सिन्धुपाल्चोक। सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् ।

बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो २ साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताए ।

पीपीआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उनले गुनासो गरे ।

गाउँपालिकाले सबै वडामा गरी ९ गाउँ प्रहरी राखे पनि किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन ।

गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन् । पछिल्लो २ सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको छ ।

स्थानीयवासीले पशु चिकित्सक पठाइदिन पटक पटक आग्रह गरेपछि गाउँपालिकाले बनेपाबाट २ चिकित्सक झिकाएर रोग परीक्षणका लागि पात्ले र कापिङ क्षेत्रमा पठाएको उनले बताए ।

परीक्षण गर्दा रोग पहिचान नभएको र पीपीआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताए ।

रासस /फाइल फोटो