दाङ। दाङको गढवा गाउँपालिका­ ७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै विक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गरेका छन् ।

गत वैैशाख महीनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि विक्री नभएको उनले बताए । मकै विक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई विक्री नहुँदा समस्या भएको छ ।

गत वर्ष घरबाटै मकै विक्री गरेका चौधरीले यस वर्ष मकै किन्नका लागि कोही नआएको बताए । गत वर्षको विक्री मूल्यभन्दा आधा कम मूल्य कायम राख्दा पनि मकै विक्री नभएको उनको भनाइ छ ।

कृषकले उत्पादन गरेका कृषि उत्पादन सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरिदिए कृषकलाई सहज हुने चौधरी बताउँछन् ।

सोही ठाउँका रामबहादुर चौधरीले उत्पादन गरेको मकै पनि विक्री हुन सकेको छैन । उनले वैशाखमा तयार गरेको बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल विक्री भएको छैन ।

गएको फागुनसम्म तयार भएको मकै रू. ३५ केजीमा विक्री भएपनि पछि उत्पादन भएको मकै विक्री भएको छैन । मकैको भाउ अहिले बजारमा प्रतिकेजी रू. १८ मात्रै छ । ‘बजार भाउमा नै विक्री गरौँभन्दा पनि व्यापारीले लिन मान्दैनन्’, चौधरीले भने ।

लमही नगरपालिका­८ सतबरियाका देउमन चौधरीले गत वर्षभन्दा आधा मूल्यमा मकै विक्री गरेको बताए । गत वर्ष रू. ३५ प्रतिकेजीको दरले मकै विक्री गरेका चौधरीले यस वर्ष रू. १८ प्रति केजीका दरले विक्री गरेको बताए ।

बन्दाबन्दीले गर्दा दाना उत्पादन कम भएको कारण मकैको मूल्य घटेको व्यापारीहरु बताउँछन् । उत्पादित मकै जिल्ला बाहिर नगएको र पशुको आहारा घटेको कारण किसानले मूल्य नपाएको पशुविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले बताए ।
रासस