको उद्देश्य रहेको बताइएको छ ।

त्यस्तै धान खरिदका लागि पहिलो पटक पूर्ण रुपमा सहकारीको परिचालन गर्न लागिएको भन्दै परियोजना सफल भए कृषि उत्पादन, मूल्य र बजारीकरणमा नेपाल नयाँ युगमा प्रवेश गर्ने प्रवक्ता हरि बहादुर केसीको दावी छ ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले सरकारको निर्णय कार्यान्वनयका लागि आफूहरू तयार रहेको बताउनुभयो । उहाँले किसानको खेतबाट उठाउने धानको गुणस्तर, सरकारले तोकेको मूल्य र भण्डारणमा चुनौती रहेपनि सामना गर्न तयार रहेको भन्दै सरकारका प्रतिनिधिले अभियानमा साथ दिनुपर्ने बताउनुभयो ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्था गर्ने निर्देशिकामा कृषकले धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ । किसानलाई पैसा नतिरेसम्म सहकारीले अनुदान नपाउने व्यवस्था गरिएको छ । त्यस्तै नीति अनुसार यस आर्थिक वर्षका लागि मोटा धानको प्रति क्वीण्टल २ हजार ७३५ रुपैयाँ, मध्यम धानको प्रति क्वीण्टल २ हजार ८८५ रुपैया न्यूनतम समर्थन मुल्य निर्धारण गरिएको छ ।

खरिद गरेको धानको भण्डारण, प्रशोधन र बिक्रीको जिम्मा सहकारीकै हुने निर्देशिकामा जनाइएको छ । किसानसंग धान किन्ने सहकारीले सरकारबाट प्रतिक्वीन्टल १ सय १२ रुपैयाँ अनुदान पाउने जनाइएको छ ।