आँपको पातमा जालो बनाएर बस्ने किरा “mango leaf webber” लाई  नेपालका विभिन्न ठाँउहरुमा  टेन्ट क्याटरपिल्लर (पाल बनाउने लार्भा) पनि भनिन्छ। हाल सम्म आँपको कम असर पर्ने किराहरुको सुचीमा राखिएको यो  किरा विगतका केही बर्ष देखि तराईका बिभिन्न जिल्लाहरुमा निकै  विनाशकारी रुपमा देखा परिरहेको छ । विशेषगरी प्रदेश  नम्बर  दुईका जिल्लाहरुमा यो  किराको प्रकोप बढी पाईन्छ । लार्भा अवस्थाको किराले आँपको  पात खान्छ र पछि त्यहाँ जालो बनाई बस्छ। किराको प्रकोप बढी भएमा आँपको रुख  पुरै सुकेको जस्तो देखिन्छ र कत्ती पनि फुल लाग्दैन । यो किराले आँपको बगैंचामा लगभग २५-८०% हानी  पुर्याउछ ।  विशेषगरी बाक्लो गरि लगाइएको आँपको बगैंचामा यो किराको प्रकोप बढी देखिन्छ । यो किराले कलिला भन्दा छिप्पिएका पातहरु खान रुचाउँछ।  यो किराको एक बर्षमा करिब ५ वटा सम्म पुस्ता पूरा हुन्छ।
जीवन चक्र 
यो किराको जीवन चक्र फुल,लार्भा,प्युपा र बयस्क गरि चार भागमा  विभाजीत हुन्छ।
१. फुल: बयस्क किराले आँपको पातमा सामान्यतया १ देखी ६० वटा सम्म फुल पार्छ। फुलको रङ हलुका पहेँलो रङको हुन्छ। मौसमको अवस्था हेरेर ४ देखी ७ दिनमा फुल लार्भामा परिणत हुन्छ ।
२. लार्भा:  पुर्ण रूपमा विकसित हुन लार्भाले  ७ वटा चरण पार गर्नु पर्छ। पहिलो र दोस्रो चरणका लार्भा हलुका हरियो रंगका  हुन्छन् । तेस्रो र चौथो चरणका लार्भा  पारदर्शी  खैरो रङका हुन्छन् । पाचौं र छैटौं चरणका लार्भा  हरियो-खैरो रङका हुन्छन् । त्यसैगरी सातौं चरणका लार्भा  मलाई रङका हुन्छन् । लार्भाको टाउको कालो रङको हुन्छ। शरीरको माथिपट्टि सेता लामा धर्साहरु हुन्छन् । लार्भाको आयु २० देखि ४० दिनको  हुन्छ ।
३. प्युपा: प्युपाको रङ सुरुमा चम्किलो रातो हुन्छ भने पछी बिस्तारै गाढा खैरो हुँदै जान्छ। लार्भा  समान्यतया  पातमै कोकून बनाई बस्छ तर अन्तिम पुस्ताको प्युपा भने जमिन भित्र गएर ३ महिना सम्म लुक्दछ। बयस्कमा परिणत हुन प्युपा लाई १५-२० दिन लग्दछ।
४. बयस्क: वेब्बरको बयस्क मध्यम वर्गको खरानी रङको  हुन्छ। यसको अघिल्लो पखेटा कालो हुन्छ जसमा खैरो र सेता धब्बाहरु हुन्छन् । पछाडीको पखेटा भने कम चम्किलो हुन्छ । यो किराको पोथी भाले भन्दा ठुलो हुन्छ र धेरै समय बाँच्छ। बयस्क पुतलिको समय अवधी ५-७ दिन हुन्छ।
व्यवस्थापन 
यो किरा आँप बगैंचामा बर्षको ३ महिना ( माघ, फाल्गुण र चैत्र ) बाहेक अरु समय निकै सक्रिय रहन्छ। विभिन्न तथ्यांक अनुसार यो किरा अहिलेसम्म  कम असर गर्ने किराको सुचीमा छ। तथापि केही बर्ष यता यो किराको प्रकोपबाट  तराईका  कृषकहरु निकै पीडित छन। यो किराको व्यवस्थापनका लागि धेरै उपायहरु अपनाउन सकिन्छ जस्तै; आँप लगाउदा तोकिएको दुरिमा लगाउने ( दुई बोट बीचको दूरि जति फराकिलो भयो यो किराको प्रकोप त्यति नै कम हुन्छ ), जालो भएको  रुखको हाँगा काँटछाँट  गर्ने  र बगैंचादेखी केहि टाढा लगेर जलाउने, माटोमा लुकेको प्युपालाई मार्नको लागि बगैंचा सफा गर्ने र राम्रोसंग जोत्ने जसले गर्दा माटो माथि देखिएका प्युपा घाम वा प्राकृतिक शत्रुजीवका कारणले मर्दछन। यी सबै उपाय अपनाउदा पनि किराको  व्यवस्थापन भएन  भने रासायनिक विषादीहरु जस्तै  कुइनोल्फोस, लाम्दासाईहलोथ्रीन, साईपरमेथ्रीन, इमिडाक्लोरपिड आदि दिईएको मापदण्ड अनुसार प्रयोग गर्न सकिन्छ । कृषि क्षेत्रका विभिन्न सरोकारवाला र विशेषगरि सरकारी  निकायबाट यो किराको व्यवस्थापनका लागि  थप  कदम चालिएन भने भविष्यमा  वेब्बरले  आँप खेतीमा निकै ठुलो असर पार्ने देखिन्छ ।