
स्याङ्जा। स्याङ्जाका युवाहरुले बन्दाबन्दीको उपयोग गर्दै तरकारीखेतिमा जुटेका छन् । हामी रोजगारीका लागि सधैं अरुको मुख ताक्ने र दोष दिनुभन्दा आफैंबाट पनि खोज गर्नसक्नुपर्छ भनेर यी युवाहरु सामुहिकरुपमा जुटेका हुन् । अलि अलि गर्नसक्ने भएपछि रोजगारीको गन्तव्य विदेश बनाएका कारण पछि परेको निष्कर्ष सहित सामुहिकरुपमा कृषि कर्ममा लागेको उनिहरुले बताएका छन् । वैदेशिक रोजगारीको भविष्य छैन, अब आफ्नै ठाउँमा केहि गर्नुपर्छ भनेर जुटेका ६ जना युवाहरु यतिबेला स्याङ्जाको वालिङ १३ बायँखोलामा सामुहिक गोलभेडा खेतिमा व्यस्त छन् ।
विजु गुरुङ, दिपेन थापा, सन्तोष क्षेत्री, निरु गुरुङ, विरु थापा र धनबहादुर गुरुङ गरी यी ६ जना युवाहरुले कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी सुरु भए लगतै गोलभेडाखेति सुरु गरेका ह्ुन् । विदेशमा पसिना बगाएर फर्केका यी युवाहरुले बन्दा बन्दीको समयलाई अवसरका रुपमा लिएको बताएका छन् । आठ रोपनी जग्गा वार्षिक ६५ हजार भाडामा लिई थालनी गरेका युवाहरुले आठवटा टनेलमा गोलभेँडा लगाएका छन् । कृषि सम्बन्धी तालिम नलिए पनि नगरपालिकाका कृषि शाखा प्रमुखसँगको राय सल्लाह अनुसार टनेल निर्माण गरेको विजुले बताए ।
अहिले आठ रोपनीबाट सुरु गरिएको छ, अब अरु बीस रोपनी जग्गा थपेर मौसमी तथा वेमौसमी तरकारी लगाउने उनिहरुको योजना छ । हाल फल दिन थालेका र मासिकरुपमा उत्पादन लिन सकिने गरी लगाइएको गोलभेँडा लोभै लाग्दो छ ।पहिला गाउँमा बस्दा सामान्यरुपमा तरकारी लगाउने गरेको र त्यही अनुभवलाई प्रयोग गर्दै व्यवसायको थालनी गरेको समूहमा क्रियाशिल विजु गुरुङले बताए । विजु गुरुङ ६ वर्ष मलेशियामा पसिना बगाएर फर्केका हुन् । विदेशबाट फर्केर अन्य पेशा गर्दै आएका साथीहरुले पनि अब कृषिमा लाग्नुपर्छ भने र सुरु गरेको विजुले सुनाए ।
गोलभेँडाका बिरुवा आफैं उत्पादन गरेका यी युवाहरुले कुनै तालिम लिएका छैनन । तर तालिमप्राप्त र अनुभवी किसानहरुको भन्दा कुनै कमि देखिदैन । हरेक तरकारीमा प्रयोग गरिनेहुँदा सँधै बिक्रि भैरहने र सजिलो लागेर पनि गोलभेँडा लगाएको विजुले बताए । स्वदेशमा आफ्नो परिवार र साथीभाइसँग मिलेर काम गर्दाको आनन्द नै छुट्टै हुन्छ । विदेशमा १२ घन्टा खटिनुपर्छ तर यहाँ चार पाँच घन्टा मात्रै काम गर्दा पनि राम्रो आम्दानी लिन सकिने उनिहरुको विश्वास छ ।
पानी बढीहुने ठाउँ छ, धान रोपे राम्रो हुनेथियो भन्ने छिमेकीहरु पनि अहिले यति राम्रो गोलभेँडा फलेको देख्दा खुशी देखिन्छन् र उनिहरु पनि आकर्षित भएका छन् । विदेश जानु भन्दा आफ्नै ठाउँमा काम गर्नु राम्रो हो र यसैमा भविष्य छ । विदेशमा जत्तिको परिश्रम यहाँ गर्ने हो भने डबल भन्दा पनि धेरै कमाउन सकिने विजुको विश्वास छ । हामीले यसैगरी व्यवसाय गर्ने हो भने पैसा कमाउन विदेश जानुपर्दैन, अरु युवाहरुलाई पनि आफ्नै गाउँठाउँमा मेहनत गर्न गुरुङको आग्रह छ । साथीहरुसँग मिलेर काम गर्दा रमाइलो र खुशी लागेको समूहमा सहभागी सन्तोष क्षत्रीले बताए ।