धान विश्वकै प्रमुख खाद्यान्न अर्थात अन्नबालीको रुपमा चिनिन्छ | विश्वकै करिव आधा भन्दा बढी जनसंख्याले धानलाइ प्रमुख शक्तिबर्द्क खाद्यान्न बालिको रुपमा लिने गरेको पाइन्छ | विश्वकै सबैभन्दा बढी (करिब दुई तिहाइ) धान उत्पादन तथा खपत गर्ने देशहरु एसिया महादेशमै पर्दछन | विश्वकै सबैभन्दा बढी धान उत्पादन गर्ने देशहरुमा हाम्रै छिमेकी मुलुकहरु क्रमशः चीन र भारत पर्दछन | क्षेत्रफलका आधारमा धान विश्वमै गहुँ पछिको दोस्रो महत्वपुर्ण खाद्यान्न बालिको रुपमा चिनिन्छ भने नेपालमा जम्मा खेती गरिएको जमिन (३१ लाख हेक्टर) मध्ये लगभग आधा भाग (१५ लाख हेक्टर) मा खेती गरिन्छ | चिनको तुलानामा (१२ टन प्रती हेक्टर) नेपालमा धानको उत्पादकत्व (३.२ टन प्रती हेक्टर) निकै कम रहेको छ र हालसालैको तथ्यांक अनुसार नेपालको बार्षिक धान उत्पादन लगभग ५४ लाख मेट्रीक टन रहेको छ |जम्मा कृषिखेतिको आधा भू- भागमा धान खेती गरिएपनी हाम्रो देशमा सोचेजस्तो उत्पादन लिन सकिएको छैन | धान खेतिमा मनग्य आम्दानी नहुनुको पछाडी थुप्रै कारणहरु रहेका छन्, जसमध्ये उपयुक्त एवम रोग तथा किरा प्रतिरोधात्मक बिउँको अभाव हुनु, कृषिशाष्त्रीय ज्ञानको अभाव हुनु, कृषिमा यान्त्रीकिकरणको अभाव हुनु, मल तथा बिउबिजनको समयमै पुर्ती नहुनु आदि पर्दछन | जसमध्ये यश शृङ्खलामा धान उत्पादनमा निकै ह्रास ल्याउने समस्याको रुपमा रहेका धानका प्रमुख रोगहरुको बारेमा चर्चा गरिने छ|

१.धानको मरुवा रोग(Rice blast disease)

यो रोग Magnaporthe grisea नामक ढुसीको कारणले लाग्ने गर्दछ | यो रोगले पात,काण्ड, गाठो, फुलको डाँठ तथा दानामा समेत असर गर्ने गर्दछ| यो रोगले प्रायः पातको म्यान र जरामा भने असर गर्दैन |यो रोग भर्खर उम्रेको बोटदेखी गाँज पूरा हुन्जेल सम्म लाग्न सक्दछ | यो रोगको ढुसी हिउँदमा निष्क्रिय बनेर अलैंगिक कोनिडियाको रुपमा धानका दाना, अवसेस लगाएत कुनै उपयुक्त परपोषी बनाएर बस्ने गर्दछ|लामो समयसम्म पात अर्थात अरु भागहरु आद्र रहनु, रातको समयमा धेरै सापेक्षिक आद्रता हुनु, वातावरण गुम्सिएर हावाको प्रवाह रोकिनु, तापक्रम घटेर १७-२३°C पुग्नु, पातमा लामो समयसम्म सितका थोपाहरु रहनु इत्यादी अवस्थाहरु यो रोगको जिवाणु बिजारोपण भइ फैलिनको लागि अनुकुल मानिन्छन् ।

बोटको तल्लो भाग तिर यो ढुसिले आक्रमण गरिसकेपछी सबैभन्दा पहिले बैजनी रङ्गका साना थोप्लाहरु देखिने गर्दछन । क्रमसंगै यो रोग बिकास भएर लाम्चो आकारका धब्बाहरु बन्छ्न, जसको केन्द्रतिर खैरो अर्थात सेतो रङ्ग देखिन्छ र बिस्तारै पात पहेलिदै जान्छ | यो रोगले गर्दा बालाको घाँटी कुहिने गर्दछ जस्लाइ नेक रट भन्ने गरिन्छ र यसैगरी बाला मरेर जान्छ जसलाइ पेनिकल ब्लास्ट भन्ने गरिन्छ । जसको कारणले गर्दा बालाको फेदतिर त्रीकोणिय खैरो घाउ देखिन्छ र जसले गर्दा बालामा खाद्यान्न सन्चार हुन नपाएर बालामा नक्कली दाना अर्थात सेता खोसाहरु देखा पर्दछन र बिस्तरै पुरै बाला नै भाचिएर खस्न सक्छ । यो रोगले गर्दा पातको माथिल्लो भाग र पातको म्यान जोडिएको ठाउँमा पनि कुहिने गर्दछ जसलाइ कोलार रट भन्ने गरिन्छ र कान्डका गाठाहरुमा पनि खैरा देखि काला धब्बाहरु देखा पर्दछन जसलाइ नोड ब्लास्ट भन्ने गरिन्छ ।

व्यवस्थापन तथा नियन्त्रणका उपायहरु :

यो रोग धानको सबैभन्दा प्रमुख अर्थात उग्र क्षति पुर्याउने रोग भएकाले आम किसान बर्गहरुले यो रोग लागिसकेपछी उपचार गर्नु भन्दा रोगबाट बच्ने उपायहरु अपनाउन जरुरी छ ।

  1. खेतमा रहेका पुर्वबालिका सम्पुर्ण जिवावशेसहरु राम्रो संग जलाउनु पर्दछ ।
  2. बिउलाइ जैबिक बिषादी जस्तै Pseudomonas fluorescence Trichoderma नामक जैबिक बिषादी १० ग्राम प्रती किलो बिउ संग उपचार गरेर राम्रो संग हिलो बनाइ छर्नु पर्दछ ।
  3. खेतको आलिबाट सबै झारपातहरु नियन्त्रण गर्नाले यो ढुसिले अरु परपोषी बिरुवाबाट धानमा सर्न पाउदैन |
  4. नाइट्रोजन युक्त रसायनिक मलहरु तोकिय भन्दा बढी प्रयोग गर्नु हुदैन र क्याल्सियन सिलिकेट प्रयोग गर्दा यो रोग नियन्त्रण भएको पाइएकोले सिलिकन प्रयोग गर्ने । धानको परालमा धेरै मात्रामा सिलिकन हुने भएकाले पराल कुहाएर जैबिक मल प्रयोग गर्दा पनि यो रोग नियन्त्रणमा सहयोग हुन्छ ।
  5. खेतलाइ सुक्खा हुन दिनु हुँदैन, नियमित मात्रामा आवस्यक पानी उपलबध गराउनाले यो रोगको ढुसी पानीमा बाच्न सक्दैन र रोग बाट बालिलाइ बचाउन सकिन्छ ।
  6. यो रोग अत्यधिक देखिएमा रसायनिक बिषादिहरु जस्तै Carbendazim 50%wp, Tricyclazol 75%wp इत्यादी बिषादिहरु (300-500gm) पानीमा मिसाएर खेतमा छर्किन सकिन्छ ।
  7. ब्याडमा, बाला लाग्ने बेलामा रोगनासक औसधि जस्तै हिनोसान ५० ई.सी. को १.५ एम.एल वा बेभिस्टिन ५० WP ३ ग्राम वा डाइथेनएम-४५, ३ ग्राम प्रति लीटर पानीको दरमा मिलाई स्प्रे गर्नेगर्ने
  8. रोगबाट स्थाइ रुपमा बच्न रोग प्रतिरोधात्मक जातहरु जस्तै साबित्री,लोकतन्त्र, खुमल-१०,जर्नेली, IR12L110 इत्यादी लाई बिउँको रुपमा प्रयोग गर्ने ।

 

२. म्यानको डढुवा रोग(Rice sheath blight)

यो रोग Rhizoctonia solani नामक ढुसिको कारणले लाग्ने गर्दछ | यो ढुसी माटोबाटै उत्पत्ती हुने भएकाले लामो समय माटोमै बस्ने गर्दछ र अनुकुल वातावरण र परपोषी जीव पाउनासाथ संक्रमण गर्ने गर्दछ |यो ढुसिले सर्बप्रथम बोटको सबैभन्दा तलको म्यान अर्थात leaf sheath मा आक्रमण गरेर लक्षणहरु देखाउने गर्दछ | पानीको सतहभन्दा केही माथी पातको म्यानमा सुरुसुरुमा पानीका पोका जस्ता र पछि फिका खैरा रङ्ग र त्यसपछी सेतो र खैरा रङ्गका धब्बाहरु देखा पर्दछन| क्रमसंगै ती खैरा धब्बाहरुले ठूलो आकार लिएर आपसमा जोडिन्छन जसले गर्दा पातको किनारातिरको रङ्ग जलेजस्तै सेतो एवम् खैरो देखिन्छ |उप्युक्त नियन्त्रण भइएन भने यो रोग पुरै बोटमा फैलिएर निकै नोक्सानी पुर्याउने सम्भावना प्रचुर हुन्छ |

सबै भागहरु लगाएत धेरै बिरुवाहरुमा संक्रमण फैलाउने गर्दछ |


सापेक्षिक आद्रता धेरै (९३-९७%) हुनु, तापक्रम धेरै हुनु (३०-३७°से.), नाइट्रोजनको मात्रा धेरै हुनु,बोटहरुको जनघनत्व धेरै हुनु इत्यादी अवस्था यो रोग संक्रमणको लागि अनुकुलता मानिन्छन् |
यो रोग संक्रमीत पातहरु पछि सुक्खा हुन्छन र छिटै परिपक्क देखिन्छन् |

व्यवस्थापन तथा नियन्त्रणका उपायहरु :

प्रायः खाद्यान्न बालीजन्य रोगहरु प्रकोपको रुपमा आइसकेपछि रसायनिक बिषादी प्रयोग गरेर नियन्त्रण गर्न धेरै जटिल हुने भएकाले रोगबाट जोगाउने गरिने पुर्व तयारीहरु नै उपयुक्त मानिन्छन् |

  1. खेतमा पानी निकासको उपयुक्त व्यवस्था हुनुपर्दछ |
  2. बोटहरुको बिचमा सजिलै हावा प्रवाह गराउनको लागि व्यापक दुरि कायम राख्ने |
  3. खेतमा र आलिमा उम्रीएका झार एवम घाँसहरुले अतिरिक्त परपोषिको काम गर्ने भएकाले नियन्त्रण गर्ने |
  4. बाली कटान पछि खेतमा रहेका अवसेशहरुलाइ सकेसम्म जलाउनु पर्दछ |
  5. Azoxystrobin, Nativo, Benomyl नामक रसायनिक बिषादिहरुले सफल रुपमा रो रोग नियन्त्रण गरेको पाइएको छ, तर लामो समयसम्म रसायनिक बिषादीको प्रयोग गर्नाले जिवाणुहरु बिषादी संग परिचित भइ, यसप्रती प्रतिरोध क्षमता बढाउछ, त्यसैले हामीहरुले रसायनिक बिषादी प्रयोग गर्नु भन्दा कृषिशाष्तृय तरिकाहरु अपनाएर यो रोग व्यवस्थापन गर्नु नै लाभदायिक मानिन्छ |

 

३.धानको पोके रोग (False smut of rice)


यो रोग अत्यधिक चिसो र असामान्य रुपमा धेरै वर्षा भएको मौसममा बढी देखिने गर्दछ । यो रोग Ustilaginoidea virens  नामक ढुसिको कारणले लाग्दछ । यो रोगले धानको उत्पादन तथा गुणस्तर दुबै कुरामा निकै ह्रास ल्याउने गर्दछ । यो ढुसिले बालिको अण्डासय अर्थात भ्रुणमा आक्रमण गर्दछ र दाना बिकासको चरणमै लक्षणहरु देखाउने गर्दछ । यो रोग लागेका धानका बालाहरुमा सुरुमा पहेलो रङ्गको ढुसिको थुप्रो देखिन्छ, पछि त्यो हरियो रङंमा बदलिन्छ र अन्त्यमा गाढा खैरो अर्थात कालो रङको ढुसिको डल्लो जस्तै देखा पर्छ |यो रोगको जिवाणु माटो, हावा तथा रोगी बिउबाट सर्ने गर्दछ । यो रोगले बिरुवाको प्रजनन अंग अर्थात बालामा मात्र असर गर्ने गर्दछ । यो रोग लागेको सुरुको अवस्थामै व्यवस्थापन गर्न नसके कालान्तरमा यो रोग सबै बालिमा फैलिएर निकै नोक्सान पुर्याउने गर्दछ ।

व्यवस्थापन तथा नियन्त्रणका उपायहरु :

  1. यदि यो रोग थोरै बालाहरुमा मात्र देखियो भने ती बालाहरुलाइ काटेर पोलेथिनमा जम्मा गरि टाढा लगेर जलाउनु पर्दछ ।
  2. ढिलो लगाएको धान भन्दा छिटै रोपेको धानमा यो रोगको समस्या कम देखिएको छ ।
  3. यो रोगको ढुसी पुरै एक मौसमभरी माटोमा बस्न सक्ने भएकाले बाली लगाउनु भन्दा पुर्व माटोलाइ राम्रो संग खनजोत गरि ३-५ दिनसम्म घाममा सुक्न दिनुपर्छ जसले गर्दा ढुसी मरेर जान सक्छ ।
  4. सकेसम्म सम्बन्धित कृषि संस्थानहरुले सिफारिस गरेका रोग प्रतिरोधी जातहरु प्रयोग गर्नु पर्दछ ।
  5. बिउलाइ ढुसिनासक बिषादी जस्तै बेभिस्टिन संग उपचार गर्ने ।
  6. माटोमा रहेका अतिरिक्त परपोषी झारहरु लगाएत धानकै जिवावशेसहरुलाइ पुर्ण रुपमा नियन्त्रण गर्ने ।
  7. दलहन बालीसंग घुम्तिबाली प्रणाली अपनाउने ।
  8. धानको बाला निस्किनु अघि ३ ग्राम बेभिस्टिन प्रती ली. पानीको दरले मिसाएर स्प्रे गर्ने ।
  9. तोकिएको मात्राभन्दा नाइट्रोजनयुक्त मल प्रयोग नगर्ने ।

 

४.खैरो थोप्ले रोग (Brown spot of rice)

यो रोग Helminthosporium oryzea नामक ढुसिले गर्दा लाग्दछ ।  रोगको ढुसी लगभग चार बर्षसम्म बिउमै बस्न सक्छ र प्रायः संक्रमीत बीउ भएर सर्ने भएकाले यो रोगलाइ सिड बर्न रोग भनिन्छ| यो रोगले लगभग बोटको सबै भागहरुलाइ असर गर्ने गर्दछ |सुरुको अवस्थामा यो रोगले गर्दा पातहरुमा साना बृताकार खैरा देखि बैजनि रङ्गका थोप्लाहरु देखा पर्छन भने पछि ठूलो आकारका केन्द्र तिर खैरो र किनारा तिरा हल्का रतो रङ्गका थोप्लाहरु बन्छन् |यो रोग संक्रमीत बिउबाट सारा बोटमा सर्ने गर्दछ |संक्रमीत दानाहरुमा खैरा देखि काला थोप्ला देखिन्छन् | प्रजनन भागमा संक्रमण फैलिएपछी बालामा राम्रो संग बीउ लाग्न पाउदैन ।

व्यवस्थापन तथा नियन्त्रणका उपायहरु:

माटोमा प्रशस्त मात्रामा खाद्य पदार्थहरुको अभाव हुनु, माटो सुक्खा हुनु, किराहरुको प्रकोप धेरै हुनु, धेरै तापक्रम हुनु (१५-३६°से.), सापेक्षिक आद्रता धेरै हुनु (८६-१००%) इत्यादी अवस्थाहरु यो रोगको लागि अनुकुल मानिन्छन् ।

  1. यो रोगबाट बच्नको लागि खेतको सरसफाइ तथा व्यवस्थापनमा ध्यान दिनु जरुरी छ, जसका लागि झारपात तथा अवशेसहरु जलाउने |
  2. बिउलाइ ५०-५२°से. तापक्रममा १०-१२ मिनेट पानीमा भिजाएर तताउदा यो रोग नियन्त्रण भएको पाइएको छ |
  3. बीउलाई गाइको गहुत अर्थात मुत्रमा छर्नु भन्दा केही दिन भिजाउने |
  4. माटोमा उपयुक्त मात्रामा प्राङ्गारिक मल प्रयोग गरेर माटोमा खाद्य सन्तुलन कायम गर्ने |
  5. कृषि संस्थानद्दारा सिफारिस गरिएका रोग प्रतिरोधात्मक जातहरु प्रयोग गर्ने |
  6. बीउलाई सिसरेन अर्थात बेभिस्टिन नामक ढुसिनासक बिषादी ३ग्रा.प्रती किलो बिउँको लागि प्रयोग गर्ने |

 

५. डढुवा रोग ( Bacterial leaf blight)

यो रोग Xanthomonas oryzae नामक ब्याक्टेरियाको कारण लाग्दछ |यो रोगका लक्षणहरु धान रोपेको करिब चार हप्ता पछि देखा पर्छ्न |यो रोग लाग्दा पातहरु पुरै जलेर नस्ट हुन्छन जसले गर्दा उत्पादनमा निकै ह्रास आउने गर्दछ | यो रोगले सुरुमा पातको टुप्पोबाट संक्रमण सुरु गरेर लक्षणहरु देखाउछ |पात टुप्पो बाट पहेलिदै आउँछ र पातको दुबै किनारा हुँदै पुरै पात परालजस्तो पहेलो रङ्गमा बदलिएर अन्त्यमा सुकेर मर्ने गर्दछ |यो रोगको लागेको संकेतको रुपमा ब्याक्टेरियाले एक किसिमको पहेलो स्राब निकाल्छ र उक्त स्राब पातमै सुकेर खैरो धब्बाहरु बन्ने गर्छन | जसको परिक्षणको लागि रोगी पातलाइ सफा पानी भएको सिसाको गिलासमा डुबाउदा काटिएको भागबाट एककिसिमको स्राब निकाल्ने गर्दछ |कलिलो बोटको पातहरु ओइलाएर सुक्ने गर्छन भने परिपक्क भएको पातहरु परालझैँ सुकेर किनारा तिर मोडिने गर्छन| यो रोगले गर्दा उत्पादनमा निकै ह्रास आउने गर्दछ | यो रोगको जिवाणु अन्य एकदलिय घासहरु बाट पनि सजिलै धानमा सर्न सक्छ र खेतमा भएको पानीको सहायताले सजिले ब्याक्टेरिया एक बोटबाट अर्को बोटमा संक्रमण हुन्छ |

नाइट्रोजनको मात्रा धेरै हुनु, तापक्रम र सापेक्षिक आद्राता धेरै हुनु र धेरै वर्षा भइरहनु यो रोग संक्रमणको लागि अनुकुल अवस्था मानिन्छन् ।

व्यवस्थापन तथा नियन्त्रणका उपायहरु :

  1. यो रोग बाट बच्न खेतको आलिमा भएका एकदलिय झार एवम घाँसहरु पुर्ण रुपमा नियन्त्रण गर्नु पर्दछ |
  2. दलहन बाली संग बाली चक्र अपनाउनु पर्दछ |
  3. खेतामा भएका झार एवम अवशेसहरु पुर्ण नियन्त्रण गर्ने र माटोलाइ उपयुक्त समयमा खनजोत गरि पारिलो घाममा सेक्नुपर्छ |
  4. खेतमा उपयुक्त निकाशको व्यवस्था गर्ने |
  5. बिउलाइ ५७° से.तापक्रममा १० मिनेटजति पानीमा तताउने|
  6. रोग प्रतिरोधात्मक जातहरु जस्तै CH-45, IR-8, जानकी, पोख्रेली मसिनो आदि प्रयोग गर्ने |
  7. रसायनिक बिषादिहरु जस्तै Copperoxychloride 2.5%, Streptomycin  Agrimycin 100, Terramycin 17, Streptomycin इत्यादी प्रयोग गर्न सकिन्छ |