खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बीउबिजन बैंक सञ्चालन गर्नका लागि तयारी थालेको छ ।

किसानले चाहेको समयमा अन्न, तरकारी तथा फलफूलको बीउबिजन उपलब्ध गराउने लक्ष्यकासाथ गाउँपालिकाले कृषि सहकारी संस्थामार्फत बीउबिजन बैंक सञ्चालन गर्ने भएको हो ।

किसानलाई आवश्यक पर्ने बीउ खरिदका लागि तराई वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै बीउबिजन बैंक सञ्चालन गर्ने तयारी थालिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘यसअघि अन्यत्रबाट ल्याइएका कतिपय बीउ नउम्रने, उम्रे पनि फल नदिने, नसप्रनेजस्ता समस्या देखियो’, उनले भने, ‘आगामी दिनमा आफ्नै ठाउँमा उत्पादन भएका बीउलाई सङ्कलन र भण्डार गर्ने तथा किसानलाई बिक्री गर्ने व्यवस्था गर्न लागिएको हो ।’

स्थाना गरिने बीउबिजन बैंकमा मकै, धान, गहुँ, जौ, आलु, तरकारी, प्याज, फलफूललगायत बीउ राखिने छ । बीउबिजन बैंक स्थापनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ । गाउँपालिकाभित्र बीउबिजन बैंक सञ्चालन गर्दा बीउ खरिदका क्रममा बाहिरिने रकमलाई गाउँमै रोक्न सकिने गाउँपालिकाका अध्यक्ष राईको दाबी छ ।

कृषि सहकारीमार्फत चालू आर्थिक वर्षदेखि नै किसानलाई बीउ उपलब्ध गराउने गरी तयारी थालिएको गाउँपालिकाले जनाएको छ । बीउबिजन बैंक सञ्चालन गर्न गाउँपालिकाले चार कृषि सहकारीसँग परामर्शसमेत गरेको छ । रातमाटा कृषि सहकारी संस्था, तृतीयाभञ्ज्याङ कृषि सहकारी संस्था, दुर्गा कृषि सहकारी संस्था र चुइचुम्मा कृषि सहकारी संस्थाका पदाधिकारीसँग भएको छलफलमा यही कात्तिक २० गतेसम्ममा बीउबिजन बैंक सञ्चालन गर्ने निर्णय भएको छ ।

गाउँपालिकास्तरीय कृषि सहकारी सङ्घ बनाएर सोहीमार्फत बीउबिजन बैंक सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ ।
बीउबिजन बैंक सञ्चालन गर्दा स्थानीय रैथाने जातका अन्नको संरक्षणमा समेत टेवा पुग्ने दाबी गरिएको छ । कृषि सहकारीले बीउ बैंकमार्फत किसानलाई हाइब्रिड बीउसमेत उपलब्ध गराउने व्यवस्था मिलाउने तयारी गरिएको छ ।

बाहिरी जिल्लाबाट खरिद गरेर ल्याएको बीउबिजन प्रयोग गर्दै आएका कृषक गाउँपालिकाकै सहयोगमा गाउँमै बैंकमार्फत आवश्यकताअनुसार सुपत मूल्यमा बीउबिजन पाउने भएपछि हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहमा भने यससम्बन्धी कुनै तयारी नभएको बताइएको छ । रासस