विश्वव्यापी खाद्य सुरक्षा, वातावरणीय सुधार एवं देशको विकासमा औपचारिक कृषि शिक्षा तथा कृषि ज्ञान प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । देशको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण गर्दै ग्रामीण जनसमुदायको सामाजिक तथा आर्थिक स्तर उठाउन कृषि, वन, पशु विज्ञान जस्ता क्षेत्रसँग सम्बन्धित विषयको एकीकृत रूपले अध्ययन, अध्यापन र अनुसन्धान गराई मुलुकभित्रै उच्चस्तरको प्राज्ञिक तथा सीपयुक्त दक्ष जनशक्ति देशभित्रै उत्पादन गर्न जरुरी छ । त्यसलाई मध्यनजर गर्दै नेपाल सरकारको लगानीमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रामपुरस्थित केन्द्रीय क्याम्पस र हेटौडामा रहेको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरा अवस्थित वन विज्ञान क्याम्पस मिलेर कृषि तथा वन विश्वविद्यालय (एग्रिकल्चर एण्ड फरेष्ट्री युनिभर्सिटी(ए.एफ.यु.) बनेको हो ।

नेपालको एकमात्र वर्तमान कृषि तथा वन विश्वविद्यालयमा पछिल्लो समयमा बेथिति चरम अवस्थामा छ । कहिले विद्यार्थीहरुले, कहिले प्राध्यापकहरुले त कहिले कर्मचारीहरुले आ(आफ्ना मागहरु राखेर हडताल, तालाबन्दी र तोडफोड गर्दै आएका छन् । कृषि तथा वन विश्वविद्यालयको कृषि शिक्षा प्रणालीलाई मौलिक सुधारको आवश्यकता छ । कृषि तथा वनविश्वविद्यालय ठीकसँग सञ्चालन नहुँदा त्यसको प्रत्यक्ष असर नेपालको कृषि क्षेत्रमा परेको छ । कृषि तथा वन विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीहरुको रुची कम हुन थालेको छ । त्यसो हुनुमा त्यहाँ भएको चरम बेथितिकै कारणले हो । समयमा नीति नियम र प्रकृया नबसाईकन प्राध्यापक नियुक्त गर्ने, आवश्यक प्राध्यापकहरु भर्ना नगर्ने, उच्च अधिकारीहरुको पछाडि अख्तियार लाग्ने, सम्बन्धन नवीकरणमा आलटाल गर्ने, नातागोतालाई भर्ना गर्ने जस्ता विकृतिहरु समेत देखिएको छ ।

मुलुकको शैक्षिक प्रणाली राष्ट्रवादसंग जोडिएको हुन्छ । जब राष्ट्रवादसंग सम्बन्धित ज्ञानको कमि, भूमण्डलीकरण, विद्यार्थी र कर्मचारीहरु बीचमा असन्तुलन, संकुचित संगठनात्मक शिक्षामा प्रयोग गरिएको अनुशासनात्मक दृष्टिकोण र प्रणालीमा असर गर्दछ तब कृषिमा उच्च शिक्षामा उल्लेखनीय प्रगति हुँदैन।अहिले कृषि तथा वन विश्वविद्यालयको शैक्षिक गतिविधि समुदायसंग जोडिएको छैन । कृषिको ज्ञान समुदायसंग जोडिएको हुनुपर्छ । समुदाय र समयको माग अनुरुप कृषि शिक्षा प्रणालीमा समेत परिमार्जन हुनु जरुरी छ । कृषि शिक्षामा परिवर्तनको सान्दर्भिकता किसानहरूको आवश्यकता, ब्यवसायिकरण र वातावरणको अनुकुलनसंग सम्बन्धित हुन्छ ।

विश्व विद्यालयले राष्ट्रिय र क्षेत्रीय एवं अन्तरराष्ट्रिय सहयोग आदान प्रदान गर्न पर्याप्त भूमिका खेलिरहेको छैन । वर्तमान परिदृश्यमा विश्व विद्यालय एक्लै हिंडिरहेको छ । उच्च शिक्षामा संलग्न विश्वका अरु उच्च शिक्षा प्रदान गर्ने संघ संस्थाहरुसंग एक अर्काको बीचमा सहयोग आदानप्रदान गर्नुपर्छ । देशमा कृषि तथा वनसंग सम्बन्धित विद्यालयहरु, कलेजहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले कुनै न कुनै गतिविधिहरु गरिरहेका छन् । कृषिसंग सम्बन्धित उच्च शिक्षामा संलग्न तिनीहरूले हासिल गरेका जानकारीहरु, अनुभवहरु साझा र सामूहिक रुपमा छलफल गर्ने र राष्ट्रिय नीति मामिलामा सरकारलाई सल्लाह र सुझाव दिने कुरामा विश्व विद्यालयले पछाडि परेको छ । यसका लागि एउटा राष्ट्रिय सञ्जाल बनाउनु जरुरी छ ।

विश्वमा कृषि र वन सम्बन्धित विकास सम्मेलनहरु भैरहेका हुन्छन् । संसारभरका धेरै राष्ट्रहरु एवं संघसंगठनहरुलाई सदस्यहरुका लागि अनुरोध गर्ने र विश्वभरबाट कृषि तथा वन विश्वविद्यालयलाई चिनाउने काम गर्नुपर्छ । यसो गर्दा विश्वभरवाट विद्यार्थीहरु पठनपाठन गर्न र अनुसन्धान गर्न नेपाल आउँछन् ।

कृषि शिक्षण पेशा मर्यादित बनाउन सकिएको छैन जसले गर्दा त्यस पेशाबाट पलायन भैरहेका छन् । कृषि शिक्षण पेशालाई मर्यादित र समृद्ध बनाउनुपर्छ जसले गर्दा त्यस पेशाबाट पलायन हुँदैनन् । त्यसका लागि योग्य शिक्षकहरूको पर्याप्त आपूर्ति आवश्यक छ। शिक्षण पेशामा लागेका शिक्षकहरु आफ्नो विषयमा अनुसन्धानमा संग्लग्न हुने वातावरणको सृजना गर्नुपर्छ। एक तरीकाले योग्य शिक्षकको सुधार गर्ने अवसर पनि हो यो । हाल कृषि तथा वन विश्वविद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रशासकीय समर्थन, अनुशासन, समय व्यवस्थापन, कार्य सुविधा, उपकरण, समुदायको समर्थन, आत्मविश्वास, पाठ्यक्रम निर्देशन, बजेट/कोष, प्रतिष्ठा, संकाय सम्बन्ध, विद्यार्थी प्रेरणा, सल्लाहकार सेवा, काम र परिवारबीच सन्तुलन, विश्वविद्यालय सम्बन्ध, वित्तीय पुरस्कार आदि कुराहरुमा ध्यान दिनु जरुरी छ ।
विश्व विद्यालयमा पदाधिकारी नियुक्तिको मापदण्ड तयार त पारिएको छ तर मापदण्ड शासक वर्गको अनुकुल हुनेगरि भागबण्डाको आधारमा नियुक्ति दिने प्रचलन छ । कृषि तथा वन विश्वविद्यालयमा अर्को सुधार गर्नुपर्ने पक्ष भनेको विश्वविद्यालयले पदपूर्तिको प्रचलित प्रक्रिया र मान्यतालाई फरक ढङ्गले सोंच्नु जरुरी छ । पढाई हुने विषयवस्तुमा त्यस विषयका विज्ञहरु विश्व विद्यालयभन्दा बाहिर पनि छन् । त्यस्ता विज्ञहरुलाई भिजिटिङ प्रोफेसरका रुपमा आमन्त्रण गर्नु जरुरी छ । त्यसका लागि विज्ञहरुको रोष्टर बनाउने र आवश्यकता अनुसार सेवा लिनुपर्छ ।

विश्व विद्यालयमा भर्खरैमात्र नयाँ उप-कुलपतिको नियुक्ति भएको छ । उप-कुलपतिको रुपमा प्रोफेसर डा. पुण्यप्रसाद रेग्मी नियुक्त भएका छन् । विश्व विद्यालयको प्राथमिकता, मेडियम अफ कन्स्ट्रक्सन, मेडियम अफ डेलिभरी सिस्टम, कृषि उच्च शिक्षामा रिफ्रेमिङ्ग र रिस्टक्चरिङ्गको लागि सुवर्ण अवसर प्राप्त भएको छ, जसको वैज्ञानिक व्यवस्थापन मार्फत शैक्षिक जगतको प्याराडाइम सिफ्ट हुने देखिन्छ ।

(लेखक पदम भण्डारी कृषि तथा वन विश्वविद्यालयमा आंशिक रुपमा एडजङ्ट प्रोफेसर पदमा कार्यरत छन् ।)