च्याउ एककिसिमको ढुसी प्रजाती हो । प्राचीन समयमा यो केवल वनजङ्गल र फोहोर प्राङ्गारिक पदार्थहरुमा मात्रै सिमीत थियो । विभिन्न अनुसन्धानबाट यसको सेवनले हुने स्वास्थ्यलाभ तथा यसमा प्रचुर मात्रामा खाद्य तत्वहरु रहेको तथ्य पुष्टि भएपछि हाल संसारभरी नै यसको बढ्दो उत्पादन र उपभोग हुन थालेको छ । खाद्य च्याउहरुमा प्रचुर मात्रामा  खनिज पदार्थहरु, कार्बोहाइड्रेट, भिटामिनहरु, प्रोटिन एवं एन्टिअक्सिडेन्टहरु पाईन्छन् । मानव स्वास्थ्यका लागि च्याउ सेवनका फाइदाहरु निम्न छन् ।

  1. यसमा उच्च कोटिको प्रोटिन पाइन्छ र कोलेस्टेरोल पनि थोरै पाइने भएकाले मोटोपना घटाउने काममा पनि सघाउँछ ।
  2. च्याउमा इन्सुलिन पाइने भएकाले चिनी रोगका बिरामिहरुको लागि लाभदायी मानिन्छ ।
  3. यसमा पाइने फलामले रक्तअल्पता भएका ब्यक्तिहरु लाई लाभ गर्दछ ।
  4. यसमा प्रशस्त मात्रामा भिटामिन `डि´ पाइन्छ ।
  5. यसमा पाइने सेलेनियम तत्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
  6. यसमा पाइने एन्टिअक्सिडेन्टले क्यानसर हुनबाट बचाउँछ ।

अत्यधिक स्वास्थ्य लाभ लिन सकिने भएकाले हाल च्याउ खेती निकै फस्टाउदै गइरहेको छ । च्याउ खेती गर्दा विविध बैज्ञानिक ज्ञानको पनि अति आवश्यकता पर्दछ र यसमा लाग्ने विभिन्न रोगहरुसम्बन्धी उचित ज्ञान हुनु जरुरी छ । साथै उचित व्यवस्थापनको बारेमा उपयुक्त ज्ञान नहुदा च्याउ खेती गर्दा लाग्ने प्रमुख रोग हरियो ढुसी अर्थात ट्राइकोडर्माले निकै प्रकोल लिने गर्दछ । जसका कारण व्यवसायिक च्याउ कृषकहरुले निकै घाटा बेहोर्नु पर्ने हुन्छ । तसर्थ च्याउको हरियो ढुसिको पहिचान, व्यवस्थापन तथा नियन्त्रणको बारेमा उचित ज्ञान हुनु जरुरी छ ।

ट्राइकोडर्माको सामान्य परिचय

ट्राइकोडर्मा अर्थात हरियो ढुसी  Hypocreaceae परिवारमा पर्ने एककिसिमको ढुसी हो । यो ढुसी प्राय सबै किसिमका माटोमा छरिएर रहेको पाइन्छ । कुहिएका प्राङ्गारिक पदार्थहरु,रुखका बोक्राहरु, बिरुवाका पातहरु लगाएत अन्य ढुसिहरुमा यो ढुसी पाइने गर्दछ । यो ढुसी अरु ढुसिहरुमा प्रबल बनेर बस्न सक्छ र यो धेरै छोटो समयमै धेरै ठाउँमा फैलिन सक्छ । यसले विभिन्न किसिमका पाचक इन्जाइमहरु उत्पादन गरेर थुप्रै किसिमका ढुसी, ब्याक्टेरिया लगाएत माटोमा पाइने बिरुवालाइ हानिकारक शुस्मजिवहरुलाइ मार्ने गर्दछ । जसका कारण हाल यो जैविक बिषादिको रुपमा पनि प्रयोग हुँदै आइरहेको छ । बालीनालीहरुमा लाग्ने विभिन्न रोगहरुको वातावरण मैत्री तरिकाले र एकीकृत तरिकाले ब्यबस्थापन तथा नियन्त्रण गर्न पनि यो प्रयोग हुन्छ । यसले जैबिक मलको पनि भुमिका खेल्दछ । तर यो हामिले खेती गर्ने च्याउमा भने रोग अर्थात प्रमुख शत्रुको रुपमा चिनिन्छ । उचित व्यवस्थापनको अभावका कारण यो ढुसी च्याउ फार्ममा फैलिसकेपछी परजिवी बनेर निकै हानी गर्ने गर्दछ । तसर्थ संक्रमणपश्चात् नियन्त्रण गर्नु भन्दा पनि उचित व्यवस्थापन अपनाएर यसबाट बच्नु नै उचित हुन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

ट्राइकोडर्माको पहिचान

यो ढुसीको संक्रमण भइसके पछि च्याउ रोपेका पोकाहरुको बाहिरी सतहमा हरियो रङ्गको आवरण देखा पर्दछ । पानी स्प्रे, किराहरु लगाएत हाम्रै हातबाट एउटा पोकाबाट अर्कोमा सर्दछ र अरु पोकाहरुमा पनि लक्षण देखिन थाल्छ । समयमै उचित व्यवस्थापन हुन नसके यो ढुसी प्रबल बनेर हामिले उत्पादन गर्न खोजेको च्याउको बिकास हुन दिदैन र पलाएका साना साना च्याउहरु पनि बिस्तारै हराएर जान्छन ।

रोग सर्ने कारणहरु

यो ढुसी प्रायः माटोमा पाइने भएकाले पोका तयार पार्दा र पछि फार्मभित्रका असुरक्षित क्रीयाकलापबाट फैलिने गर्दछ ।

  1. परालको बाहिरी सतहमा अर्थात माटो संग सम्पर्कमा आएको पराललाओ राम्रो संग शुद्दिकरण नगर्दा ।
  2. कहिलेकाही ट्राइकोडर्मा अर्थात हरियो ढुसी हामीले प्रयोग गर्ने बीउ अर्थात स्पनबाटै आउने गर्दछ ।
  3. फार्मभित्रको वातावरण अर्थात सबै भागहरु राम्रो संग शुद्दिकरण नगर्दा यो सर्दछ ।
  4. यो ढुसी माटोमा पाइने भएकाले फार्म भित्र जथाभावी आवतजावत गर्नाले मान्छेको जुत्ता चप्पलमा टासिएर जान्छ र भित्रभित्रै पुरै फैलिन्छ ।
  5. पोका पार्दा धेरै आद्रता अर्थात पानीको मात्रा भएमा संक्रमण हुने सम्भावना बढी हुन्छ ।

परालमा धानका गेडाहरु भएको खण्डमा धानको बीउ बिजारोपण हुन्छ र त्यसले हरियो ढुसिलाइ निम्त्याउछ ।

  1. पोका बनाउदा प्लास्टिकका लगाएत हाम्रो हातखुट्टालाइ राम्रो संग सेनिटाइज नगरेमा
  2. पहिलो १५ दिन सम्म फार्म भित्र घाम पर्न गएमा धेरै संक्रमणको सम्भावना हुन्छ ।
  3. पराललाई राम्रो संग स्टेरिलाइजेसन नगर्दा अर्थात त्यहाँ भएका हानिकारक किटाणुहरु मार्न नसकेमा पनि संक्रमण हुने गर्दछ।

व्यवस्थापन तथा नियन्त्रणका उपायहरु

यो ढुसी नियन्त्रण गर्नु भन्दा पनि फार्मभित्र संक्रमण हुनै नदिनु बढी उपयोगी मानिन्छ ।

व्यवस्थापन

  1. पराल कम्तिमा पनि दुई महिना भन्दा पुरानो हुनु पर्दछ र घाममा राम्रो संग सुकेको भए अझै उपयोगी मानिन्छ ।
  2. परालका पोका बनाउदा हातमा लगाएत प्लास्टिकमा स्प्रीट प्रयोग गरेर सेनिटाइज गर्नु पर्दछ ।
  3. पोका पार्दा परालमा धेरै आद्रता हुनु हुदैन, अर्थात हालले च्याप्दा पानी ननिस्किनेबेला सम्म चिस्स्यान कम गर्नु पर्छ ।
  4. धेरै पुरानो बिउ प्रयोग नगर्ने जसमा ट्राइकोडर्मा फैलनै सम्भावना बढी हुन्छ, र सकेसम्म बीउ कम्पनिहरुले पहिलो पुस्ताकै बीउ किसानलाइ उपलब्ध गराउनु राम्रो हुन्छ ।
  5. फार्म हाउस बनाइसकेपछि शुद्दिकरणको लागि फ्युमिगेसन अर्थात धुमन गर्नु पर्दछ जसका लागि फर्मालिन अर्थात फर्मेल्डिहाइड नामक रसायनमा कपासलाई भिजाएर फार्महाउसको चारै कुनामा राख्ने र ढोका बन्द गरिदिने जसले गर्दा फार्मभित्र रहेका किटाणुहरु मरेर जान्छन ।
  6. फार्म हाउसको भुइमा चुना छर्किनु पर्दछ ।
  7. भित्र जाने मुल बाटोमा चुना राख्नु पर्दछ जसको मद्दतले खुट्टामा आउने किटाणु मरेर जान्छन ।
  8. च्याउ रोपेको पन्ध्र दिन सम्म च्याउलाइ कार्बनडाइअक्साइडको आवश्यकता पर्ने भएकाले बन्द राख्नु पर्दछ ।
  9. १५ दिनपछी अर्थात टुसा पलाएपछी हावा ओहोरदोहोर गराउन आधा दिन जति दुबै छेउपट्टि खोल्नु पर्छ र अलिअली पनिको फोहोरा स्प्रेअरबाट छर्किनु पर्दछ ।
  10. फार्म भित्र जथाभावी प्रवेसलाइ निषेध गर्नुपर्दछ ।
  11. २ मिलि. फर्मालिनलाइ १ लि. पानीमा मिसाएर फार्मलाई स्प्रे गरि सफा गर्नु पर्दछ ।
  12. परालमा भएको माटोलाइ राम्रो संग पखाल्नु पर्दछ ।
  13. रसायनिक शुद्दिकरण गर्ने हो भने (2 kg lime+50 gm bleaching powder+5 gm indofil45) को मिश्रण प्रती २० किलो पराललाइ प्रयोग गर्न सकिन्छ ।
  14. उपयुक्त एवम सस्तो सुद्दिकरण बिधिको रुपमा बास्पिकरण नै मानिन्छ, बास्पिकरण गर्दा करिब २ घण्टा जति पराललाइ बाफमा पकाउनु पर्दछ र एकछिन फिजाएर उपयुक्त चिस्यान कायम गरि पोका पार्नु पर्दछ ।

ट्राइकोडर्मा नियन्त्रण बिधिहरु

  1. कुनै पोकामा संक्रमणको लक्षण देखिना साथ त्यो पोकालाइ अलग गरेर उपचार गर्नु पर्छ, जसका लागी 3 ग्राम बेबिस्टिन अर्थात कार्बेन्डाजिन नामक ढुसिनासक बिषादिलाइ 1 लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।
  2. संक्रमीत पोकाहरुमा निमजन्य बिषादी छर्किने ।
  3. चुनपानीलाइ हरियो ढुसिको सतहमा छर्किदा पनि नियन्त्रण भएको पाइएको छ ।
  4. अलिअली हरियो सतह देखिने बित्तिकै हरियो भाग फाल्ने र धेरै संक्रमण भएमा पुरै पोकालाइ अलग्गै कोठामा राखेर उपचार गर्नु पर्दछ ।
  5. सबै भन्दा उपयुक्त मानिएको बिषादी मिश्रण निम्न अनुसार छ:

(1 gm Bavistin + 1 gm Pentomycin +1 gm Indofil M45+ 5 gm Lime stone लाई २ लिटर पानीमा मिसाएर संक्रमण भएको पोकामा छर्किने ।