स्याङ्जा। स्वादिलो सुन्तला फल्ने जिल्लाका रुपमा परिचित स्याङ्जामा भदौदेखि नै वेमौसमी सुन्तला पाक्न थालेको छ भने अब बाह्रै महिना खान पाइने भएको छ । पुतलीबजार ११ मायाँटारीका बोधराज अर्यालको बगैँचामा भदौदेखि नै वेमौसमी सुन्तला पाक्न थालेको हो । सामान्यतया मंसिर पुसदेखि रैथाने जातका सुन्तला खान पाइन्थ्यो अब वेमौसमी सुन्तला फल्न थालेको छ, बाह्रै महिना खान पाइने बोधराजले बताए । अहिले उनको बगैँचामा झण्डै पचास बोट जापानी जातका वेमौसमी सुन्तला फलिरहेका छन् र अरु पचास बोट पनि फल्ने तयारीमा छन् । रैथाने जातका सुन्तला त छँदैछ, यसका साथै बोधराजको कफि तथा तरकारीको नर्सरी पनि उस्तै राम्रो छ ।

भनिन्छ सङ्गतले संस्कार सिकाउँछ र संस्कारी बनाउँछ । अशल व्यक्तिको सङ्गतले राम्रै बाटोतिर डो¥याउँछ ।

स्थानीय ओमबहादुर केसी, जसले शिक्षण सहित तरकारीखेति गर्नुहुन्थ्यो । उहाँको लगावबाट प्रभावित भएर उहाँसँगै गोलभेडाका १५ वटा बिरुवा ल्याएर बोधराजले कृषिपेशाको सुरु गरेका हुन् ।

बोधराज भन्छन्—पहिला देखि नै स्याङ्जा जिल्लाका सुन्तला लोकप्रीय भएको र छिमेकीहरुले सुन्तला फलाएर आम्दानी गरेको देखें, आफ्नो घरमा पनि सुन्तलाको एक दुईवटा बोट थियो, अरु धेरै लगाउन सकेंभने मैलेपनि आम्दानी गर्नसक्छु भन्ने ठानेर तरकारीसँगै सुन्तला लगाएतका फलफुल लगाउन मन जाग्यो ।

अहिले उनको बगैंचामा रैथाने जातका झण्डै २० थरीका आठ सय सुन्तलाका बोट छन् । २० रोपनीमा कफि तथा तरकारीको नर्सरी छ । ७० रोपनीमा कफि लगाएका बोधराजले ५ जनालाई नियमितरुपमा रोजगारी दिएका छन् ।

कुनैपनि काममा सबैभन्दा पहिला इमान्दारिता र लगनशिलता चाहिन्छ, एकैचोटी सफल भइदैन, निरन्तरताको आवस्यकता हुन्छ । मैले गोजीमा सुको नहुँदा पनि हरेस नखाएर काम गरेको हुँ, त्यसैले आज यो ठाउँमा छु उनले भने ।

पहिला कृषिलाई सबैले छोडेको पेशा भनिन्थ्यो र मैले यसैलाई अङ्गालें । काम गर्दैजाँदा जिल्ला कृषि कार्यालयमा आएका जापानीज स्वयम्सेवकको नजरमा परें । फलस्वरुप कृषि सम्बन्धी तालिमका लागि जापान जाने अवसर मिल्यो । आफुसँगै जापान गएका कतिपय साथीहरु भागेर उतै काममा लागे । उनिहरु अहिले ठुला ठुला घरहरु बनाएर बसेको देखेको छु तर,आफुलाई त्यस्तो गर्न मन लागेन । त्यहाँको सीप सिकेर यहाँ आएर आफु पनि गरिरहेको छु र जिल्लावासीहरुलाई सिकाउने गरेको छु, यसमा आनन्द र सफल भएको प्रत्याभुत भएको छ ।

आम्दानीको हकमा उनि भन्छन्—जापान र कोरियामा गएर हुने भन्दा केहि बढी नै कमाइ हुन्छ, यसमा सन्तुष्ट छु ।

एक पटक गर्दैमा हुँदैन, जस्तो कि एक पटक काउली रोप्दा नहुन पनि सक्छ, त्यसलाई फेरि गर्दै जाँदा सफल भइन्छ, निरन्तर काम गर्दै जाँदा सम्बन्धित निकायले पनि हेर्न करलाग्छ ।

पहिला जस्तो छैन, राज्यले पनि कृषिक्षेत्रमा अब केहि गर्नुपर्छ भनेर लागेको छ युवाहरुलाई यहीँ रोक्नुपर्छ भनेर तीनै तहका सरकारले चासो देखाएका छन् । त्यसैले अरुलाई पनि कृषिमा लाग्न उनको आग्रह छ ।

स्याङ्जा जिल्लाबाट उत्कृष्ट कृृषककारुपमा सम्मानित भएका बोधराजले प्रदेश सरकारबाट प्राप्तहुने उत्कृष्ट कृषकको पुरस्कार पाएका छन् । एकपछि अर्को सफलता प्राप्त गर्दै आएका बोधराज गतवर्ष राष्ट्रपतिबाट उत्कृष्ट समाजसेवा रत्नले विभुषित भएका छन् ।

नेपालको उत्पादन चीनको बजारमा विक्रि गर्ने तयारी भैरहेको अवस्था छ, सरकारले यसलाई समयमै कार्यान्वयनमा ल्याउनसके किसानहरुका साथै त्यहाँको पैसा भित्र्याउन सकिने बोधराजको भनाइ छ । उनि भन्छन्—यसो गर्नसके राज्यले रेमिटान्सबाट गर्ने आम्दानी यहीँ गर्नसकिन्छ । यसका साथै युवाहरु खाडी मुल्ुकमा पसिना बगाउन जानु पर्दैनथ्यो, आफ्नै पाखा पखेरामा काम गरेर त्यो पैसा यहिँ कमाउने थिए ।